राजनीतिक हस्तक्षेपले खस्कियो शैक्षिक क्षेत्र [हवाई विश्वविद्यालयका प्रा.डा. समीरकुमार खनालसँगको भिडियो कुराकानी]

हिमाल प्रेस १० कार्तिक २०८२ १६:२१
64
SHARES
राजनीतिक हस्तक्षेपले खस्कियो शैक्षिक क्षेत्र [हवाई विश्वविद्यालयका प्रा.डा. समीरकुमार खनालसँगको भिडियो कुराकानी]

मेरो जन्म करिब ५५ वर्षअघि कपिलवस्तुको बुद्धभूमि नगरपालिका-९ डुमरामा भएको हो। मैले विद्यालय शिक्षा जानकी माध्यमिक विद्यालयबाट पूरा गरेँ। त्यसपछि बुटवल बहुमुखी क्याम्पसबाट आईएस्सी (त्यतिबेलाको विज्ञान शाखा) सकेर भारतको जयपुरस्थित मालभिया नेसनल इन्स्टिच्युट अफ टेक्नोलोजीमा पूर्ण छात्रवृत्तिमा सिभिल इन्जिनियरिङ अध्ययन गरेँ। अनि थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) बाट इन्भाइरोमेन्ट इन्जिनियरिङमा स्नातकोत्तर अध्ययन गर्दा मेरो शैक्षिक दृष्टि अझ फराकिलो बन्यो।

म अहिले हवाई विश्वविद्यालयमा जैविक स्रोत व्यवस्थापन, फोहोरबाट ऊर्जा उत्पादन र दिगो प्रविधि विकाससम्बन्धी अनुसन्धानमा संलग्न छु। त्यहीँबाट प्रकाशित विश्वप्रसिद्ध जर्नल ‘बायोरिसोर्स टेक्नोलोजी’ को प्रधान सम्पादकका रूपमा पनि म कार्यरत छु।

मेरो बुझाइमा नेपालको शैक्षिक र अनुसन्धान क्षेत्र पछाडि पर्नुको मुख्य दुई कारण छ्न् : ती हुन् राजनीतिक हस्तक्षेप र स्रोतसाधनको अभाव। नेपालका विश्वविद्यालयहरूलाई विश्वस्तरमा पुर्‍याउनका लागि अनुसन्धानमैत्री वातावरण, राजनीतिक स्वच्छता र मेरिटोक्रेसीको संस्कृति अपरिहार्य छन्। गुणस्तरीय शिक्षा दिन सकिए मात्र देश विकास हुन्छ र आगामी पुस्ताको जीवन सफल बन्छ।

विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप हुनु हुँदैन। पदाधिकारी र प्राध्यापक दक्षता र क्षमताका आधारमा नियुक्ति गर्नुपर्छ। विश्वका प्रख्यात विश्वविद्यालयमा नियुक्ति उच्च लोकतान्त्रिक विधिबाट हुन्छ। पदाधिकारी छनोटको आधार शैक्षिक योग्यता, प्रकाशित ‘रिसर्च पेपर’ र अनुसन्धानको गुणस्तर बनाइन्छ। छनोट समितिले हेर्ने कुरा पनि यिनै हुन्- कुन तहको जर्नलमा पेपर प्रकाशित गरेको छ? अनुसन्धानको प्राप्ति के हो र सीप (स्किल) कस्तो छ? मेरो विश्वास छ, ‘मेरिटोक्रेसी’ विश्वविद्यालयको फाउन्डेसन हो। कुनै पनि छनोट प्रक्रियामा राजनीति प्रवेश हुनु हुँदैन। राजनीतिक हस्तक्षेप शून्य भएका र मेरिट (योग्यता) लाई ध्यान दिएका विदेशका विश्वविद्यालयहरूले शिक्षा तथा अनुसन्धानमा विश्वस्तरीय फड्को मारेका छन्।


विश्वविद्यालय शिक्षाको बलियो आधार सधैँ गुणस्तरीय शिक्षण र अनुसन्धान हो। अनुसन्धानका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा पूर्वाधार हो। स्रोतसाधनमा सरकारले ध्यान दिनैपर्छ। दक्ष अनुसन्धानकर्ता आवश्यक छन् र तिनीहरूलाई कसरी सेवासुविधा दिने भन्नेमा स्पष्ट नीतिगत सोच हुन आवश्यक छ। नेपालमा फरक खालको अनुसन्धान गर्न सक्ने वातावरण बनेको छैन।

गुणस्तरीय शिक्षण र अनुसन्धानका लागि शिक्षक, प्राध्यापक र अनुसन्धानकर्ता स्वयं समयअनुसारको ज्ञान र सीपमा अद्यावधिक भइरहनुपर्छ। म आफैँ पढाउने विषयका लागि हरेक दिन ३-४ घण्टा तयारी गर्छु। अहिले एआई र च्याटजीपीटीको युग आएको छ। त्यसैले हामी शिक्षकले आफूलाई निरन्तर अद्यावधिक राख्नैपर्छ।

शिक्षक-प्राध्यापकलाई उचित तलब र सेवासुविधा दिन सकिए मात्र उनीहरू प्रभावकारी रूपमा काम गर्न सक्छन्। राम्रो पढाउनका लागि तलबसँगै इन्टरनेट र तालिमको सुविधा पनि आवश्यक छ। त्यस्तो सुविधा पाउँदा शिक्षकहरूले विद्यार्थीमा आलोचनात्मक सोचको विकास गर्न सहयोग गर्न सक्छन्।

मेरो बुझाइमा नेपालमा जडिबुटी र प्राकृतिक स्रोतमा आधारित अनुसन्धानको ठूलो सम्भावना छ। हाम्रो हिमाली क्षेत्रमा पाइने जडिबुटी र जैविक स्रोतप्रति संसारकै चासो छ। दुर्गम गाउँमा र पहाडी क्षेत्रमा कुन प्रविधि प्रयोग गर्न सकिन्छ भन्ने विषयमा सरकारले ठाउँठाउँमा अनुसन्धान केन्द्रहरू स्थापना गर्नुपर्छ।

म स्पष्ट छु- अनुसन्धान राजनीतिक प्रभावमा पर्‍यो भने गुणस्तर खस्किन्छ। त्यसैले अनुसन्धान क्षेत्र शुद्ध रूपमा शैक्षिक र प्राज्ञिक हुनुपर्छ। विश्वको तुलनामा नेपाल अनुसन्धानमा धेरै पछाडि छ भन्ने कुरा स्वीकार गर्नैपर्छ। हाम्रो राज्यले अनुसन्धानमा लगानी र ध्यान दिन अत्यावश्यक छ। स्रोतसाधन, दक्ष जनशक्ति र उच्च गुणस्तरको सामग्री अभावमा अनुसन्धान अघि बढ्न सकेको छैन। त्यसैले राज्यले यसतर्फ गम्भीर ध्यान दिनुपर्छ।

भिडियो

यो पनि

हवाईमा चम्किएका बुद्धभूमिका समीर


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast