राजस्व छलीमा पुनः दोषी ठहर भयो भाटभटेनी

हिमाल प्रेस १६ माघ २०८० २१:१९
52
SHARES
राजस्व छलीमा पुनः दोषी ठहर भयो भाटभटेनी चितवनस्थित भाटभटेनी सुपर मार्केट।

काठमाडौँ- सर्वोच्च अदालतले नक्कली भ्याट बिल प्रयोग गरी राजस्व ठगी गरेको अभियोगमा भाटभटेनी सुपर मार्केट तथा डिपार्टमेन्टल स्टोरलाई पुनः दोषी ठहर गरेको छ।

न्यायाधीशहरू कुमार चुडाल, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकालको पूर्ण इजलासले आज (मंगलबार) नक्कली भ्याट बिल जारी गर्दै भाटभटेनीले सरकारलाई बुझाउनुपर्ने राजस्व ठगी गरेको विषयमा यसअघि सर्वोच्च अदालतबाट गरेको आदेश सदर गर्ने फैसला गरेको हो।

उक्त प्रकरणमा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले २०७६ पुस २६ गते फैसला गर्दै भाटभटेनीलाई दोषी ठहर गरेको थियो। उक्त फैसलाविरुद्ध पुनरावलोकन निवेदन दायर भएको थियो। पुनरावलोकनको सुनुवाइपछि पुनः अदालतले दोषी ठहर गरेको हो।

अदालतको फैसलापछि भाटभटेनीले सरकारलाई करिब १३ करोड नक्कली भ्याट बिलमार्फत राजस्व ठगी गरेको ठहर भएको हो। भाटभटेनीले एक वर्षमै ३ करोड ८५ लाख बराबरको नक्कली भ्याट बिल जारी गरेर राजस्व ठगी गरेको अदालतले ठहर गरेको छ।

अदालतले यसअघिको फैसलामा भाटभटेनी सुपर मार्केट एण्ड डिमार्टमेन्टल स्टोर, अरुण इन्टरकन्टिनेन्टल, शंकर ग्यास, महेश बानियाँ र आइएटी प्रालिलाई दोषी ठहर गरेर बिगो भराउने फैसला गरेको थियो। सर्वोच्चले भाटभटेनीका नाममा जरिबाना अनि सञ्चालक मीनबहादुर गुरुङसहितलाई सजाय सुनाएको थियो।

भाटभटेनीले अदालतमा पुनरावलोकनको मुद्दा दर्ता गराएर राजस्व तिर्न अस्वीकार गरेको गरेको भए पनि अदालतको फैसलासँगै राजस्व ब्याज र जरिबानासहित बुझाउनुपर्नेछ।

प्रकाशित: १६ माघ २०८० २१:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =