
काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको बालकोटस्थित आफ्नो घरको अवलोकन गरेकी छन् ।
शनिबार शाक्यले नयाँ पुस्तालाई यो घर संग्रहालयको रूपमा छोडेर जाने विचार भए पनि अब खरानी छोडेर जानुपरेको बताइन् ।
जलेका पुस्तकका खरानीको टीका लगाउँदै आफूले यहाँ पुस्तकहरू जतन गरेर राख्ने गरेको,अध्यक्ष ओलीलाई देश विदेशबाट दिइएका सम्मानपत्र तथा बहुमल्य वस्तुहरू समेत संग्रहालयको रूपमा सजाएर राखिएको बताइन् ।
‘मलाई यो घर व्यवस्थापन गर्न छ महिना लागेको थियो, उनले भनिन्, ‘एउटा कोठामा स्वदेशबाट प्राप्त सम्मान पत्र तथा मायाको चिनो र अर्को कोठामा चाइना, कम्बोडिया,भारत, भियतनाम,जापानलगायत देशका प्रधानमन्त्रीहरूले दिएका अमूल्य सामानहरू दराजहरूमा थिए।’
शाक्यले आगलागी भएको घरका विभिन्न कोठामा के-के सामानहरू थिए भनेर सम्झना पनि गरिन्। ‘यति मेरो पसिना र श्रम परेको छ नि’, भावुक हुँदै शाक्यले भनिन्, ‘बालुवाटार हुँदा पनि म साता-दश दिनमा यहाँ आएर सामान मिलाउने र सफाइ गर्ने काम गर्थें।’
शाक्यले घर फेरि बनाउन सकिए पनि इतिहास फेरि बनाउन नसकिने बताइन्।जेनजी आन्दोलनका बालकोटस्थित अध्यक्ष ओलीका दुवै घर खरानी भएर जलेका थिए ।