
काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलनस्कीलाई रूसका सर्त मान्न चेतावनी दिएका छन्। ह्वाइट हाउसमा शुक्रबार भएको तनावपूर्ण बैठकका क्रममा युक्रेनी राष्ट्रपति जेलनस्कीलाई यस्तो चेतावनी दिएका हुन्। अन्यथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई नष्ट गर्ने ट्रम्पको भनाइ छ।
बैठकमा दुवै नेताबीच पटकपटक तीव्र वादविवाद र चर्काचर्की भएको बताइएको छ। ट्रम्पले बारम्बार अशिष्ट शब्द प्रयोग गर्दै जेलनस्कीसँग विवाद गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
राष्ट्रपति ट्रम्पले युक्रेनको युद्धरेखाको नक्सा एकातिर फ्याँकिदिए र जेलनस्कीलाई डोनबास क्षेत्र पुटिनलाई सुम्पिन आग्रह गरेका थिए। उनले एक दिनअघि पुटिनसँग भएको वार्ताका कुरा पनि दोहोर्याएका थिए।
युक्रेनी पक्ष ट्रम्पलाई वर्तमान युद्धरेखा यथास्थितिमा राख्ने प्रस्तावमा सहमत गराउन सफल भए पनि उक्त बैठकले ट्रम्पको अस्थिर र अनिश्चित युद्ध अवस्थाप्रतिको धारणा झल्काएको बताइन्छ।
भेटवार्ता इजरायल र हमासबीचको युद्धविरामपछि रूस-युक्रेन युद्ध अन्त्य गर्ने ट्रम्पको नयाँ पहलसँगै भएको हो। जेलनस्की टोली लामो दूरीका टमहक क्रुज मिसाइल पाउने आशामा ह्वाइट हाउस पुगेको थियो। ट्रम्पले त्यसलाई अस्वीकार गरेका छन्।
फेब्रुअरीमा भएको यस्तै अर्को विवादास्पद बैठकमा ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले जेलनस्कीमाथि अमेरिकाप्रति पर्याप्त कृतज्ञता नदेखाएको आरोप लगाएका थिए।
शुक्रबारको बैठकमा ट्रम्पले पुटिनका अनेक तर्क जस्ताका तस्तै दोहोर्याएको युरोपेली अधिकारीहरूले बताएका छन्। एक अधिकारीका अनुसार ट्रम्पले जेलनस्कीलाई भने, ‘तिमीले सम्झौता गर्नैपर्छ, होइन भने पुटिनले तिमीलाई नष्ट गर्नेछ।’
ती अधिकारीका अनुसार ट्रम्पले बैठकको एक चरणमा युक्रेनी युद्धमैदानको नक्सा टेबलबाट हुत्याइदिएका थिए। ह्वाइट हाउस र युक्रेनी राष्ट्रपतिको कार्यालयले यस विषयमा कुनै टिप्पणी गरेका छैनन्।
ट्रम्पले आइतबार फक्स न्युजसँगको अन्तर्वार्तामा भनेका छन्, ‘मलाई विश्वास छ- युद्ध अन्त्य गर्न सकिन्छ। पुटिनले केही पाउनेछन्, केही सम्पत्ति उनले जितिसकेका छन्।’
युद्ध अन्त्य गर्नका लागि रूसी राष्ट्रपति पुटिनले बिहीबार ट्रम्पलाई नयाँ प्रस्ताव गरेका थिए। युक्रेनले आफ्नो नियन्त्रणमा रहेका पूर्वी डोनबासका भागहरू त्याग्नुपर्ने र त्यसको साटोमा उसले दक्षिणी खेरसन र जपोरिजिया क्षेत्रमा साना भूभाग पाउने प्रस्ताव पुटिनको थियो। यो प्रस्ताव गत अगस्टमा अलास्कामा भएको ट्रम्प-पुटिन भेटभन्दा केही परिमार्जित थियो। त्यसबेला पुटिनले युक्रेनले डोनबास सुम्पिए बाँकी युद्धरेखा स्थिर राख्ने सहमति देखाएका थिए।
डोनबासको बाँकी भाग रूसलाई सुम्पन युक्रेनका लागि पूर्ण रूपमा अस्वीकार्य विषय हो। उक्त क्षेत्र रूसले दशकौँदेखि कब्जामा राखेको छ। २०२२ मा आक्रमण गरे पनि पूर्ण रूपमा नियन्त्रणमा लिन सकेको छैन। समाचार संस्था एपीका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार युक्रेनको डोनबास क्षेत्र टुक्र्याउनुपर्ने र त्यसको अधिकांश भाग रुसको नियन्त्रणमा रहनुपर्ने बताएका छन्। यसो गरेमात्र करिब चार वर्षदेखि जारी युद्धको अन्त्य हुने ट्रम्पको भनाइ छ। उनले पत्रकारसँग भने, ‘जस्तो छ, त्यस्तै रहोस्। यो अहिले नै टुक्रिएको अवस्थामा छ। त्यस्तै रहन दिइयोस्।’
ट्रम्पको पछिल्लो टिप्पणी युक्रेनी ड्रोनहरूले दक्षिणी रुसको एउटा प्रमुख ग्यास प्रशोधन प्लान्टमा आक्रमण गरेपछि ठूलो आगलागी भए र काजाखस्तानबाट आउने ग्यासको आपूर्ति रोकिएको अवस्थामा आएको हो। ओरेनबर्ग क्षेत्रमा रहेको उक्त प्लान्ट रूसी सरकारी ग्यास कम्पनी गाजप्रोम द्वारा सञ्चालित छ। यसलाई विश्वकै ठूला प्रशोधन केन्द्रमध्ये एक मानिन्छ।
युक्रेनी संसद्को वैदेशिक मामिला समितिका अध्यक्ष ओलेक्जान्दर मेरोझ्कोका अनुसार डोनबास बिना लडाइँ रूसलाई सुम्पनु युक्रेनी समाजका लागि अस्वीकार्य कुरा हो र पुटिन यो कुरा राम्रोसँग जान्दछन्।
उनका अनुसार पुटिनको उद्देश्य थप भूभाग कब्जा गर्नु होइन, युक्रेनभित्रै विभाजन र अस्थिरता सिर्जना गर्नु हो।
शुक्रबार ट्रम्पले पुटिनको भाषाशैली दोहोर्याएपछि युरोपेली सहयोगीमा युक्रेनका पक्षमा ट्रम्पले समर्थन बढाउने आशा फेरि मरेको बताइएको छ। हालै ट्रम्पले पुटिनको शान्तिवार्तामा अनिच्छा देखाएको भन्दै असन्तुष्टि व्यक्त गरेपछि युरोपेली नेताहरूले सहयोगको सम्भावना देखेका थिए। उक्त बैठकमा ट्रम्पले जेलनस्कीलाई रूसी प्रस्ताव स्वीकार गर्न दबाब दिएको पुष्टि तीन युरोपेली अधिकारीहरूले गरेका छन्।
बैठकपछि जेलनस्की निकै निराश देखिएको र युरोपेली नेताहरू अब व्यावहारिक तर निराशावादी ढंगले आगामी रणनीति तय गर्न लागेको जनाइएको छ। जेलनस्कीले आइतबार जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘यो युद्ध अन्त्य गर्नका लागि संयुक्त राज्य अमेरिका, युरोप, जी-२० र जी-७ देशहरूले निर्णायक कदम चाल्न आवश्यक छ।’