हवाईमा चम्किएका बुद्धभूमिका समीर

चन्द्रशेखर अधिकारी २७ माघ २०८० १९:०३
2.8k
SHARES
हवाईमा चम्किएका बुद्धभूमिका समीर

विदेशी भूमिमा अध्ययनअनुसन्धानमा संलग्न थोरै नेपालीमध्येमा पर्छन् प्राध्यापक डाक्टर समीरकुमार खनाल। नेपालको कपिलवस्तुमा जन्मिएर पीसीएल (अहिलेको १२ कक्षा)सम्मको शिक्षा स्वदेशमै लिएका खनालको प्राज्ञिक उचाइ उदाहरणीय छ। साथै उनको नेतृत्वमा प्रकाशित भइरहेको एउटा जर्नलले कमाएको ख्याति त्यत्तिकै लोभलाग्दो छ। अमेरिकाको हवाई टापुस्थित हवाई युनिर्भसिटीका मोलिक्युलर बायो साइन्स र बायो इन्जियिरिङका प्राध्यापक खनाल हवाईबाट प्रकाशित हुने ११.४ इम्प्याक्ट रहेको विश्व प्रसिद्ध जर्नल ‘बायोरिसोर्स टेक्नोलोजी’ का प्रधानसम्पादक हुन्।

साइन्स डाइरेक्टअन्तर्गतको बायोरिसोर्स टेक्नोलोजीमा उनी मातहत विश्वका ख्यातिप्राप्त विश्वविद्यालयका ५८ जना एडिटोरियल बोर्ड छ। त्यसमा अमेरिकी, चिनियाँ, भारतीय, जापानिज, मलेसियन, कोरियन, युरोपियन, रसियन, अस्ट्रेलियनलगायतका स्कलर छन्। उनीहरूलाई नेतृत्व गर्ने नेपाली अनि त्यो पनि बुद्धभूमिबाट। शान्त स्वभावका उनलाई साढे दुई हजार वर्षअघिको बुद्धको प्रभाव भनेर सहकर्मीहरूले जिस्काउने पनि गर्छन्।

बुद्धभूमिमा हुर्केका खनाल अमेरिकीहरूको पनि घुम्ने सपना रहने हवाई टापुमा मात्रै सीमित छैनन्, फ्याकल्टी मेम्बर र भिजिटिर स्कलरका रूपमा भारत, कोरिया, चीन, जापानलगायतका मुलुकका प्रतिष्ठित विश्वविद्यालयमा प्राज्ञिक ज्ञान फैलाउन सलंग्न छन्।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका-९ डुमरामा ५५ वर्षअघि जन्मिएका खनालले विद्यालय शिक्षा कपिलवस्तुको जानकी माध्यमिक विद्यालयबाट पूरा गरे।  बुटवल बहुमुखी क्याम्पसबाट आईएसी गरे। भारतको जयपुरस्थित मालभिया नेसनल इन्स्टिच्युट अफ टेक्नोलोजीबाट पूर्ण छात्रवृत्तिमा सिभिल इन्जिनियरिङ गरेपछि उनलाई स्वदेशमै जागिर खान दबाब नआएको होइन। अध्ययनको दायरालाई फराकिलो बनाउने लक्ष्य लिएका उनले थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) बाट इन्भाइरोमेन्ट इन्जिनियरिङमा मास्टर्स गर्ने अवसर पाए।

हङकङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीबाट पीएचडी सकेपछि चीनमा उनको माग हुन थाल्यो। खनालले आइओवा स्टेट युनिभर्सिटीमा ‘पोस्ट डक’ अध्ययनसहित  काम गर्ने अवसर पाए। त्यहाँ चार वर्ष अध्ययन गरे। चीनको ‘मेन ल्यान्ड’ मा केही समय बिताएर ‘पोस्ट डक’ सके। अनि उनलाई हवाईको होनुलोलुले तान्यो।

उनी २००८ देखि निरन्तर हवाईमै रहँदै आएका छन्। कर्मथलो हवाई भए पनि उनी कोरिया, जापान अमेरिका र युरोपका मुलुकमा भेटिने प्राध्यापक हुन्। ११.४ इम्प्याक्ट रहेको विश्व प्रसिद्ध जर्नलका प्रधानसम्पादक बन्ने अवसर विरलै नेपालीले पाउने उनका समकक्षी  बताउँछन्। अमेरिकामा रहेका नेपाली राजदूत श्रीधर खत्रीले अमेरिका यस्ता विज्ञ रहेको र नेपालले उनीहरुलाई उपयोग गर्न सक्नुपर्नै बताउँदै आएका छन्। परराष्ट्र मन्त्रालयले पनि ‘ब्रेन गेन सेन्टर (बीसीजी)’ भनेर प्रकिया अघि बढाए पनि त्यसै बेकामे रहेको छ।

अनुभवी विद्वान् समीर नेपालको उच्च शिक्षाप्रति त्यति सन्तुष्ट छैनन्। नेपालका विश्वविद्यालयहरू राजनीतिले थला पारेको उनको बुझाइ छ। ‘हामीले अध्ययनलाई भन्दा राजनीतिलाई जोड दिएकाले विश्वविद्यालयमा अध्ययन खासै हुन पाउँदैन। आफैँले अध्ययन गर्छु भन्नेबाहेकका व्यक्तिको प्रतिभा खेर गएको छ’, खनालले भने, ‘उच्च दक्षतायुक्त काम गर्न सक्ने क्षमता  भएका नेपाली स्वत: धनी हुन्छन्। तर अभिभावकको करकाप अनि सामाजिक प्रतिष्ठालगायतका विषयले उनीहरू जुनसुकै काममा लाग्न बाध्य छन्। कारण हो छिटो धनी हुनु।’ अध्ययनले खारिएका मानिसले योग्यताअनुसारको काम पाउने हो भने मुलुकको अवस्था अहिलेको जस्तो नहुने उनले बताए। हामीले हतार नै नगरी ‘ब्लुकलर जव’ भन्दा पनि ‘ह्वाइटकलर जव’मा जोड गर्न आवश्यक छ।

यस्तो हुनुमा दोष कसको त? जबाफमा उनी भन्छन्, ‘हाम्रो अशिक्षा र पछिल्लो समय हाम्रो नेतृत्वमा रहेकाहरूको सोच नै दोषी हुन्। हाम्रा अधिक विद्वान्‌हरू थोरै रकममा पनि लोभ गर्छन्। उनीहरू अध्ययनमा केन्द्रित हुन चाहँदैनन्। आफ्ना विद्यार्थीलाई आफूभन्दा अब्बल बनाउनेतर्फ लागेको खासै देख्दिनँ।’ नेपालमा धेरै विश्वविद्यालय खुले  पनि तिनको औचित्य पुष्टि हुने गतिविधि भने नभएको उनले बताए। ‘कसैलाई नियुक्ति दिन, कसैको पदावधि बढाउन र काम दिनका लागि मात्र विश्वविद्यालय खोल्नु होइन। विश्वविद्यालयमा  शैक्षिक विषयमा बहस हुनुपर्छ। नागरिकलाई पढाइको महत्त्व बुझाउनुपर्छ।’

पढ्न सक्ने नेपालीहरू सामान्य काममा अलमलिएको देख्दा दुःख लाग्ने गरेको उनले बताए। ‘दैनिकी गुजारा गर्न एउटा पसल भए हुन्छ तर त्यो पसल त्यतिबेलासम्म हो जबसम्म घरमा राम्रो दिमाग भएका अध्ययन गर्न सक्ने बच्चा हुन्नन्,’ उनले भने, ‘उसलाई पढाउँदासम्म हो भन्नेमा मात्रै ध्यान छ। हाम्रा पितापुर्खाले गरेको काम झन् महत्त्वपूर्ण थियो। तर त्यही कामलाई आधुनिकीकरण गर्ने भन्ने हो।’

जयपुरमा आफूभन्दा अग्रज ऊर्जा सचिव रहेका दिनेश घिमिरे हुन् या योजना आयोगका उपाध्यक्ष भइसकेका कांग्रेस नेता प्रा.डा. गोविन्द पोखरेललाई सम्झन्छन्। एआईटीमा अध्ययन गर्दाको सहपाठी ईश्वरी पौडेल र अग्रज तुलसी सीटौला लगायत दर्जन बढी कर्मचारीलाई स्मरण गर्दै खनालले भने, ‘अन्यलाई धेरै जानकारी नभए पनि उहाँहरूलाई स्पष्ट थाहा थियो। खै किन केही पनि प्रक्रिया अघि बढाउनु भएको छैन? ’

खनाल फोहोर व्यवस्थापन, खानाको अवस्था, पर्यावरण लगायतका क्षेत्रमा कार्यरत छन्। उनले नेपालमा जलवायु परिवर्तनको असर, सहरीकरणका कारण वनजंगल वृद्धि र जग्गा बाँझै रहेको देख्दा दिक्क लाग्ने बताए। ‘सहरीकरण भएपछि गाउँमा व्यावसायिक खेती हुन सक्छन्। त्यसका लागि नेतृत्व गम्भीर हुनुपर्‍यो’, उनले भने।

‘बायोरिसोर्स टेक्नोलोजी’ जर्नलमा वातावरण, ऊर्जा, प्रदूषण नियन्त्रणका विषयमा लामो अनुसन्धान गरी लेखिएका अनुसन्धानमूलक सामग्री प्रकाशित हुन्छन्। खनाल भन्छन्, ‘यसको प्रभाव धेरै राम्रो छ। त्यसैले नेपालबाट यहाँसम्म आउन पाउँदा खुसी लागेको छ।’

जर्नलमा प्रकाशित गर्न एक वर्षमा १० हजारभन्दा बढी अध्ययनअनुसन्धानपत्र संकलन हुने गरेको उनले जानकारी दिए। खनालले भने, ‘हामी २० देखि २१ प्रतिशतमात्र प्रकाशित गर्छौँ। पियर रिभ्युका क्रममा धेरै विज्ञले दिमाग लगाउँछन्। हाम्रो जर्नलको इम्प्याक्ट फ्याक्टर त्यत्तिकै ११.४ रहेको होइन।’

खनाल इमानदारीपूर्वक काम गरेमा राम्रो मूल्यांकन हुनेमा दृढ छन्। उनी आफू मातहत ६० भन्दा बढी विज्ञले काम गरिरहेको बताउँछन्। ‘म त नेतृत्वमा मात्र हो। यसमा ६० भन्दा बढीले काम गर्नुभएको हुन्छ। यो स्वयंसेवी भावको काम पनि हो।’

‘बायोरिसोर्स’ प्रविधिमा विश्वभर चिनिने हुनाले जर्नलमा सामग्री प्रकाशित गर्न निकै प्रतिस्पर्धा हुने गरेको छ। उनले भने, ‘चुनौतीपूर्ण काम भएकाले बस्ने आँट गरेको थिइनँ तर सबैको जोडबल र आग्रहपछि संलग्न भएको हुँ।’ अनुसन्धानकर्ताको नवीन आविष्कार हो कि होइन, कसैको बौद्धिक चोरी पो भएको छ कि जस्ता विषय पत्ता लगाउन भने सजिलो नभएको खनालको अनुभव छ। त्यसमा निकै ध्यान दिनुपर्ने उनले बताए। ‘कसैले गलत जानकारी दिएका हुन सक्छन्। एक एउटा अनुसन्धानपत्र प्रकाशित भएपछि हजारौँ डलर पाइन्छ। ‘पियर रिभ्यु’ गर्ने र सम्पादन गर्ने मिलेर पनि गुमराहमा राख्न सक्छन्। त्यसैले चुनौती धेरै छ,’ उनी भन्छन् ।

विश्वविद्यालयमा अध्यापन गराउन थालेको १० वर्षमा नै प्राध्यापक भएका डा. खनालले अहिले विश्वभर नेपालीको नाम चम्काइरहेका छन्। खनाल यस्ता प्राध्यापक हुन् जसले हरेक वर्ष आफ्नो विषयमा एकदुईजना नेपाली र दक्षिण एसियाली मुलुकबाट पाँचजना युवा अनुसन्धानकर्तालाई हवाईमा प्रतिशपर्धा गराएर लैजान्छन्। यसरी आफ्नो उत्तराधिकारी तयार गरिरहेका खनालले काठमाडौँ विश्वविद्यालयमा अध्ययन-अनुसन्धानमा लागेकालाई हवाईमा अवसर दिँदै आएका छन्।

एक अध्ययनअनुसार अमेरिकाका विभिन्न विश्वविद्यालयमा करिब पाँच सयजति नेपाली प्राध्यापनरत छन्। खनालले जसरी युवालाई विदेशी भूमिमा लगेर अनुसन्धानमा संलग्न गराउने नेपाली विज्ञ कमै छन्। ‘नेपाली युवालाई अध्येताका रूपमा हवाई लैजाँदा गर्व गर्छन्’, उनले भने। नेपालमा यस्ता अध्येताको खोजी हुँदैन।

अमेरिकाको स्टान्डफोर्ड विश्वविद्यालयले राखेको दुई प्रतिशत साइन्टिस्टभित्र समेत अटाएका खनाल गुगल स्कलरमा पनि परिचित छन्। आफ्नो अध्ययनमा १३ हजारभन्दा बढी ‘साइटेसन’ भएको हामी हेर्न नै सक्छौँ। उनको मुख्य जर्नलमा नै १४० भन्दा बढी अध्ययन प्रकाशित छन्। खनालकै नामका बायो इन्जिनियरिङसम्बन्धी पुस्तक प्रकाशित छन्। खनाल १७ वटा पुस्तकको ‘च्याप्टर कन्ट्रिब्युटर’ हुन्।

उनी मातहत १४ पीएचडी, १२ पोस्ट डक्टरेट र १५ भिजिटिङ स्कलरलगायत सयौँ वैज्ञानिक छन्। हवाई विश्वविद्यालयले उपलब्ध गराउने प्रतिष्ठित सबै प्रकारका अवार्डबाट विभूषित उनी नेपाली वृत्तमा भने गुमनाम छन्। उनी नेपाल आउँदा काठमाडौँ विश्वविद्यालयका केही प्राध्यापकसँग बहस र छलफल गर्छन् अनि आफ्ना पुराना समकक्षी, नेपाल सरकारका केही सचिव र सेवानिवृत्त भएर विज्ञका रूपमा काम गरिहेका व्यक्तिहरूसँग भेट्छन्।

खनालका अनुसार नेपालीले अमेरिकामा प्रशस्त अवसर पाउँछन्। नेपालीले अध्ययनमा केन्द्रित गरेर भने आवेदन दिएको पाइँदैन। उनको बुझाइमा नेपालीहरू अध्ययनलाई सामान्य रूपमा लिन्छन्। खनाल भन्छन्, ‘त्यो गलत हो। पूर्ण तयारी नभई अध्ययनमा हामफाल्नु हुँदैन। तयारी गरेर प्रतिस्पर्धामा जाँदा नेपालीले अमेरिकामा प्रशस्त अवसर पाउँछन्।’ सम्भावना रहेकाले व्यक्तिगत विवरण तयाार गर्न र अमेरिकी शिक्षाबारे जानकारी दिन पनि उनी नेपाल आउने गर्छन्।

नेपालमा अध्ययनअनुसन्धानका क्षेत्रमा काम गर्ने भन्दा पनि दलका नेता र कर्मचारीले आफूलाई मोटो रकम आउने काममात्रै गराउने प्रवृत्ति समाचार पढ्दा दिक्क लाग्छ। यस्तो प्रवृत्ति आश्चर्यलाग्दो रहेको उनले बताए। ‘कहिलेकाहीँ त समाचार पढ्दा खिन्न हुनुपर्छ’, खनालले भने।

चेतना अभावका कारण नेपालका दल र कर्मचारीतन्त्रमा गलत प्रवृत्ति रहेको उनको बुझाइ छ। ‘राम्रो शिक्षा लिएकाहरु यस्ता हुँदैनन्। नेतृत्वमा राम्रो अध्ययन गरेका व्यक्ति भएको भए नेपालमा अनेक खालका काण्डहरु हुँदैनथे।’ नेताहरूमा सर्वसाधारणले भन्दा अगाडि केही कुरा बुझ्ने र दूरदृष्टि हुनुपर्ने उनी बताउँछन्। ‘चर्का भाषण गरेरमात्र नेता बनिँदैन। नीति निर्माण तहमै पनि उत्तिकै दखल हुनुपर्छ। राजनीति गर्नेले विषयगत विज्ञतासहित ज्ञानकोे दायरा बढाउँदै जानुपर्छ।’

नेपालमा हरेक क्षेत्रमा राजनीतिले प्रभाव पारेका कारण अघि बढ्न चाहने जनशक्ति बीचमै पलायन हुने गरेको उनको बुझाइ छ। साथै विदेशमा बसेर नेपालका लागि केही गर्न खोज्नेलाई पनि हतोत्साहित गर्ने गरिएको खनालले बताए। उनले भने, ‘हामीले यहाँ बसेर मुलुकका लागि धेरै गर्न सक्छौँ। नेपालमा राजनीतिक हस्तक्षेप धेरै छ। नेताहरूमा राजनीतिक इच्छाशक्ति पो हुनुपर्छ त।’

बागमती फोहोर भयो भनेर त्यहाँ पसेर सफा गरेको अभियान हेर्दा कोही व्यक्ति उनलाई पपुलिस्ट हुन गरेको प्रयत्न जस्तो लाग्छ। उनी भन्छन्, ‘समस्याको दीर्घकालीन समाधान खोज्नुको सट्टा त्यस्ता छोटे काममा अलमलिनु दुर्भाग्य हो।’ नीति निर्माण तहमा रहेका नेपालीमा पनि खोजअनुसन्धान र अध्ययनमा लाग्ने परिपाटी नदेखिएको प्राध्यापक खनाल बताउँछन्।

देशको हितका लागि मित्रराष्ट्रबाट सहयोग हुँदा पनि विरोध गर्ने नेपालका राजनीतिक दलको गलत प्रवृत्तिप्रति उनी असन्तुष्ट छन्। ‘भारतले केही गर्न लाग्यो भने शंका गर्ने, चीनले केही गरिदिन लाग्यो भने शंका लिने र अमेरिका वा युरोपेली देशले केही गर्न लाग्यो फरक आशंका लिने गरिएको छ। यो गलत हो’, खनालले भने। यस्ता विषयमा स्थायी सरकार अर्थात् कर्मचारीतन्त्र बलियो हुनुपर्ने उनले बताए।

नेपालका चिकित्सक, इन्जिनियर, अध्येता, वैज्ञानिक बन्न सक्ने जनशक्ति विदेश गएर सामान्य काममा अलमलिएकोमा उनलाई चिन्ता छ। यसमा सरकारको दोष देख्छन् उनी। कमाई खान बसेका कतिपय कन्सलटेन्सीहरूले राम्रो परामर्श नदिने उनले बताए। अर्को कुरा युवा पुस्ता अध्ययन संस्कृति कमजोर बन्दै गएकोले पनि हो । अनि हाम्रो समाज पनि त्यस्तै हुँदै गएको छ। समाज पनि छोराछोरी के गरिरहेका छन् भन्दा पनि कमाउन थाल्यो या थालेन भनेर गफ गर्न थालिन्छ। यो पछिल्लो समस्या हो, उनले भने।

‘अचेल काठमाडौँमा अमेरिकी निकाय युसेफ र बेलायतको ब्रिटिस लाइब्रेरीमा गएर पढ्ने मान्छे सायदै होलान,’उनी भन्छन्। भारतीय दूतावासले कैयौँ छात्रवृत्ति दिएको हुन्छ। चिनियाँको पनि छ। अन्य मुलुकमा पनि छात्रवृत्ति पाउन सकिन्छ। ‘नेपाली युवाले यस्ता विषयमा चासो दिएको पाइँदैन। कतिपयलाई यस्ता विषयमा जानकारी हुँदैन। कतिपयलाई जानकारी भएर पनि चाहना हुँदैन’, खनालले भने। परमर्शदातामार्फत नेपाली युवा महँगा विश्वविद्यालय वा कलेजमा पुग्ने तर पढ्न पैसा नभएपछि सामान्य काममा अलमलिने उनले बताए। ‘बीचमा छाडेर काम गर्न थाल्छन्। काममै भुलेपछि अध्ययनको ढोका बन्द भइहाल्छ’, खनालले भने।


खनालले केही दिनअघि त्रिभुवन विश्वविद्यालयमा वातावरण विज्ञानमा स्नातकोत्तर गरेकालाई हवाई लैजाने प्रक्रिया अघि बढाएका थिए। ती विद्यार्थीले त्यहाँ आएर अध्ययनअनुसन्धानसँग सम्बन्धित काम गर्न सक्दिनँ भनेपछि पछि हटेको उनको भनाइ छ। ‘ती युवामा दुःख नगर्ने र अध्ययनमा पछि पर्छु भन्ने भय रहेछ। त्यो गलत हो’, खनालले भने।

काम सानोठूलो भन्ने नरहेको तर आफ्नो क्षमता र सिप कहाँ उपयोग गर्नुपर्छ भन्ने कुरा महत्त्वपूर्ण रहेको उनको सुझाव छ। ‘पैसा र ज्ञान फरक कुरा हुन्। पैसाले मात्र ज्ञान आउँदैन तर ज्ञानले पैसा आर्जन हुन्छ’, उनले भने। सरकारले पनि गुणस्तरीय शिक्षा दिन सक्नुपर्नेमा जोड दिँदै खनालले भने, ‘विदेशीको नक्कल गरेर हरेक वर्ष प्रणाली परिवर्तन गर्नु हुँदैन। विद्यार्थीलाई सेमिस्टरमा झुलाएर राख्ने प्रणाली गलत छ।’

त्रिविमा उपकुलपति छनोट प्रक्रियामा पनि खनालले चासो राख्ने गरेको बताए। उपकुलपति स्वच्छ छवि भएका र बौद्धिक चोरीमा नपरेका प्राज्ञिक र व्यवस्थापन गर्न सक्ने कमाण्ड भएका व्यक्ति चयन हुनुपर्नेमा जोड दिँदै खनालले भने, ‘त्यसो हुँदा बाहिर पनि राम्रो सन्देश जान्छ। विवादित व्यक्ति नियुक्त भएमा बाहिरी विश्वले बेवास्ता गर्छ। अनि विश्वविद्यालयको स्तर पनि खस्कँदै जान्छ।’ विदेशी विश्वविद्यालयमा अध्ययन गर्नुअघि त्यहाँको मागअनुरूपको तयारी गर्न आग्रह गर्दै उने भने, ‘प्रतिस्पर्धा गर्नुपर्छ।’

नेपालको फोहोर व्यवस्थापन गर्न कठिन नरहेको खनाल बताउँछन्। उनका अनुसार नेताहरूमा दृढ इच्छाशक्ति नरहँदा समस्याको समाधान दीर्घकालीन रूपमा हुन नसकेको हो। खनाल भन्छन्, ‘ढललाई सीधै बगेको नदीमा लगेर जोडिदिएका छौँ जुन प्रकृति र पर्यावरणप्रति हेलचेक्रयाइँ हो। नेपालका नेताहरू नयाँनयाँ कुरा अध्ययन गर्नै चाहँदैनन्। पपुलिस्ट भाषण दिनमै व्यस्त हुन्छन्।’ यस्ता विषयमा मेयरले ध्यान दिएर केही गर्लान् कि भन्ने आशा खनालमा छ। यस्ता विषयमा नि:शुल्क जानकारी दिन र सुझाउन आफू तयार रहेको उनले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 9 =