
काठमाडौँ- भाटभटेनी सुपरमार्केटले हिमालयन बैंक र नेपालपे (एनसीएचएल) को सहकार्यमा यस वर्षको दसैँलाई लक्षित गर्दै ‘डिजिटल दसैँ अफर’ सार्वजनिक गरेको छ।
योजनाअन्तर्गत असोज ६ गतेदेखि पुस १७ गतेसम्म भाटभटेनीको प्रत्येक आउटलेटमा नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्ने ग्राहकलाई एक–एकवटा स्कुटर जित्ने अवसर प्राप्त हुनेछ।
त्यस्तै असोज ६ गतेदेखि फागुन ३० गतेसम्म नेपाल पे क्युआरमार्फत भुक्तानी गर्ने सबै ग्राहकलाई बम्पर अफरअन्तर्गत एउटा कार जित्ने मौका मिल्ने जनाइएको छ।
भाटभटेनीले हिमालयन बैंक र एनसीएचएलको सहकार्यमा विजेताहरूको चयन लक्की ड्रमार्फत गर्नेछ।
यो अफरले दसैँको किनमेललाई थप लाभदायक र आकर्षक बनाउने भाटभटेनीले विश्वास लिएको छ। हाल नेपाल पे नेटवर्कमा ५२ वटा बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङ एप, डिजिटल वालेट र भुक्तानी प्रणालीहरू जोडिएका छन्, जसमार्फत १० लाखभन्दा बढी व्यापारी आवद्ध भइसकेका छन्।
देशभर २७ भन्दा बढी शाखा रहेको भाटभटेनी सुपरमार्केट दैनिक उपभोग्य सामग्रीदेखि कपडा, इलेक्ट्रोनिक्सलगायतका सम्पूर्ण वस्तु एक छानामुनि उपलब्ध गराउने देशकै ठूलो रिटेल चेन स्टोर मानिन्छ।
हिमालयन बैंक, नेपाल पे नेटवर्कमा सबैभन्दा धेरै कारोबार गर्ने बैंकका रूपमा परिचित छन्। यो बैंकले ८ हजार ५ सयभन्दा बढी पीओएस मेसिन र २८६ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ।