
काठमाडौँका सडक क्रान्तिको छापले अंकित भएका छन्। प्रमुख दलका नेताहरूका घर लुटिएका छन्। केही नेताका घरमा खरानी मात्रै छरपस्ट देखिन्छ। सार्वजनिक भवनमा लगाइएका आगोका कारण आसपासका क्षेत्रमा दुर्गन्ध फैलाएको छ। ढिलोसम्म परेको मनसुनी वर्षाले रगतका टाटाहरू पखालिरहेको छ। प्रहरीको पछिल्लो विवरणअनुसार आन्दोलनमा देशभर मृत्यु हुनेको संख्या कम्तीमा ७२ पुगेको छ भने करिब १४ सय जना घाइते भएका छन्।
गत साता काठमाडौँमा जलाइएको संसद् भवनको मार्बलको भित्तामा कालो मार्करले गरिएको एउटा लेखोटले यस क्षणलाई समेट्छ, ‘अबदेखि यहाँ केवल जेन जेडका युवामात्र हुनेछन्। भ्रष्ट नेताहरूलाई देशबाट निकालिनेछ। नेपाल जिन्दाबाद! जेन जेड युवा जिन्दाबाद!’
नेपालमा भएको यस्तो प्रदर्शनलाई ‘जेनजी आन्दोलन’ भनिएको छ। जेनजी भनेको सामान्यतया सन् १९९७ देखि २०१२ बीच जन्मिएका युवा हुन्। आन्दोलनमा तिनै युवा सहभागी थिए। कतिपय त विद्यालयको पोसाकमै थिए। उनीहरू स्वस्फूर्त रूपमा वृद्ध भइसकेका र भ्रष्ट राजनीतिक नेतृत्वविरुद्ध सडकमा उत्रिएका हुन्। भदौ २३ र २४ गते दुई दिनसम्म विनाशकारी प्रदर्शनपछि प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भए।
प्रदर्शन सरकारद्वारा प्रमुख सामाजिक सञ्जाल प्लेटफर्महरूमा लगाइएको प्रतिबन्धका कारण थालिएको थियो। तर बिस्तारै त्यो प्रदर्शन लामो समयदेखि सत्तामा रहेका नेताहरू र कुशासनविरुद्ध केन्द्रित भयो। साथै तिनका परिवारलाई भ्रष्टका रूपमा हेर्ने जनभावना आन्दोलनमा समेटियो। परिणामस्वरूप दुई दिनको सडक संघर्षले दुई प्रमुख दल नेकपा एमाले र नेपाली कांग्रेस सम्मिलित लोकतान्त्रिक सरकार ढालिदियो।
‘हामी त केवल भ्रष्टाचारविरुद्ध विद्रोह गर्न त्यहाँ गएका थियौँ’, २४ वर्षीया कानुनकी विद्यार्थी अञ्जली शाह भन्छिन्, ‘हामीलाई लाग्यो, उनीहरूले हामीलाई अनलाइनमा रोके पनि हामी सडकमा उत्रिएर सरकारविरुद्ध प्रदर्शन गर्न सक्छौँ। हामीले तिरेका कर कहाँ खर्च भइरहेका छन्? सार्वजनिक कर्मचारीले तलबकै भरमा विलासी जीवनशैली कसरी बिताइरहेका छन्? यी प्रश्नको जबाफ माग्दै हामी संघर्षमा उत्रिएका थियौँ।’ उनी आफ्नै अगाडि केही सहप्रदर्शनकारी प्रहरीको गोली लागेको बताउँछिन्। काठमाडौँका सडक प्रदर्शनमा सहभागी युवा धेरै कम उमेरका थिए।
नेपालमा उमेरले सात दशक नाघेका केपी शर्मा ओली पुस्ताका वृद्ध नेताहरू राजनीतिमा सक्रिय छन्। केही गर्छु भनेर महत्त्वाकांक्षा राख्ने युवा प्राय: बेरोजगार छन्। उनीहरू परम्परागत राजनीति दलका नेताको कार्यशैली र अवसरको अभावबाट दिक्क छन्। यही कारण सल्किएको आन्दोलनको झिल्कोले धेरै ठाउँमा आगजनी मात्रै गरेन सत्ता नै उलटपुलट पारिदियो।
नेपालको पछिल्लो राजनीतिक घटना उदाहरण मात्र हो। यसमा छिमेकी केही देशको प्रभाव सीधै परेको देखिन्छ। सन् २०२२ मा श्रीलंकामा गम्भीर आर्थिक संकटका बीच दसौँ हजार प्रदर्शनकारीहरू सडकमा उत्रिए। जसमा धेरै युवा सहभागी थिए। उनीहरूले राजधानी कोलम्बोमा जम्मा भई राष्ट्रपति भवन कब्जा गरे। तत्कालीन राष्ट्रपति ७६ वर्षीय गोतबाया राजपाक्षे सैन्य विमानमार्फत माल्दिभ्स भागेका थिए।

त्यसको दुई वर्षपछि बंगलादेशमा ढाका विश्वविद्यालयका विद्यार्थीले विशाल जनआन्दोलन गरे। परिणामस्वरूप ७७ वर्षीया ‘अधिनायकवादी’ सेख हसिनालाई भारत भाग्न बाध्य पार्यो। गत साता नेपालका प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट हेलिकप्टरमा भागेर सैन्य सुरक्षामा अज्ञात स्थलमा सीमित हुन परेको छ।
इन्डोनेसिया पछिल्लो महिनामा अर्को लक्ष्य बन्ने सम्भावना देखिएको थियो। व्यापक आर्थिक मन्दीका बेला सांसदहरूले आफूलाई महिनामा तीन हजार डलरको विलासी आवास भत्ता दिने निर्णय गरे। जुन रकम राजधानी जकार्ताको न्यूनतम ज्यालाभन्दा १० गुणा बढी हो। सांसदरूको त्यो निर्णयको विरोधमा विद्यार्थीहरू सडकमा उत्रिए। ७३ वर्षीय राष्ट्रपति प्रबोवो सुबियान्तोले संसद् सदस्यहरूको विशेष सुविधा खारेज गरे। राष्ट्रपति तत्काल मन्त्रिपरिषद् पुनर्गठन गर्न बाध्य भए।
यी सबै विद्रोहका साझा विशेषता वृद्ध र लामो समयदेखि जरा गाडेर बसेका राजनीतिक नेतृत्वहरू हुन्। एसियाका विकासशील अर्थतन्त्रका युवाले आर्थिक वृद्धिको लाभ राजनीतिक र सामाजिक अभिजात वर्गमा फर्किरहेको देखिरहेका छन्। उनीहरूको आफ्नो जीवनमा भने सुधार आउन सकेको छैन। यी देशमा युवा बेरोजगारी दर उच्च छ। भ्रष्टाचारले जरा गाडेको छ। यद्यपि हरेक प्रदर्शन अनौठो र विशेष हुन्छ, केही विशेषज्ञहरू यी आन्दोलनहरू आपसमा सम्बन्धित रहेको पनि बताउँछन्।
‘यस क्षेत्रभरि जेनजी युवाहरू हामी परिवर्तन चाहन्छौँ भनेर राजनीतिक नेताहरूलाई खबरदारी गरिरहेका छन्। यी युवा नेताप्रति उही सम्मानजनक दृष्टिकोण राख्दैनन्, जुन वृद्ध पुस्ताले राख्थे’, ढाकास्थित बंगलादेश इन्स्टिच्युट अफ पिस एन्ड सेक्युरिटी स्टडिजका वरिष्ठ फेलो सफकत मुनिर भन्छन्, ‘आजका जेन जेड युवाहरू दृष्टिकोणमा धेरै विश्वव्यापी छन्, उनीहरूले अन्य देशमा के भयो भन्ने देख्छन्। इन्टरनेट उनीहरूका लागि सञ्चारको माध्यम मात्र होइन, उनीहरूको जीवनको रक्तसञ्चारजस्तै भएको छ, त्यो नभएमा आगो फैलाउनु स्वाभाविक हो।’
फेरि नेपालकै कुरा गरौँ, सामाजिक सञ्जालमा प्रतिबन्ध लाग्नु केही हप्ताअघि इन्स्टाग्राम र टिकटकमा #NepoKid र #NepoBabies जस्ता ह्यासट्यागसहित ‘अपलोड’ गरिएका भिडियोमा नेताका सन्तानले उपभोग गर्ने महँगा कार, ह्यान्डब्याग र विलासीपूर्ण जीवनका विविध पक्ष समेटिएका थिए। राजनीतिक नेतृत्वको परिवारका सदस्यहरूको त्यस्ता विलासी जीवनशैलीका तस्बिरहरूले युवाहरू भित्रभित्रै आगोझैँ भएका थिए। उनीहरूले सामाजिक सञ्जालमा पनि त्यसको विरोध गरेकै हुन्। ‘जनतासँग नुन छैन तर तपाईँले सुनचाँदीका प्लेटमा खानुपर्छ’, लेखिएको एउटा इन्स्टाग्राम पोस्टमा केही वरिष्ठ नेपाली नेताका सन्तानहरू स्याम्पेन पिइरहेको देखाइएको छ।

कानुनकी विद्यार्थी शाह भन्छिन्, ‘यो आन्दोलनको थालनी नेपोकिड्सबाट भयो। नेताहरूका सन्तानले विलासी जीवनशैली बिताइरहेको आफ्नो सामाजिक सञ्जालमा देखाइरहेका थिए। हामीचाहिँ सुरक्षित पिउने पानीको अभाव, बेरोजगारी र अवसरको कमीको संघर्ष गरिरहेका छौँ। यहाँ तिनै नेता भ्रष्टाचारमा लिप्त छन्।’
नेपालमा पछिल्लो पटक भएको यस्तो आन्दोलन जसले क्रान्तिकारी परिवर्तन ल्यायो। २०६२/०६३ सालमा भएको विद्रोहले २३९ वर्ष पुरानो राजतन्त्र अन्त्य गर्न मार्गप्रशस्त गरेको थियो। गणतान्त्रिक युग आए पनि देशमा स्थिरता ल्याउन सकेन। त्यसपछि दशकभन्दा बढी अवधिमा दर्जनौँ सरकार बने र त्यस्तै धेरै राजनीतिक पात्रहरू अझै सक्रिय छन्। जसमा चारपटकका प्रधानमन्त्री केपी शर्मा ओली पनि पनि एक हुन्। उनीबाट सुधारको आशा कुल्चिएको देखेर हुर्किएको नयाँ पुस्ता निराश भएपछि बाध्य भएर सडकमा उत्रिएका हुन्।
‘राज्य सामान्य नागरिकका चासोप्रति असंवेदनशील रहिरह्यो र प्रधानमन्त्री तथा राजनीतिक अभिजात वर्गले आफूहरू नयाँ राजाजस्तै व्यवहार गर्न थाले। उनीहरूमा कसैले चुनौती दिन सक्दैन भन्ने सोच बढ्दै गयो’, काठमाडौँका एकजना लेखक अमिशराज मुल्मी भन्छन्, ‘अहिले नेपालमा त्यही निराशा र क्रोध फुटेको हो। बंगलादेश, श्रीलंका र इन्डोनेसियामा जस्तै नेपालमा पनि नेताहरूप्रति युवाहरूको असन्तोष व्यापक छ।’
बंगलादेशमा सार्वजनिक सेवामा रोजगारी कोटा प्रणालीविरुद्ध प्रदर्शन भएको थियो। त्यो निर्णय तत्कालीन सत्तारूढ अवामी लिग पार्टीका लागि लाभदायी ठानिएको थियो। तर त्यसले धेरै जनतालाई समेट्न नसक्ने भएपछि विद्रोहको आगो बलेको थियो।
बंगलादेशको नेसनल सिटिजन पार्टीका नेता नाहिद इस्लामका अनुसार यो एक अधिनायकवादी राजनीतिक समझदारी थियो। उनले भने, ‘देशमा गहिरो भ्रष्टाचार भइरहेको थियो जसले जनताको सेवामा नभई शासनको विश्वासपात्र र सत्तारूढ वंशलाई मात्र सेवा पुर्याउँथ्यो।’ इस्लामको पार्टीको उदय गत वर्ष ‘मनसुन क्रान्ति’ नेतृत्व गरेका विद्यार्थी समूहबाट भएको थियो।

बंगलादेशमा पनि नेपालजस्तै घटना भएको हो। जसरी नेपालमा ओलीको अहंकारले जनता आक्रोशित भए त्यसैगरी बंगलादेशमा सरकारी अधिकारीहरूको कडा प्रतिक्रियाले परिस्थिति झन् उग्र बनायो। सरकारी सुरक्षाकर्मीरूले प्रदर्शनलाई हिंस्रक रूपमा दमन गरे। विद्यार्थीको भीडमा गोली चलाए। बंगलादेशको अवस्था यस्तो थियो कि सरकारी दमनमा कम्तीमा १४ सय जनाको मृत्यु हुँदा पनि प्रदर्शनकारीहरू सडकमा उत्रिरहेका थिए।
इन्डोनेसियामा आन्दोलन थालनी हुनुको कारण प्रहरीको गाडीले २१ वर्षीय मोटरसाइकल चालकलाई ठक्कर दिएर हत्या गर्नु हो। ती युवा जकार्तामा एक कुनै सामान ‘डेलिभरी’ गर्दै थिए। इन्डोनेसियास्थित परामर्शदातृ संस्था कन्ट्रोल रिस्का सहनिर्देशक अहमद सुकरसो भन्छन्, ‘ती युवकको मृत्यु आगोमा घिउ खन्याएजस्तो भयो किनभने यो घटना धनी र सशक्तले कमजोर र गरिबमाथि कस्तो व्यवहार गरिरहेका छन् भन्ने प्रतीक बन्न पुग्यो।’
नेपालमा जस्तै इन्डोनेसियाका सांसदहरूको विलासी जीवन बिताउन खोज्ने निर्णय, सरकारी अधिकारीसँग सम्बन्धित भ्रष्टाचारका काण्डहरू र सामाजिक सञ्जालमा अभिजात वर्गको स्थिति देखाउने जस्ता गतिविधिले नागरिक आक्रोश चरम सीमा पुर्याएको थियो।
संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार दक्षिण र दक्षिणपूर्व एसियाका देशमा औसतभन्दा बढी युवा वर्ग छन्। उदाहरणका लागि सन् २०२३ को एक तथ्यांकअनुसार नेपालमा १५ देखि २४ वर्षका जनसंख्या देशको कुल जनसंख्याको पाँचौँ श्रेणीमा छ।
युवा जनसंख्या आर्थिक लाभको स्रोत हुनुपर्छ। अनिमात्रै नवप्रवर्तन, प्राविधिक दक्षता, नयाँ विचार र ऊर्जाशील श्रमशक्ति ल्याउँछ। एसियाका केही भागमा अपेक्षित जनसांख्यिक लाभ देखिँदैन। पर्याप्त रोजगारी सिर्जना नहुँदा सम्भावित उत्पादक श्रमशक्ति समेट्न सकिएको छैन।
वैदेशिक रोजगार विभागका विवरणअनुसार नेपालबाट बर्सनि करिब सात लाख नेपाली राम्रो भविष्यको खोजीमा देश छोडिरहेका छन्। अधिकांशको प्रमुख गन्तव्य खाडीका देशहरू छन्। विश्व बैंकका अनुसार विदेशमा काम गर्ने कामदारले पठाउने रेमिट्यान्स नेपालको आर्थिक वृद्धिको प्रमुख हिस्सा हो। यसरी टिकेको अर्थतन्त्रले स्वदेशमै गुणस्तरीय रोजगारी सिर्जना गर्न सकेको छैन। अनि स्वदेशमा अवसरको अभाव हुँदा धेरै नेपाली निरन्तर वैदेशिक रोजगारीमा जान बाध्य छन् ।
अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार बंगलादेश, इन्डोनेसिया र नेपालमा ८० प्रतिशतभन्दा बढी श्रमशक्ति अनौपचारिक रोजगारीमा संलग्न छन्। युवा बेरोजगारी दर उच्च छ। गत वर्ष श्रीलंकामा १५-२४ वर्षका व्यक्तिहरूमा बेरोजगारी दर करिब २२ प्रतिशत थियो भने नेपालमा २१ प्रतिशत थियो।

‘एसियाका केही भागका युवाको असन्तोष मुख्यतया शासकको भ्रष्ट र अधिनायकवादी चरित्रका कारण हो। यसमा सामाजिक-आर्थिक निराशा पनि उत्तिकै छ,’ पेरिसस्थित साइन्स पोका दक्षिण एसिया विशेषज्ञ क्रिस्टोफ जाफ्रेलोट भन्छन्, ‘सबै ठाउँमा धनी र बेरोजगार गरिब मध्यमवर्गीय युवाबीच असमानता बढ्दै गएको छ।’
तर त्यस्ता युवा अब एउटा शक्तिका रूपमा उदाएका छन्। बंगलादेशका युवाले नेसनल सिटिजन पार्टीको स्थापना गरे, जसले आउँदो वर्षको निर्वाचनमा भाग लिनेछ। निर्वाचित भए देशका लागि नयाँ लोकतान्त्रिक संविधान तयार गर्ने प्रतिबद्धता त्यो दलको छ। श्रीलंकामा गत वर्षको राष्ट्रपति निर्वाचनमा युवामत निर्णायक साबित भयो। अनुराकुमार दिसानायकलाई आश्चर्यजनक रूपमा जित दिलायो। ५६ वर्षीय दिसानायकले भ्रष्टाचार अन्त्य गर्ने र देशका अभिजात वर्गका विशेष सुविधा हटाउने बाचा गरेका थिए।
त्यसैले जेनजीबीचको साझा सम्बन्ध एउटा उमेर समूह र असन्तोषमा निहित छ। युवाहरू कतै न कतै हाम्रा छिमेकीको प्रभावमा पनि परेका छन्।
नेपालमा जेनजी समूहका युवाले आन्दोलनमार्फत पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्वमा पुर्याएका छन्। उनी भ्रष्टाचारमा नमुछिएकी व्यक्तिका रूपमा चिनिन्छन्। राष्ट्रपतिले संसद् विघटन गरेका छन् भने फागुन २१ गतेका लागि नयाँ निर्वाचन मिति घोषणा गरिएको छ। प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्न थालेकी छन्।
अहिले काठमाडौँका सडक शान्त छन्। सरकारी भवनका सामान जलेर नष्ट भएका छन्। सरकारी कार्यालयमा कारका अवशेष देखिन्छन्।
‘जेनजीबीचको साझा सम्बन्ध हाम्रो उमेर समूह र असन्तोषमा निहित छ। हामी भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्न र नेताहरूबाट जवाफदेही र पारदर्शिता माग गर्न सडकमा उत्रियौँ,’ अर्का जेनजी प्रदर्शनकारी यतिष ओझा भन्छन्, ‘हामी कतै न कतै छिमेकी श्रीलंका र बंगलादेशको प्रभावमा पनि परेका छौँ।’
२५ वर्षीय ओझा नसोचेको परिवर्तन ल्याइदिएको स्वीकार गर्छन्। उनी भन्छन्, ‘दुई दिनभित्र सम्पूर्ण राजनीतिक व्यवस्था उल्टाउँछौँ भनेर हामीले सोचेकै थिएनौँ।’