काठमाडौँ- राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई भ्रस्टाचारविरुद्ध ठोस कदम चाल्न आग्रह गरेका छन्।
सरकारले इमानदार छ भन्ने सन्देश दिनका लागि पनि कम्तीमा एक महिनाभन्दा बढी समयदेखि जिम्मेवारी सम्हालिरहेका सबै मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ।
‘प्रधानमन्त्री सुशीलाजीको शासनको एक महिना पूरा भयो। भ्रस्टाचारविरुद्धको अभियानप्रति इमानदार देखिनका लागि पनि सरकारले मन्त्रीहरूको सम्पत्ति विवरण जनतामाझ पेस गर्नुपर्छ,’ लोहनीले सोमबार फेसबुकमा लेखेका छन्।
उनले जेनजेड आन्दोलन र त्यसमा भएको बलिदानको एउटा प्रमुख माग नै सरकारको भ्रस्टाचारविरुद्ध सक्रियता भएको उल्लेख गर्दै सो मागप्रति सरकार सचेत छ भन्ने प्रमाणित गर्न मन्त्रीहरूको देशभित्र र बाहिरको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने टिप्पणी गरेका हुन्।
लोहनीले राजनीतिक दलका शीर्ष नेताहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्न नसक्नु सरकारको दुर्बलता भएको बताएका छन्।
भ्रस्टाचारविरुद्ध कठोर स्वभावकी भनेर चिनिएकी प्रधानमन्त्री सुशिला कार्कीको नेतृत्वमा रहेको सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रभावकारी बनाउन नसकेको उनको भनाइ छ।



