भारत–भुटानबीच पहिलो सीमापार रेल परियोजना, चार वर्षमै सम्पन्न हुने

हिमाल प्रेस १४ असोज २०८२ १४:२४ | Tuesday, September 30, 2025
भारत–भुटानबीच पहिलो सीमापार रेल परियोजना, चार वर्षमै सम्पन्न हुने

काठमाडौँ– भारत र भुटानले पहिलोपटक दुवै देशलाई जोड्ने सीमापार रेलमार्ग निर्माण गर्ने सहमति गरेका छन्।

करिब ४५ करोड ४० लाख डलर बराबरको यो विशाल परियोजना चार वर्षभित्र सम्पन्न हुने घोषणा भारत सरकारले गरेको छ।

भारतीय विदेश सचिव विक्रम मिसरीले भुटानको मुख्य व्यापारिक साझेदार भारतले हिमाली छिमेकी मुलुकको पूर्वाधार र अर्थतन्त्रको आधुनिकीकरणमा ‘महत्त्वपूर्ण योगदान’ दिइरहेको बताए।

भारतका रेलमन्त्री अश्विनी वैष्णवले यो रेलमार्गले ‘भुटानका जनताका लागि ठुलो लाभ पुर्‍याउने’ भन्दै सम्पूर्ण क्षेत्र जोडिने र अहिले लामो समय लाग्ने गरेको आवागमन केही घण्टामै सम्पन्न हुने आशा व्यक्त गरे।

प्रारम्भिक ६९ किलोमिटर रेलमार्गले करिब ३४ अर्ब ५६ करोड अर्ब भारतीय रुपैयाँ (३९ करोड डलर) लागतमा भारतको उत्तरपूर्वी सहर कोक्राझारलाई भुटानको सीमा नजिकै अवस्थित १० हजार जनसंख्या भएको सहर गेलेफूसँग जोड्नेछ।

यस्तै, अनुमानित पाँच अर्ब ७७ करोड रुपैयाँ खर्च हुने दोस्रो २० किलोमिटर रेलमार्गले भुटानको उत्तरपश्चिमी औद्योगिक केन्द्र सामत्सेलाई पूर्वी भारतको बानरहाटसँग जोड्नेछ।

आठ लाखभन्दा कम जनसंख्या भएको सानो र भूपरिवेष्टित भुटान चीन र भारतबीच अवस्थित छ। विकासभन्दा ‘ग्रस नेसनल ह्याप्पीनेस’ (सामूहिक राष्ट्रिय खुशी) लाई प्राथमिकता दिने नीतिका लागि परिचित यस मुलुकले हाल विदेशी लगानी र पर्यटकलाई आकर्षित गर्न गेलेफुलाई आर्थिक क्षेत्रका रूपमा विकास गर्ने योजना अघि सारेको छ।

‘यो रेलमार्गले भुटानलाई दक्षिण एसिया र दक्षिणपूर्व एसियासँग जोड्ने आर्थिक केन्द्रका रूपमा स्थापित गर्नेछ,’ विदेश सचिव मिसरीले भने।

रेलमन्त्री वैष्णवले नयाँ रेललाइनहरू पूर्ण विद्युतीय हुने र सकेसम्म वातावरणमैत्री ढंगले निर्माण गरिने जानकारी दिए।-रासस

प्रकाशित: १४ असोज २०८२ १४:२४ | Tuesday, September 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast