
काठमाडौँ- प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ। मंगलबार सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबी गर्दै रिट दर्ता गरिएको हो।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रतिनिधिसभा विघटनविरुद्धसहित तीनवटा रिट परेका छन्। तीमध्ये एउटा रिटमा सरकारलाई असंवैधानिक ठहर गर्न माग गरिएको छ भने बाँकी दुई रिटमा प्रतिनिधिसभा विघटन बदर गर्न माग गरिएको छ। ‘रिट अध्ययनको क्रममा छन्। अध्ययन पूरा भएपछि आवश्यक प्रक्रिया अघि बढाइनेछ,’ प्रवक्ता कोइरालाले भने।
गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा सर्वोच्च अदालतको भवन पूर्णरूपमा जलेपछि अदालतले केही समयदेखि नयाँ मुद्दा दर्ता लिएको थिएन।
मुद्दा दर्ता प्रक्रिया पुनः सुरु गर्ने निर्णयसँगै मंगलबारदेखि सर्वोच्चले नयाँ मुद्दा लिन सुरु गरेको हो। पुनः सञ्चालनको पहिलो दिनकै रूपमा प्रतिनिधिसभा विघटनविरुद्ध रिट दर्ता भएको हो।
जेनजी प्रदर्शनपछि भदौ २७ गते सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको थियो। प्रधानमन्त्री कार्कीकै सिफारिसमा सोही रात राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका थिए।