तिलिचो तालको अद्‌भुत सौन्दर्य [तस्बिरहरू]

दीपक ढकाल १ कार्तिक २०८२ १७:०८
24
SHARES
तिलिचो तालको अद्‌भुत सौन्दर्य [तस्बिरहरू]

तिलिचो नेपालको सबैभन्दा उचाइमा रहेको ताल हो। यो ताल मनाङको हिमाली काखमा ४९१९ मिटर उचाइमा  अवस्थित छ। तालसम्म पुग्न निकै आत्मविश्वास र साहसिक पदयात्रा गर्न सक्ने उच्च मनोबल चाहिन्छ।

लमजुङ सदरमुकाम बेसीसहरबाट मनाङ प्रवेशको यात्रा थालनी हुन्छ। बेसीसहरबाट मनाङ सदरमुकाम चामेसम्मको ६४ किमि सडक यात्रा त्यति सजिलो छैन। लमजुङपट्टिको करिब ४० किमि पूर्णतः कच्ची (अफ रोड) छ। मर्स्याङ्दीको किनारैकिनार यात्रा गरेपछि चामे पुग्न सकिन्छ। चट्टान काटेर बनाइएका सडक, वारिपारि छङ्छङ् गरी झरेका झरना र अत्यासलाग्दा पहाडका खोँचको यात्रा निकै जोखिमपूर्ण छ।

चामेबाट मनाङ र खाङ्सारसम्मको सडक यात्रा भने सहज हुन्छ। ग्रिन लेक, ब्लु लेक, गंगापूर्ण लेक अवलोक गरी खाङ्सार पुग्न सकिन्छ। यी स्थल मनोरम र रमणीय भएका कारण प्रकृतिसँग प्रेमिल अनुभूति साट्न चाहनेले भरपूर आनन्द लिन सक्छन्।

खाङ्सार तिलिचो यात्राको सवारीसाधन पुग्ने अन्तिम बिन्दु हो। त्यहाँबाट करिब पाँच घण्टा पैदल यात्रा गरेपछि तिलिचो आधार शिविर पुग्न सकिन्छ। यात्राको आधाभन्दा बढी स्थान अति जोखिमपूर्ण र भयानक प्रकृतिको छ। साँघुरो र खरखरे बाटोमा थोरै पनि असावधानी भए सीधै मर्स्याङ्दीमा खस्ने भय हुन्छ। आधार शिविर पुगेपछि भोलिपल्ट मात्र तिलिचो यात्रा सम्भव हुन्छ किनभने शरीरको थकान तथा अक्सिजनको सन्तुलनका लागि यात्रीले आधार शिविरमै बस्नुपर्ने हुन्छ।

भोलिपल्ट करिब चार घण्टा ठाडो उकालो र अत्यन्त सन्तुलित हिँडाइपछि तिलिचो पुगिन्छ। तालमा पुगेपछि जता हेर्‍यो उतै हिमाल मुस्कुराएको स्वर्गीय दृश्यले यात्री मोहित हुन्छन्। यात्राको केन्द्र भनेकै हिमाली सौन्दर्यको अवलोकन हो।

यात्रीलाई चाहिने हिमाली उचाइ, स्वास्थ्यमा पर्ने प्रतिकूल प्रभाव जस्ता पक्षमा राज्यले ध्यान दिन सके सम्भावित दुर्घटनाबाट पर्यटक बच्न सक्ने देखिन्छ। नेपालको मनोरम हिमाली सौन्दर्य र जनजीवन अवलोकन गर्न चाहनेले एकपटक पुग्नैपर्ने गन्तव्य हो तिलिचो ताल।

   


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast