
काठमाडौँ- सरकारले चाडपर्वलक्षित देशका १५३ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्ने भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट टे«डिङ कर्पोरेसनमार्फत आजदेखि देशभरका १५३ स्थानमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्न लागेको हो।
खाद्य कम्पनी र कर्पोरेसनले सहुलियत मूल्यमा सामान बिक्री गरे बराबरको शोधभर्ना सरकारबाट भुक्तानी दाबी गर्न सक्ने छन्। कम्पनीले उपत्यकामा देशका ४५ जिल्लाको १११ स्थानमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउन लागेको हो । कम्पनीका सहुलियत मूल्य पसलबाट प्रतिकेजी/प्रतिलिटरमा पाँचदेखि १० रुपियाँसम्म छुट हुने जनाइएको छ।
कम्पनीका अनुसार दाल, चामल, गेडागुडी कर्णालीका रैथाने उत्पादन, तेलसहितका खाद्यवस्तुु बिक्री सुरु गर्ने छ। विभिन्न प्रकारका चामल र दालमा प्रतिकेजी पाँच रुपियाँ छुटको व्यवस्था गरेको छ। यस्तै विभिन्न प्रकारका तेल, गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाँटीमा प्रतिकेजी सात रुपियाँ तथा कर्णालीका विभिन्न गेडागुडी, फापर, चिनो, कागुनोलगायतमा पनि प्रतिकेजी१० रुपियाँ छुट हुने छ।
काठमाडौँ उपत्यका थापाथली, रामशाहपथ, नक्खु र सूर्यविनायक, थापाथली, दक्षिणकाली, गोदावरी र चाँगुनारायण नगरपालिका, घुम्तीसेवासहित ४५ जिल्लाका १११ स्थानमा कम्पनीका बिक्री कक्ष राखिने छन्।
कम्पनीका प्रमुुख कार्यकारी अधिकृत रमेश आचार्यले दसैँतिहार, छठ र मागीसम्मका दैनिक उपभोग्य वस्तुको माग अत्यधिक हुने गरेको तर बजार मूल्य अस्वाभाविक रूपमा बढ्न सक्ने अवस्था रहेकाले सहुलियत मूल्य सञ्चालन गरेको जानकारी दिए। उनका अनुसार कम्पनीले अनलाइन अर्डरमार्फत होमडेलिभरीको व्यवस्था गरिएको छ ।
खाद्य कम्पनीले चाडपर्वका बेलामा दुई करोड ५२ लाख रुपियाँ बराबरको खाद्यमा सहुलियत दिएमा सरकारबाट शोधभर्ना पाउन सक्ने छ । साल्ट टे«डिङ कर्पोरेसनले उपत्यकासहित देशभर ४२ स्थानमा सुुपथ मूल्य सञ्चालन गर्ने छ।
उपत्यकामा ११ स्थान र तीन मोबाइल भ्यानसहित गरी १४ स्थानमा पसल चल्ने छन् । कर्पोरेसनले चिनी प्रतिकेजी पाँच रुपियाँ, नुन प्रतिकेजी दुुई रुपियाँ, खानेतेल, चामल, चिउरा र पिठोलगायतमा प्रतिकेजी सात रुपियाँका दरले छुुट दिने जनाएको छ।
कर्पोरेसनका अनुसार काठमाडौँ उपत्यकामा केन्द्रीय कार्यालय कालीमाटी, सतुंगल, ललितपुर, बालाजु, गौशाला, कपन, कौशलटार, भक्तपुर, कोटेश्वर, जाउलाखेल, स्वम्यभुका बिक्री केन्द्रबाट ती वस्तु छुटमा उपलब्ध गराउँदै छ।
त्योबाहेक माग आएका ठाउँमा तीन वटा मोबाइल भ्यानमार्फत पनि ती वस्तु उपलब्ध गराउने कर्पोरेसनका प्रवक्ता कुमार राजभण्डारीले जानकारी दिए। उनका अनुसार उपत्यकाबाहिरका २२ जिल्लामा रहेका बिक्री केन्द्र र विभिन्न पालिकाबाट आएका मागका आधारमा पनि सेवा दिन सकिने गरी तयारी छ।
कर्पोरेसनका सहुलियत मूल्य पसलबाट प्रतिव्यक्ति छ केजीसम्म नुुन, दुुई केजी चिनी र त्यही परिणाममा खानेतेल, चामल, दाल र चिउरा उपलब्ध गराइने छ। दुग्ध विकास संस्थान (डीडीसी) ले चाडपर्वमा के कति सहुलियत दिने भन्ने विषयमा निर्णय भइनसकेको जानकारी गराएको छ।
डिडिसीले पनि विगतका वर्षदेखि नै पनिर, घिउलगायतमा विशेष छुट दिने गरेको थियो।