फिल्मको व्यस्तताले रंगमञ्च बिर्सेका यी रंगकर्मी

हिमाल प्रेस २२ भदौ २०८२ १५:४२
4
SHARES
फिल्मको व्यस्तताले रंगमञ्च बिर्सेका यी रंगकर्मी

काठमाडौँ- रंगमञ्चमार्फत फिल्ममा उदाएका अधिकांश कलाकार अहिले रजतपटमा अग्रपङ्क्तिमा छन्।

अनुप बराल, सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की, खगेन्द्र लामिछाने, मेनुका प्रधान, लक्ष्मी बर्देवा, विजय बराल, रवीन्द्र सिंह बानियाँ, कमलमणि नेपाल, महेश त्रिपाठी, बुद्धि तामाङ, लगायत रंगकर्म हुँदै फिल्ममा स्थापित भएका कलाकार हुन्।

उनीहरूलाई रंगमञ्चमा नदेखिएको वर्षौं भइसकेको छ। नयाँ पुस्ताले उनीहरूलाई रंगकर्मी नभई फिल्मकर्मीका रूपमा चिन्न थालिसकेका छन्।

फिल्ममा स्थापित भएका रंगकर्मी रंगमञ्चमा फर्किन किन कठिन भइरहेको हो र? यो अहम् प्रश्नले स्वयं रंगकर्मीलाई पिरोलेको बताउँछन्।

रंगकर्मलाई पनि निरन्तरता दिन अभिनेता दयाहाङ राईले केही रंगकर्मीसँगको सहकार्यमा मण्डला नाटकघर नै स्थापना गरे। नाटकघरको स्तरोन्नतिका लागि उनले लगानी गरेका छन् तर आफू रंमञ्चमा प्रस्तुत भएका छैनन्। समय नमिलेर नाटक नखेलेको उनको स्पष्टोक्ति छ।

फिल्मको छायांकन सकेर हरेक साँझ नाटक गर्न आइपुग्दा एक दिन उनी बिरामी नै परे। ‘मैले सोफाको सहारामा नाटक सके। मञ्चको लाइट निभ्ने बित्तिकै मलाई साथीभाइले मण्डला नाटकघरको माथिल्लो तल्लामा लगेर उपचार गराउनुभयो। त्यसैले अहिले म झैँ धेरै साथीहरू मञ्च अगाडिभन्दा पनि निर्देशन, निर्माणलगायत काममा हुनहुन्छ जस्तो लाग्छ’, अभिनेता राईले भने।

लेखिएको भूमिकालाई न्याय गर्ने कलाकारको खोजीमा प्रायः लेखक र निर्देशक रंगमञ्चमा धाउने गरेका छन्। अहिले सानो भूमिकादेखि शीर्ष भूमिकासम्म उनीहरूको उपस्थिति छ। फिल्मको व्यस्तताले उनीहरूलाई नाटकमा फर्किन सहजता भएको छैन। कतिपय अवस्थामा कलामाथि व्यापार पनि हाबी भएको रंगकर्मीहरूको भनाइ छ।

आर्थिक पक्षलाई सबल बनाउन भए पनि रंगकर्मी फिल्ममा काम गर्ने क्रम बढेको छ। रंगमञ्चमार्फत कलाकारिता सुरु गरेका अनुहार फिल्ममा मात्र देखिनु दुःखद नै हो।

रंगकर्मी कुनै न कुनै भूमिकामा रंगमञ्चसँग जोडी रहनुपर्ने धारणा रंगकर्मी आशान्त शर्माको छ। उनी फिल्ममा काम गरेता पनि प्राथमिकतामा रंगमञ्च नै राख्ने बताउँछन्। नाटक लेख्ने र निर्देशन गर्ने अनुभवी रंगकर्मीको अभाव हुँदै गएकाले पनि स्थापित अनुहार कम देखिएको हुन सक्ने उनको विश्लेषण छ।

‘स्थापित अनुहारले विश्वास गर्न सक्ने निर्देशक र लेखिएका नाटकमा पनि कमी आएको जस्तो मलाई लागेको छ। म आफैँ पनि सीमित नामभन्दा अन्यसँग काम गर्न तयार हुन धेरै समय लिन्छु, उनले भने, ‘आफूले काम नगरिसकेका निर्देशकले के कस्ता काम गर्लान्? भन्ने डर मनमा हुन्छ नै। तर, स्थापित रंगकर्मीले नाटक लेखेर, निर्माण गरेर भए पनि रंगमञ्चसँग जोडिनु पर्छ।’

गत वर्ष प्रदर्शन भएको ‘पूर्णबहादुरको सारङ्गी’ सर्वकालीन सफल फिल्म बनिसकेको छ। फिलमको शीर्ष भूमिकामा देखिएका अभिनेता विजय बराल पनि कुशल रंगकर्मीका रूपमा अपरिचित छन्। उनी वर्षमा केही समय नाटकलाई नै छुट्याएर काम गर्ने सोचमा रहेको बताउँछन्।

फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ प्रदर्शन भइरहँदा नै मैले ‘हरि हजुरबा’ नाटक गरे,’ उनले भने, ‘रंगमञ्चले हाम्रो अभिनयलाई भड्किन दिँदैन भने हाम्रो सफलतालाई पनि ‘ह्यान्डल’ गर्न सिकाउँछ। यसकारण म रंगमञ्चलाई समय नै छुट्याएर फिल्ममा काम गर्ने योजना बनेको छु।’

रंगमञ्चले नै पहिचान स्थापित गरेका रंगकर्मी नाटकमा फर्किन नसक्नु दुःखद नै हो। कलाकार र दर्शकबीचको सिधा सम्पर्क र तत्काल पाइने प्रतिक्रिया रंगमञ्चको विशेषता हो। रंगमञ्च अहिले पनि अभिनय सिक्ने मञ्च बनेको छ। रासस

प्रकाशित: २२ भदौ २०८२ १५:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast