
काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सिंहदरबारस्थित आफ्नो भवन क्षतिग्रस्त भएर अवरुद्ध भएका सेवाहरू पुनः सुरु गरेको छ। मन्त्रालयका अनुसार मंगलबारदेखि मन्त्रालयको सेवा अस्थायी रूपमा केशर पुस्तकालय (साविक शिक्षा मन्त्रालय, केशरमहल) भवनबाट प्रवाह भएको हो।
मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘सिंहदरबार परिसरमा रहेको मन्त्रालय भवन मर्मतसम्भार तथा सरसफाई कार्य सम्पन्न नभएसम्मका लागि केशर पुस्तकालय भवनबाट सेवा सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ।’
यससँगै, सानोठिमीस्थित वैदेशिक अध्ययन अनुमति शाखा, शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखा र छात्रवृत्ति शाखाबाट प्रदान हुँदै आएका सेवाहरू भने पूर्ववत् स्थानमै निरन्तर जारी रहने मन्त्रालयले जनाएको छ।
गत भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलका क्रममा अराजक समूहले सिंहदरबारमा आगजनी गर्दा शिक्षा मन्त्रालय भवनमा समेत क्षति पुगेको छ।