नियात्रा

मनाङ यात्रामा मिलेको अलौकिक आनन्द

अमृतप्रसाद पौड्याल २९ वैशाख २०८१ १५:२७
194
SHARES
मनाङ यात्रामा मिलेको अलौकिक आनन्द

तिलिचो ताल हेर्दै थोराङपासबाट मुक्तिनाथ पुग्ने अभिलाषाले मनाङगाउँमा अवस्थित होटल यतीको कोठामा पोकापन्तुरा कुनातिर राखेर खाटमा पल्टिएँ। काठमाडौँबाट गुडेको तेस्रो दिन र चामेबाट पैदल हिँडेको दोस्रो दिन भएको रहेछ।

तीन हजार चार सय मिटरको उचाइमा रहेको मनाङेको बस्ती स्वच्छ र शान्त थियो। चारैतिर हिमालले घेरेको, मर्स्याङ्दी नदीले सिञ्चित जमिनमा फाफर, करु, गहुँ, आलुजस्ता खाद्य बाली आनन्दलाग्दो देखियो। स्याउको खेती तथा भेडा, बाख्रा, चौँरीजस्ता पशुपालनले त्यहाँको कृषि जीवनलाई थप चिनाइरहेको थियो।

प्रसिद्ध हिमालका चुचुरा, पानी र जडिबुटीको भण्डार, जंगललगायतका प्राकृतिक सम्पदाले मनाङ सम्पन्न छ। त्यसैको सेरोफेरोमा पाइने चितुवा, मृग, कस्तुरी, घोरल, चित्तल, नाउरलगायतका जनावर र डाँफे, मुनाल, कालिज, काग, ढुकुर, च्याखुरालगायतका चराचुरुंगीले स्वर्गीय आनन्दको अनुभूति हुन्छ।

पर्यटकलाई दिने उत्कृष्ट आतिथ्यता, स्थानीयहरूले पर्यटक एवं पदयात्रीप्रति दर्शाउने आफ्नोपन लगायतका विशेषताले गर्दा सहासिक पदयात्राका लागि विश्वमा यो उत्कृष्ट गन्तव्य बनेको छ। तथापि, आधारभूत सुविधा जस्तै, स्वास्थ्य सेवा, सञ्चार, बिजुली, आकस्मिक सेवा, पदयात्रा मार्गको सरसफाई, जानकारीमूलक बोर्ड, संकेत पाटीहरूको व्यवस्थापन भने फितलो देखियो।

होटलमा स्वच्छ भएर कफी सपमा छिर्‍यौँ। केही बेरपछि नजिकै रहेको भ्युप्वाइन्टमा जाने सल्लाह भयो। भ्यू प्वाइन्टबाट मनाङलाई हेर्दै गर्दा सीधा अगाडि दक्षिणतर्फ ठिंग उभिएको अन्नपूर्ण हिमशृंखलाका अन्पूर्ण दोस्रो, तेस्रो, गंगापूर्ण, तिलिचोलगायतका चुचुराहरूले हामीलाई हेरेर मुस्कुराइरहेका थिए।

हामी साबिकझैँ बेलुका होटलको खाना खाने कोठामा बसेर गफ गर्न थाल्यौँ। ‘पूर्वनिर्धारित योजनाअनुसार नै पहिला तिलिचो पुगी थोराङ जाम्न। हामीलाई हिँड्नु छ, उकाली ओराली गर्नु छ अनि हिमाललाई नजिकबाट हेर्नुछ यसै पनि तिलिचो वरपर त हिउँ भइहाल्छ नि, संसारकै अग्लो स्थानमा रहको ताल जेजस्तो अवस्थामा रहन्छ, त्यही हेरौम्न’ भन्दै हुनुहुन्थ्यो डा.उमेश खनाल।

‘अहिले तिलिचो पूरा बरफले ढाकिएको छ, दुःख गरेर गइसकेपछि त्यसको सुन्दरता हेर्न पाइएन अथवा त्यहाँ जाँदा कसैलाई केही गारोसाह्रो भयो भने फेरि उता थोराङ पुग्ने उद्देश्य प्राप्तिमा समेत असर गर्न सक्ने भएकाले परिस्थिति हेरी तिलिचोतर्फ नजाऔँ न त’ डा. सुशील पौडेल भन्दै हुनुहुन्थ्यो। बहस अगाडि बढदै जाँदा त अधिकांश सदस्य तिलिचो नजाऊँ भन्नेमा पुगे। जाऔँ भन्नेको मत निकै कम देखियो।

समूहका एघार सदस्यमध्ये लामो पदयात्रामा हामीसँग विरलै हिँड्नुभएका डा. दिनेश काफ्ले र उमेरले झन्डै सत्तरी पुग्ने लाइनमा रहनुभएका डा.आनन्दबल्लभ जोशीले तिलिचो अथवा थोराङ पुग्ने कुरा हाम्रो बसमा होला जस्तो छैन, यहाँसम्म यसरी आइपुग्नु नै हाम्रा लागि यथेष्ट हो भनी आफ्नो भनाइ राख्नुभयो।

यसरी तिलिचो जाने वा नजाने भनी बहस गरिरहेको अवस्थामा मतदान गरौँ न त भन्नेसम्मको चरणमा पुगेका थियौँ। आखिर साझा उद्देश्यका लागि एउटै समूह बनी हिँडेका हामीहरू पक्षविपक्षमा बाँडिनु हुन्न, जे गर्ने हो सल्लाहमै गरौँ न भन्ने सहमति भयो। बरु हिँडने तयारी एवं पूर्वअभ्यासका लागि आइसलेक पनि राम्रो गन्तव्य हुन सक्छ भन्ने सहमतिमा आयौँ।

डा. काफ्ले र डा.जोशीले हामी आइसलेक पुग्न नसके पनि बरु बाटैबाट फर्कुँला अनि एकदुई दिन यतै रमाएर बेसीसहर फर्कन्छौँ भन्नुभयो। डा. खनाल, डा. पदमराज पन्त र मबाहेक अन्य सदस्यहरू बिहान ६ बजे नै आइसलेकतर्फ जाने र दिउँसो १२ बजेभित्र त्यहाँबाट फर्केर घुसाङतर्फ लाग्ने निर्णय भयो। यात्राका अन्य पक्षको समीक्षा भयो। डा. दिनेश काफ्ले र डा. आनन्दबल्लभ जोशीले पदयात्रामा दिनुभएको आँट र साथलाई उच्च सम्मान गर्दै बेलुकाकोे खाना खाँदै लगभग दुई घण्टा बितायौँ।

होटलमा पाहुना धेरै भएकाले खाना खाने ठाउँ भरिएको थियो। होटल सञ्चालकले हामीलाई दुईजना विदेशी युवतीकै टेबुलमा खाना खाने व्यवस्थापन गर्न सकिने प्रस्ताव गरे। हामीले सहमति जनायौँ। परिचयका क्रममा उनीहरू थोराङ पास र तिलिचो यात्राका रुसबाट आएका रहेछन् भन्ने जानकारी पायौँ। डा. पदमराज पन्तलाई रुसी भाषा बोल्न आउने भएकाले खाना खाउन्जेल तिनीहरूसँग कुराकानी गर्नुभयो। हामीले नबुझे पनि रमाइलो मानेर सुन्यौँ।

आइसलेकतर्फ जाने सदस्यहरू बिहानै त्यसतर्फ लागेपछि डा. पदमराज पन्त, डा. उमेश खनाल र मचाहिँ सात बजेपछि गंगापूर्ण हिमालबाट बगेर आएको पानीले बनाएको मनाङको दक्षिण पश्चिमतिर रहेको गंगापूर्ण लेकतर्फ ओर्लियौँ। लेकको सुन्दरतालाई धीत मर्ने गरी अवलोकन गरी फेरि होटलमा आई आराम गर्न लाग्यौँ।

त्यस दिन काठमाडौँ उपत्यकालगायत पहाडी भेगमा फागुपर्व थियो। मनाङमा फागुनको चमक नभए पनि एक हुल विदेशी एवं स्वदेशी पदयात्रुहरू अनुहारमा अबिर धसेर गन्तव्यतर्फ गइरहेका थिए। त्यहीँ रहेका केही व्यक्तिहरूको अनुहारमा पनि अबिर दलिएको पाइयो। आइसलेक गएका साथीहरू फर्कन केही ढिलो हुने खबर पाएपछि त्यहाँ बस्नुभन्दा घुसाङतिर हिँड्ने सल्लाह भयो।

एकैछिनमा डा.गेहराज दाहाल, डा. दिनेश काफ्ले र डा. आनन्दबल्लभ जोशी फर्कनुभयो। आइसलेक जाने क्रममा आधाआधी पुगेपछि केही अप्ठेरो भएकाले फर्कनु भएछ। डा. काफ्ले र डा. जोशी त्यहीँबाट बेसीसहर फर्कन तयार हुनुभयो। डा.गेहराज दाहाललाई ‘तपाईँ एकछिन आराम गर्नुस् र अन्य साथीहरू फर्केपछि सँगै घुसाङ आउनुहोला’ भन्यौँ। पूर्वतयारी कम भए तापनि आँट र सहासले मनाङसम्मको पदयात्रामा हामीलाई उत्साहपूर्वक साथ दिनुभएका डा. काफ्ले र डा. जोशीसँग बिदा हुँदा मन भारी भयो।

उहाँहरूलाई थोराङ यात्राका लागि शुभकामना लिई मनाङगाउँलाई बाइबाई गरेर हामी पनि घुसाङतर्फ लाग्यौँ। हिँड्दै गर्दा तिलिचो र घुसाङतर्फ मोडमा पुगेपछि तिलिचो नगए पनि जाने बाटोमा बसी फोटो खिच्यौँ। त्यति बेला त्यहाँ बेतोडले हावा चलिरहेको थियो।

हामी करिब दुई घण्टामा घुसाङ पुग्यौँ। अन्य साथीहरूको प्रतीक्षा गर्दै होटल चुलु वेस्टमा केहीबेर सुस्तायौँ। ‘अमृतजी, तपाईँ एकछिन हिँड्ने हो त?’ आफूलाई पनि त्यसरी हिँड्न मनपर्थ्यो। ‘हुन्छ नि त’ भन्दै डा. उमेश खनाललाई ‘हजुर पनि जाने हो?’ भनी सोधेँ। उहाँले नजाने भनेपछि म पछि लागेँ डा. पन्तसँग।

उमेरले ६५ पुग्न लाग्नुभएका डा.पन्तको हिँडाइमा बेग्लै प्रकारको फुर्तिलोपन देखिन्थ्यो। उहाँको त्यो विशेषता हाम्रा लागि हौसला थियो। हामी होटल रहेको स्थानबाट करिब दुई सय मिटर जति ठिक माथिपट्टि रहेको भिरतर्फ लाग्यौँ। उचाइमा पुगी पुनः होचो स्थानमा आई बस्दा शरीरले बसेको स्थानको वातावरण अनुकूल कार्य गर्छ भन्ने मान्यताले हाम्रो हिँडाइलाई मलजल गरेको थियो।

साँझ पर्ने बेलामा होटलसँगै रहेको भिरमा केही संख्यामा हिमाली बाख्राका बथान यत्रतत्र हिँडिरहेका भेटिए। आइसलेकतर्फ गएका साथीहरू आइपुग्नुभयो। सिमसिम पानी पर्न थालेकाले जाडो बढ्दै थियो। तातोपानी, चिया अनि बोकेका खानेकुरा खाँदै गर्दा साँझको सात बजेतिर फुसफुसाएको हिउँले वातावरण थप रोमाञ्चक बनायो।

भोलिपल्ट बिहान वरिपरिका सबै बोटबिरुवा, बुट्यानलाई ताजा हिउँले ढपक्क ढाकी आकर्षक देखिएको थियो। उक्त क्षणको प्राकृतिक दृश्यको रसास्वादन गर्दै हामी चुलीलेदारतर्फ लम्कन थाल्यौँ। घेनजाङ खोलामा रहेको झोलुंगे पुल भएको स्थानमा पुग्दा त पुलको ठिक उत्तरपूर्वतिरको हिमालदेखि पुलसम्म नै पिठो छरिएसरि हिउँले ढपक्कै ढाकेको थियो।

करिब एघार बजे याकखर्कको थोराङ पिक होटलमा खाना खायौँ र केहीबेर आराम गर्यौँ। त्यसपछि करिब आधा घण्टा हिँडेपछि चुलीलेदार पुगियो। झोलुंगे पुलपारि रहेको होटलको बेन्चमा एकछिन सुस्तायौँ। भर्खर दिनको एक बजेको थियो। त्यहाँ बस्नुभन्दा बरु थोराङ फेदीसम्म पुगियो भने भोलिपल्ट अपर क्याम्पमा आराम गर्न पाइन्छ भन्ने सल्लाह भयो। अनि हामी फेदी पुग्नका लागि अगाडि बढ्यौँ।

हामी जतिजति अगाडि बढ्थ्यौँ, पछाडि रहेका अन्नपूर्ण, तिलिचो, गंगापूर्णलगायतका चुचुराहरू नजिकै आएर टाँस्सिएका जस्ता लाग्थे। मार्गको दायाँबायाँ रहेका पहाडको माथिल्लो भाग पनि हिउँले ढाकिएका थिए। नीलो आकाश, घामको प्रकाशमा टल्किरहेका हिउँ र वरिपरिको हिमालका चुचुरा, चराहरूको आवाज, बायाँपट्टि खोलामा पानी बगेको आवाजले वातावरण मनमोहक थियो। त्यो आनन्दको वर्णन जति गरे पनि कमै लाग्दो रहेछ।

कतै घुम्ती, कतै उकालो अनि तेर्साे मार्ग नाप्दै अगाडि बढ्दा एक स्थानमा पुगेपछि दुईवटा बाटो आयो। खोलातिर पुल बनेको र टाढासम्म प्रस्ट मार्ग देखिएकाले हामीले त्यही बाटो पछ्याउने निधो गर्यौँ। हामी त्यतै लाग्यौँ।

मर्स्याङ्दी नदीमाथिको झेलुंगेपुल तरेर अलिक उचाइमा पुगेपछि आयो देउराली। त्यहाँबाट हामी हिँड्दै आएको दिशातर्फ पछाडि फर्केर हेर्दा देखिएका हिमाली सौन्दर्य अझै निखारिएको थियो। देउरालीमा केहीबेर सुस्ताएर पानी पियौँ। तस्बिर खिच्यौँ। नौ जनामध्ये चारजना अलि छिटोछिटो पाइला लम्काउनुहुन्थ्यो। उहाँहरू हामी भन्दा लगभग २०० मिटर अगाडि हिँडिरहनुभएको थियो भने हामी पाँचजना सुस्तरी हिँड्दै थियौँ।

अबको बाटोे यसअघिको भन्दा केही फरक थियो। दुई पहाडको बीचमा बगेको मर्स्याङ्दी र हामी हिँड्ने बाटो सँगसँगै थियो। दाहिनेतर्फ पहाडको अधिकांश भाग पहिरोले बगाएको देखिन्थ्यो। यही भएर पदयात्रा मार्ग परिवर्तन भएको अनुमान गरियो। भिरमा रहेको हिउँ पग्लेर पहिरोको रुपमा तलतिर झर्दा माटो समेत झरी खोला धमिलो भएको देखियो।

सानो चौडाइको पदमार्गको दाहिनेतर्फ ठाडो जमिनले तल मर्स्याङ्दी छोएको थियो। मार्गकै देब्रेतर्फको लाइनसम्मै ठिक माथिदेखि जोडिएको चट्टानेपहिरो कुनै पनि बेला खस्न सक्ने रहेछ। गोरेटोको छेउमा बोर्डमा ‘अगाडि पहिरो छ, सावधान !’ सन्देश देख्यौँ। लगभग २० मिनट हिँड्नुपर्ने उक्त बाटोमा हिँड्दा हामी निकै डरायौँ। लाग्थ्यो कि हिँड्दा खुट्टा अलि बज्यो भने पनि त्यसको झोक्काले ढुंगा तल बजारिन्छन्।

‘साँच्चिकै पहिरो गयो भने त’ यस्तैयस्तै कुरा गर्दै फोटो पनि खिच्दै अगाडि बढ्ने क्रममा डा. प्रेम बसेलले टेकिरहनुभएको लठ्ठी अचानक हातबाट चिप्लियो। लठ्ठी खोलातर्फ भिरमा करिब दुई मिटर मुनि पुगेर घाँसमा अड्कियो। ‘लौ! अब कसरी भिक्ने?’ म र उहाँ सँगै थियौँ। उहाँले ‘तपाईँ मेरो हात समाउनुस्, म तन्किन्छु’ भन्नुभयो। एक हातमा मैले सहारा दिएँ। उहाँले एउटा खुट्टा बाटोबाट अलिकति तल टेकी अर्काे हात लम्काउनुभयो। धन्न! लठ्ठीको एउटा टुप्पो समाई माथि तान्नुभयो।

हामी करिब चार बजे ४४५० मिटरको उचाइको फेदीमा रहेको थोराङ वेस क्याम्प लज भएको स्थानमा पुग्यौँ। अगाडि नै आइपुग्नुभएका साथीहरूले सोही लजमा कोठाको व्यवस्था गरिसक्नुभएको रहेछ। डा. पदमराज पन्त र कालीप्रसाद रोयसारा त एकछिन हिँड्नुपर्छ भनेर मर्स्याङ्दी नदीमाथि रहेको पुलमा पुगिसक्नुभएछ। हामी भने भोलि हिँड्न पनि ताकत चाहिन्छ भनी तातो पानी, चिया खाएर होटलमै गफिँदै बस्यौँ।

बत्तीको व्यवस्था भए पनि मोबाइल चार्ज गर्न नमिल्ने रहेछ। इन्टरनेट र सिमसमेत नचल्ने भएकाले मोबाइललाई आराम गर्न दिएर हामीले कुराकानी गरेर समय बितायौँ। मबाहेक समूहका अन्य सबै सदस्यहरू शिक्षण अस्पताल, महाराजगन्जमा आबद्ध हुनुहुन्थ्यो। कुराकानीका अधिकांश विषय अस्पताल र स्वास्थ्य उपचारबारे हुन्थ्यो। मलाई यस्ता कुरा सुन्दा बडो मज्जा आइरहेको थियो।

हामी खाना खाने साझा कोठामा थियौँ। धेरै जाडो भएकाले आगो बलेको चुलोको वरिपरि थियौँ। त्यहाँ एक विदेशीको परिवारै र केही नेपाली सहयोगी थिए। भोलि बिहान आठ बजे त्यहाँँबाट हिँड्ने हाम्रो योजना बन्यो। अत्यधिक चिसोका कारण सुत्ने कोठामा भन्दा यहीँ न्यानो हुन्छ भनी दस बजेसम्म आगो तापेर बस्ने तयारीमा थियौँ। त्यहाँका कर्मचारीले खाना खाइसकेपछि सकेसम्म छिटो सुत्ने कोठामा  गइदिन अनुरोध गरिरहेका थिए। उनीहरूलाई बिहान छिटो उठी काममा लाग्नुपर्ने रहेछ। त्यसैले लौ त भनेर चिसै भए पनि कोठातर्फ लाग्यौँ।

भोलिपल्ट बिहान करिब आठ बजे हामी हाइक्याम्पमा जान उकालो उक्लिन थाल्यौँ। हामी बिस्तारै उक्लँदै थियौँ। वरिपरि रहेका हिउमा परेको घामको प्रकाशले वातावरण उज्यालो थियो। नीलो आकाश, सफा वातावरणमा हिँड्दा चिसो नै भएकाले थाक्नु र पसिना आउनु स्वाभाविक थियो। उकालो उक्लँदै गर्दा माथितिरबाट एकजना विदेशी साइकलमा झर्दै गरेको पायौँ। ती विदेशीको कालो चस्मा हाइक्याम्पमा फुटेछ। चस्मा नलगाई त्यहाँ बस्न नसकिने भएकाले तल फर्किएको थाहा पायौँ।

हामी एक घण्टामा हाइक्याम्प पुग्यौँ। ४९२५ मिटरको उचाइमा रहेको हाइक्याम्प वरिपरि हिउँ नै हिउँ थियो। लहरै धेरै कोठा भएका भुइँतले घरको आँगनमा पुग्यौँ। एक कोठाबाट अर्काे कोठामा जाने र खाना खाने ठाउँमा जाने प्रबन्ध रहेछ। सबैतिर बाक्लो हिउँले भरिएको थियो। छानाबाट हिउँ बग्दाबग्दै बरफ भई लामो धर्साेसमेत ठडिएको थियो।

घाम लागे पनि चिसोले गर्दा कोठाबाहिर बस्न सकेनौँ। कालो चिया, तातो पानी र आफूसँग भएका केही खानेकुरा खाएर बस्दाबस्दै बिहानको ११ बज्यो। आजै थोराङ उक्लिने हो कि भन्दै छलफल पनि गर्‍यौँ।  मध्यदिन भएपछि थोराङमा हावा धेरै लाग्ने र उक्लन धेरै समय लागेर ओर्लन ढिला भएमा बास नपाइने तर्कहरू आएपछि त्यस दिन हाई क्याम्पमा रमाइलोसँग बस्ने निर्णय भयो।

उक्त आवास गृहसँगै जोडिएको भ्यु प्वाइन्ट ससानो हिमालको चुचुरोजस्तै थियो। केहीबेर त्यसैको आरोहण गर्न जुत्तामा क््रयाम्पु लगाएर तयार भयौँ। तीसचालीस मिटरको उक्त चुचुरो पूरै हिउँले ढाकिएको थियो। हामी लठ्ठी टेक्दै क्र्याम्पु जडित जुत्ता लगाएर चुचुरोतिर उक्लियौं। झन्डैझन्डै त्यहाँ पुग्न लगभग दस मिनेट लाग्यो। चुचुरोमा पुगी वरिपरि हेर्दा वास्तवमै एक प्रकारको स्वर्गीय आनन्द महसुस भएको थियो। एकछिन चुचुरोमा वरिपरि घुमेर केही फोटो खिची हामी फर्र्कियौँ।

क्र्याम्पु फुकालेर कोठामा बस्दै गर्दा डा. उमेश खनाल, डा. प्रेम बसेल र मबाहेक अन्य साथीहरू त थोराङतिरै हिँड्नुभयो। उहाँहरूले डेढ घण्टापछि लगभग १५ प्रतिशत थोराङ पुग्ने मार्गलाई नापेर फर्केको कुरा हामीलाई सुनाउनुभयो।

हामी त्यही साझा कोठामा तातोपानी खाँदै बसिरहेका थियौँ। सँगैको टेबुलमा एकजना विदेशी मोबाइलमा व्यस्त थिए। कुराकानीका क्रममा ती विदेशीले आफू जर्मन रहेको र त्यसै हाइक्याम्पमा बसेको तीन दिन भएको बताए। उनी केही सातापछि अन्नपूर्ण २ चढ्ने तयारीमा रहेछन्। सोही क्रममा हाइक्याम्प र थोराङ ओहोरदोहोर गरिरहेका रहेछन्। बिना अक्सिजन हिमाल चढ्नका लागि अभ्यास रहेछ उनको।

हामी बस्दै गर्दा पदयात्रुहरूको आगमन बढ्दै थियो। अधिकांश यात्रु विदेशी थिए। साँझ ६ बजे खाना खाने समयमा त त्यो ठाउँ खचाखच थियो। भोलिपल्ट बिहान चार बजे उठी हिँड्ने सल्लाह गरेर हामी सुत्न गयौँ। राति एक बजेतिर शौचालय जान भनी कोठाबाहिर निस्कँदा बाहिरको वातावरण वर्णनयोग्य थियो। माइनस तेह चौध डिग्रीको तापक्रम अनि पूर्णिमाको तेस्रो दिन चन्द्रमाको प्रकाश यत्रतत्र सर्वत्र रहेको हिउँमा पर्दा उत्पन्न भएको उज्यालो अभूतपूर्व थियो। उच्च स्थानमा निद्रा नलाग्नु वा पातलो हुनु स्वाभाविक थियो।

भोलिपल्ट अर्थात् २०८० चैत १४ गते बिहान हिँड्न तयार हुँदा पाँच बज्यो। हामी थोराङला पास गर्न हाइक्याम्पबाट उकालो लाग्यौँ। हाम्रो यात्राको उच्चतम गन्तव्यमा पुग्न सुरु गरिएको हिँडाइ वास्तवमै सहासिक त थियो नै त्यो भन्दा पनि टाउकोमा टर्च, हातमा लठ्ठी, आफूले बोक्ने सानो झोला भिरी हिउँको थुप्रोमा हिँड्नु जोखिमयुक्त थियो। लगभग पन्ध्र मिनेट उक्लिएपछि एउटा पुलमा पुग्यौँ। हिउँले जमेको खोलामाथिको पुलको अनुभव नयाँ थियो। अध्यारोमै हिँड्न सुरु गरे तापनि सेतो बाक्लो हिउँले गर्दा बाटो पहिल्याउन खासै समस्या भएन। तर चिप्लने र हिउँमा खुट्टा भासिन सक्ने डर हुन्थ्यो।

अगाडिको यात्रु हिँडेको डोबमा पाइला राख्दै हिँड्दा सूर्याेदयपछि वरिपरि क्रमशः फैलिरहेको प्रकाशले वातावरण उल्लासमय बनाइरहेको थियो। केही ठाउँमा कम हिउँ वा गेग्रानयुक्त माटो भए पनि अधिकांश मार्ग प्रशस्तै हिउँले ढाकिएको थियो। देब्रेतर्फका पहाड पूरै हिउँले ढाकिएका थिए भने दाहिनेतर्फका पहाडमा आंशिक रुपमा मात्र हिउँ थियो।

उकालो त्यसमा पनि हिउँ नै हिउँको साम्राज्यमा हिँड्दा थकान बढ्थ्यो। केही पलका लागि उभिएर लामो सास लिनुपथ्र्यो। साथमा विदेशी यात्रु पनि थिए। हिउँमा हिँड्दा आउने क्र्याम क्र्याम आवाज, हावा लागेका कारण नाकमुखलगायत सबै शरीर ढाक्नुपर्नै, हिउँ टल्केर आँखा तिरमिर हुने भएकाले कालो चस्मा लगाउनुपर्ने, फोटो खिच्न पन्जा फुकाल्दा महसुस भएको चिसो लगायतका क्षण वास्तवमै सम्झनायोग्य छन्।

बिहानी घामको प्रकाश पहाडका हिउँले ढाकिएको चुचुरोमा पोखिँदा र सेतो हिउँले तलदेखि माथिसम्मै ढाक्दाको क्षणले साँच्चिकै कलात्मक विम्बको सिर्जना गरेको देखियो। यस्तै सौन्दर्यका कारण अन्नपूर्ण पदयात्रा मार्गको यो क्षेत्र विश्वमै उत्कृष्ट गन्त्व्य बनेको आभास भयो।

डा. उमेश खनाल, डा. प्रेम बसेल, डा. गेहराज दाहाल र म बिहान ८ः२५ बजे ५४१६ मिटर उचाइको थोराङलाको शिरमा पुग्दा ज्यादै आनन्दित भयौँ। समूहका बाँकी साथीहरू डा. पदमराज पन्त,  कालीप्रसाद रोयसारा, सुनिल पोखरेल, डा. सुशील पौडेल र डा. गोपाल सेढाई हामीभन्दा करिब पाँच सात मिनटअगाडि नै थोराङलाको मुख्य विन्दुलाई स्पर्श गर्न सफल भएकोमा खुसी भयौँ। उहाँहरू छिटोछिटो गरी त्यहाँबाट मुक्तिनाथतिर ओर्लनुभयो।

मुख्य उद्देश्य प्राप्तिको क्षणमा समूहका सबै सदस्यहरूसँगै रही कम्तीमा सामूहिक फोटो खिच्ने कार्य हुन नपाउँदा केही खल्लो महसुस भयो। तापनि समूहका सबै सदस्यको ६ दिनदेखिको धैर्य र मेहनतको फल प्राप्त गर्न सकिएकाले हामी सन्तुष्ट भयौँ। हामी त्यहाँ पुग्दा अन्य विदेशी स्वदेशी यात्रुहरू पनि त्यहाँ रमाइरहेका थिए। दुईजना यात्रुहरू त घोडामा चढेर पनि त्यहाँ पुगेको देख्दा उक्त ठाउँको आकर्षण उजागर भएको देखियो।

८:४० मा त्यस उचाइमा पुग्न सकेको ठूलो उत्साहलाई स्मृतिमा राखेर मुक्तिनाथतर्फ ओर्लन सुरु गर्‍यौँ। हिउँको मात्रा कम हुन थालेपछि क्र्याम्पु झिकेर झोलामा राख्यौँ। मनाङबाट मुस्ताङतिर लाग्दा क्षिजितमा बादलभन्दा माथि हाँसिरहेका मुस्ताङका हिमालले हामीलाई स्वागत गरिरहेका थिए। हिउँको मात्रा कम भए तापनि बाटोको केही स्थानमा झोलामा राखिएको क्र्याम्पु पुनः झिकेर लगाउनुपर्‍यो।  धेरै दिनदेखि सञ्चारविहीन भएका हाम्रा मोबाइल एकाएक बज्न थाले। हामीले हाम्रो उपलब्धिलाई आफ्ना प्रियजनसँग साट्ने अवसरलाई राम्रै सदुपयोग गर्‍यौँ।

सुनिल पोखरेल हामीलाई पर्खिपर्खी हिँड्दै हुनुहुँदो रहेछ। केही अगाडि थोराङ पासको मुख्य विन्दुमा पुग्न लाग्दा उहाँ र डा. सुशील पौडेललाई केही शारीरिक असहजता महसुस भएछ। सोही कारण उहाँहरू छिटोछिटो तलतिर झर्नुभएको रहेछ।

ठाडो भिरालो मार्ग रहेकोले हिउँ नभए पनि माटो र गेग्रानयुक्त धरातल थियो। सावधानीपूर्वक हिँड्दै गर्दा मेरो अगाडि अलि हतारमा पाइला लम्काएका एकजना विदेशी देबै्रतिर रहेको हिउँले ढाकिएको भिरमा चिप्लेर लडिहाले। उनका सहयोगीले बल्लतल्ल लठ्ठीको सहाराले उनलाई माथि ताने। बायाँतर्फको पहाडमा अनवरत हिउँ थियो भने दायाँतर्फ रहेको पहाडमा तुलनात्मक रुपमा हिउँ नभएको देखियो। हाम्रो गन्तव्य मुक्तिनाथ थियो।

एक बजे ४२०० मिटरमा अवस्थित थोराङ फेदीमा रहेको होटलमा पुगेर खाना खायौँ। डा. सुशील पौडेलले त्यहाँबाट माथिल्लो मुस्ताङ जान एउटा साधनको व्यवस्था गर्नुभयो। चामेदेखि साथ दिने सहयोगी भाइहरूलाई तोकिएको पारिश्रामिक उपलब्ध गरायौँ। हामीलाई वहानले कुरेर बस्ने भएकाले त्यहाँबाट मुक्तिनाथतर्फ हिँड्न थाल्यौँ।

ठाडो भिरको हिँडाइ सकिएपछि तेर्साे बाटो आयो। मुक्तिनाथ खोलाको पुलमा रहेको झोलुंगेपुलबाट खोलातिर हेर्दा पानी बग्ने भागमा हिउँ जमेको थियो। मनाङदेखि हिउँसँग नजिक भएर आइरहेका हामीले त्यहाँ पुगेपछि हिउँलाई बाइबाई गर्‍यौँ।

हामी ४ बजे मुक्तिनाथ मन्दिरमा पुग्यौँ। मन्दिरमा श्रद्धालुको घुइँचो थियो। धेरै मात्रामा भारतीय तीर्थयात्री थिए। हिँडेर आएका कारण पसिनाले भिजेका थियौँ। मन्दिरभित्र रहेको एक सय आठ धारामा बगेको पवित्र पानी देखेपछि हामीलाई शीतल महसुस भयो। केही धाराको पानीले सिञ्चित गरी मुक्तिनाथको दर्शन गर्यौँ। अनि लामो सिँढी झर्न थाल्यौँ। सिँढीमा भगवान्‌को नाम लिई माग्न बसेका जोगीहरू धेरै संख्यामा देखियो। केही व्यक्तिहरू सिँढीमा टाउको समाएर उभिएका थिए। अक्सिजनको मात्रा नपुगेपछि उनीहरू ओइलाएका थिए।

३७१० मिटरको उचाइमा शरीरले स्थान विशेष अनुकूलता स्वीकार्न नसक्दा लेक लाग्ने समस्याले सताउँछ। उलिनकाठमा बोकिएर र घोडा चढेर मन्दिर पुग्ने श्रद्धालुको चाहनाले स्थानीय तहमा रोजगार सिर्जना गरेको छ। मन्दिर वरिपरि खुलेका खाने बस्ने तथा सामग्रीको व्यापारले आर्थिक पक्षलाई चलायमान बनाएको देखियो।

मुक्तिनाथभन्दा केही तल हामीलाई एउटा जिप कुरिरहेको थियो। हाम्रा झोल जिपको छानोमा राख्यौँ। हाम्रो यात्रामा सहयोग गरेका भाइहरूलाई हार्दिकतापूर्वक बिदाइ गरी पदयात्राको क्रमलाई त्यहीँ बिसायौँ। सोही जिप लिएर हामी उपल्लो मुस्ताङको लोमान्थाङतर्फ लाग्यौँ।

सबै तस्बिरहरू लेखक

हिमालपारिको जिल्लामा रमाउँदा-१


प्रतिक्रिया

2 thoughts on “मनाङ यात्रामा मिलेको अलौकिक आनन्द

  1. What a detailed and clear description of the trekking. The writer seems a human made for ‘ Himalayan Trek’. When I was reading, I was in those picks. Amazing writing.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =