
काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि) का नाममा रहेको हजारौं रोपनी जग्गा कीर्तिपुरभित्र र बाहिर दुवै स्थानमा विभिन्न संघसंस्था, निकाय र व्यक्तिहरूले अनधिकृत रूपमा कब्जा गरेको तथ्य फेला परेको छ।
त्रिविका जग्गा खोजबिन समितिले कीर्तिपुर बाहेक काठमाडौँ उपत्यका र बाहिरका विभिन्न ठाउँमा पनि विश्वविद्यालयको स्वामित्वमा जग्गा रहेको तर त्यसबारे थप अनुसन्धान गर्न बाँकी रहेको निष्कर्ष निकालेको छ।
समितिले काठमाडौँ महानगरपालिका वडा नम्बर ११ (साविक वडा नं. १) मा कित्ता नं. ४०२ को १० रोपनी १३ आना ३ पैसा, र वडा नं. १ को कित्ता नं. १२७० को ७ रोपनी ५ आना क्षेत्रफलका सरकारी क्वार्टरसहितका जग्गा त्रिविलाई हस्तान्तरण गरिएको तर पछि नेपाल राष्ट्रिय पुस्तकालयको भवनका लागि उपलब्ध गराइएको जनाएको छ।
ललितकला क्याम्पसले प्रयोग गर्दै आएको वडा नं. २३ को कि.नं. ३४८ को ०–४–१ क्षेत्रफल जग्गा, स्वयम्भूस्थित विज्ञान संग्रहालयको २१.१ रोपनी र सिन्धुपाल्चोकको साँगाचोकगढीमा रहेको ४–१४–१–१ क्षेत्रफलको जग्गा समेत त्रिविको नाममा रहेको समितिले पत्ता लगाएको छ।
शिक्षा मन्त्रालयले आइतबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार कीर्तिपुर परिसरभित्रका ५०/५० रोपनीभन्दा बढी क्षेत्रफलमध्ये करिब ८४३ रोपनी विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले कब्जा गरी उपयोग गर्दै आएका छन्।
महेन्द्रकुमार थापा, जानकी बल्लभ अधिकारी, प्रेमसागर चापागाई र सुशीला अधिकारी सदस्य रहेको समितिले तयार पारेको प्रतिवेदन गत माघ १४ मा बुझाइएको भए पनि तत्कालीन केपी शर्मा ओली सरकारले गोप्य राखेको थियो जुन अहिले मात्र सार्वजनिक भएको हो।
प्रतिवेदनले गणतन्त्र स्मारकका लागि ६० रोपनी, बीपी प्लानेटोरियम र अब्जरभेटोरीका लागि १६० रोपनी, कृषि बागबानी केन्द्रका लागि २८१ रोपनी, आयुर्वेद अनुसन्धान केन्द्रका लागि २५ रोपनी र खानेपानी व्यवस्थापन बोर्डका लागि १०७ रोपनीजति जग्गा सरकारको अनुरोधमा उपलब्ध गराइएको उल्लेख गरेको छ।
तर यिनै निर्णयहरूका बाहेक केही संघसंस्थाले त्रिविको अनुमति बिना नै जग्गा कब्जा गरेको भेटिएको छ। राधास्वामी सत्संग व्यास नेपालले २०४७ सालदेखि १५ रोपनी जग्गा अनधिकृत रूपमा प्रयोग गर्दै आएको र लेबोरेटरी माध्यमिक विद्यालयले कीर्तिपुर वडा नं. १० को कि.नं. ३४ मा १०८ रोपनीभन्दा बढी कब्जा गरेको उल्लेख छ।
नेपाल क्रिकेट संघसँग दुई पटकको सम्झौतामा ७६ रोपनी भाडामा दिइएको र नेत्रज्योति संघलाई १० रोपनी २० वर्षका लागि उपलब्ध गराइएको छ। नेपाल बैंक लिमिटेडले भने २०२६ सालमा स्वीकृति लिएर भवन निर्माण गरी उपभोगमा ल्याएको देखिन्छ।
खोजबिन समितिको प्रतिवेदनले कीर्तिपुर नगरपालिकाको संलग्नतामा करिब १ सय रोपनी त्रिविको जग्गा बसपार्क, खेलमैदान, फोहर संकलन स्थल र अन्य संरचना निर्माणका लागि प्रयोग गरिएको उल्लेख गरेको छ।
नयाँबजार नजिकै त्रिविको एक रोपनी जग्गामा सार्वजनिक शौचालय निर्माण गरिएको र दक्षिणपट्टीका क्षेत्रमा सटर, कार्यालय, पर्यटन सूचना केन्द्र, माइक्रोबस पार्किङ र डम्पिङ साइट निर्माण गरी भाडामा लगाइएको प्रतिवेदनमा भनिएको छ।
त्रिविका कर्मचारी क्वार्टर कब्जा गरी मोटरसाइकल वर्कशप सञ्चालन गरिएको, पछि त्यसलाई फोहर संकलन केन्द्रमा परिवर्तन गरिएको उजुरीसमेत समितिलाई प्राप्त भएको छ।
एग्रो एण्ड बायोलोजी राष्ट्रिय प्रयोगशाला परिसरभित्र करिब १० रोपनी त्रिविको जग्गा स्थानीय ठेकेदार कविन्द्र महर्जनले २०७३ सालदेखि ढुंगा, गिट्टी र बालुवा थुपार्ने डिपोका रूपमा प्रयोग गर्दै आएको प्रतिवेदनमा उल्लेख छ।
त्रिविको उपकुलपति, रजिष्ट्रार र रेक्टर कार्यालयदेखि एक किलोमिटर पनि नपर्ने दूरीमा रहेको सो अतिक्रमणमा विश्वविद्यालय प्रशासन र प्रहरी दुवैले बेवास्ता गरेको समितिको टिप्पणी छ। डिपोका कारण प्रयोगशालाको भवन सञ्चालनमा ल्याउन नसकिएको, आवतजावत र खानेपानी पाइपलाइनसम्म अवरुद्ध भएको उल्लेख गरिएको छ।
प्रतिवेदन