रंगकर्मीको उत्साहले टिकेको रंगमञ्च

संगीता श्रेष्ठ २७ जेठ २०८० १०:४९
48
SHARES
रंगकर्मीको उत्साहले टिकेको रंगमञ्च नाटक 'पल्पसा क्याफे' मा कलाकार।

‘नेपालमा नाटक हेर्ने कल्चर बढेको छ’, रंगकर्ममा चासो राख्ने अधिकांशको भनाइ हो यो। रंगकर्मीहरू भने यसमा सहमत छैनन्। उनीहरूको एउटै स्वर छ- ‘नाटकको क्रेज बढेको हो, कल्चर होइन।’

रंगकर्मीको यो भनाइ पुष्टि हुन्छ, ‘तपाईंको सहयोग नै मेरो उज्ज्वल भविष्य हो’ भन्ने वाक्यले।  आफ्नो उज्ज्वल भविष्यका निम्ति चिन्तित केही युवा कलाकारद्वारा यो पंक्ति रचिएको हो। नाटक क्षेत्रमा केही गर्न चाहने ती युवा हुन्, ओजस थिएटरका कलाकार।

काठमाडौँ, रातोपुलमा रहेको ओजस थिएटरमा वैशाख २० देखि जेठ १५ सम्म नाटक ‘मृत्यु दण्ड’ मञ्चन भयो। त्यसकै प्रचारप्रसारमा हिँडेका केही युवा रंगकर्मी ‘तपाईंको सहयोग नै मेरो उज्ज्वल भविष्य हो’ लेखेको टिकट बेच्दै हिँडेका थिए।

नाटक हेर्नु संस्कृति बनिसकेको हो भने टिकट बेच्दै हिँड्नुपर्ने किन? ‘मान्छेहरूले नाटक संस्कृति बढ्यो भन्छन्, नाटक हेर्ने कल्चर होइन, क्रेज बढेको छ,’ कीर्तिपुरस्थित थिएटर मलका रंगकर्मी केदार श्रेष्ठ भन्छन्, ‘हाम्रोमा नाटक हेर्नु संस्कृतिको हिस्सा बनिसकेको छैन।’

कुनै नाटकले मनग्गे दर्शक पाउँछ। टिकट नपाएर दर्शक थिएटरबाट फर्किनुपर्ने हुन्छ। नाटकका सो नै केही दिन थप्नुपर्ने अवस्था आउँछ। केही नाटकलाई चाहिँ लगानी उठाउन पनि हम्मेहम्मे पर्छ। ‘साँच्चिकै संस्कृति बनेको हो भने त सबै नाटकले उत्तिकै दर्शक पाउनुपर्ने होइन र?’ रंगकर्मी श्रेष्ठ भन्छन्, ‘कुनै नाटकमा थिएटर भरिने र कुनैले लगानी पनि उठाउन नसक्ने हुन्छ त! ‘कल्चर’ जीवनव्यवहार, जीवनशैलीसँग जोडिएको हुन्छ। अनि ‘क्रेज’ क्षणिक हुन्छ। नेपालमा भएको त्यही हो।’

मण्डला थिएटर नेपालकी अध्यक्ष सिर्जना लिम्बू (सुब्बा) पछिल्लो समय नाटक हेर्ने दर्शक बढेको बताउँछिन्। ‘रंगमञ्च र रंगकर्मीलाई सम्मान गर्नेहरू बढेका छन्,’ उनी भन्छिन्, ‘संस्कृतिकै रूप नलिए पनि रंगमञ्चलाई माया गर्नेहरू छैनन् भन्न मिल्दैन।’

अहिले ‘क्रेज’का रूपमा देखिए पनि बिस्तारै यसले ‘कल्चर’को रूप लिइरहेको रंगकर्मी लिम्बूको विश्वास छ। भन्छिन्, ‘मान्छेहरूको लगाव नाटकप्रति निकै बढेको छ। यसलाई क्रेजमात्र भन्न मिल्दैन। अभिभावकले छोराछोरीलाई थिएटरमा ल्याएर नाटक देखाउन थालेका छन्।’

शिल्पी थिएटरका संस्थापक तथा आर्टिस्ट डिरेक्टर घिमिरे युवराज राम्रो नाटकले जहिल्यै दर्शक पाउने बताउँछन्। ‘कल्चर भने पनि क्रेज भने पनि राम्रो नाटकले सधैँ दर्शक पाएको छ,’ उनी भन्छन्।

एउटै नाटक महिनौँसम्म थिएटरमा लागिरहने, अनि त्यसले दर्शक पाइरहने कुरा अन्य दक्षिण एसियाली मुलुकमा विरलै देखिने उनको भनाइ छ। ‘नेपालमा कुनैकुनै नाटक महिना दिनसम्म पनि मञ्चन हुन्छ,’ उनी भन्छन्, ‘सहरमा एकैचोटि दुई÷तीन नाटक मञ्चन हुन्छन्। यस्तो दक्षिण एसियाका अरू देशमा दुर्लभ देखिन्छ।’

कुनै नाटकले धेरै दर्शक पाउँछन् र कुनैले कम किन?

जवाफमा युवराज भन्छन्, ‘दर्शकलाई फिल्म मन पर्‍यो भने हल हाउसफुल हुन्छ, कुनै फिल्म दर्शकै नपाएर हलबाट उत्रिन्छ। कुनै गीत सुपरहिट हुन्छ। कुनै गीत आए-गएको पत्तै पाइँदैन। नाटकमा पनि त्यस्तै हो।’

कथा, निर्देशन, अभिनय, कलाकारलगायत कुराले नाटकको गुणस्तर निर्धारित गर्ने उनी बताउँछन्। ‘नाम कमाएको सफल निर्देशक वा कलाकार नाटकमा छन् भने पनि दर्शक आउँछन्,’ उनी भन्छन्, ‘तीबाहेक कथा, अभिनयमा कत्तिको मेहनत गरिएको छ? कस्तो काम भएको छ? जस्ता कुराले पनि दर्शकलाई नाटकघरसम्म तान्छ।’

नाटक राम्रो वा नराम्रो कुरा दर्शकमा भर पर्ने मण्डलाकी अध्यक्ष लिम्बू बताउँछिन्। ‘प्रत्येक नाटक आफैँमा राम्रो हो, हरेक नाटकका लागि रंगकर्मीले त्यति नै मेहनत गर्छन्,’ उनी भन्छिन्, ‘तर दर्शकलाई नाटक मन पर्‍यो भने त्यसलाई राम्रो भनिन्छ, मन परेन भने नराम्रो। नाटक राम्रो वा नराम्रो दर्शकमा भर पर्छ।’

नाटक ‘विमोक्ष’ मा कलाकार।

विगतको तुलनामा साल २०७९ नाटकका लागि अलि बढी फलदायी रह्यो। कोभिड-१९ महामारीका कारण दुई वर्ष रंगमञ्च थलिएको थियो। उपत्यकाका नाटकघरहरूमा एकपछि अर्को गर्दै पर्याप्त नाटक मञ्चन भए।

यसो हुनुको कारण खुलाउँदै शिल्पी थिएटरका घिमिरे युवराज भन्छन्, ‘कोरोनाकालमा थिएटर बन्द थिए। नाटक मञ्चन हुन पाएनन्। लकडाउनमा पनि रंगकर्मीले पहिलेदेखि गरिरहेको वा नयाँ कामका लागि तयारी भने गरिरहे। महामारी सकिएलगत्तै त्यसैले धेरै काम खुल्यो।’

महामारीमा अरू क्षेत्रजस्तै रंगमञ्च पनि प्रभावित भएको उनी स्वीकार्छन्। ‘आर्थिक रूपमा रंगमञ्च मारमा परेकै हो,’ उनी भन्छन्। २०७६ मा कोरोना भाइरसको महामारी फैलिएपछि नेपाल सरकारले २०७६ चैत ११ मा लकडाउन घोषणा गर्‍यो। संक्रमण फैलिने त्रासले सिनेमा हल, क्लब, पार्टी प्यालेस, जिमलगायत सामाजिक र सांस्कृतिक स्थल बन्द भए।

रंगमञ्च चिन्दैन सरकार!

सरकारले मनोरञ्जनका सबै ठाउँ मेट्दा रंगमञ्चलाई नसमेटेको गुनासो रंगकर्मी केदार श्रेष्ठको छ। ‘मनोरञ्जनका सबै क्षेत्रलाई समेट्दा रंगमञ्चलाई छुटाइयो,’ उनी भन्छन्, ‘यसको अर्थ राज्यले रंगमञ्चलाई गनेकै छैन।’

धेरैले ‘महामारीमा रंगमञ्च सुस्तायो’ भनिरहँदा रंगमञ्च कोरानाकालमा होइन पहिलेदेखि नै महामारीमा रहेको उनको ठम्याइ छ। ‘रंगमञ्च कोरोनाअघि नै महामारीमा थियो,’ उनी भन्छन्, ‘त्यो बेला प्रस्ट भएको मात्रै हो।’

महामारीले पछारिएको रंगमञ्चलाई जुरुक्क उठाउन रंगकर्मी लागिपरे। ‘त्यसैले पनि रंगकर्मी ‘एग्रेसिभ’ भएर लाग्नैपर्ने भयो,’ रंगकर्मी घिमिरे युवराज भन्छन्, ‘फलस्वरूप २०७९ मा धेरै नाटक मञ्चन भए। तिनले रंगमञ्चलाई टेको लगाए।’

नाटक ‘याैटा सपनाको अवसान’ मा कलाकार।

मण्डलाकी अध्यक्ष लिम्बू नेपाली रंगमञ्चलाई रंगकर्मीको ‘प्यासन’ले जोगाएको बताउँछिन्। ‘नेपाली रंगकर्मी पैसाका लागि नाटक गरिरहेका होइनन्,’ उनी भन्छिन्, ‘उनीहरूका निम्ति रंगमञ्च आफ्नो कला देखाउने ठाउँ हो। उनीहरू जुनुनले काम गरिरहेका छन्।’

पैसा कमाउन रंगकर्मीहरूले अरू ‘स्पेस’ प्रयोग गरिरहेको उनको भनाइ छ। ‘जीविकोपार्जनका निम्ति उनीहरूले फिल्म, विज्ञापनलगायत अरू ठाउँ प्रयोग गरिरहेका छन्,’ उनी भन्छिन्, ‘रंगमञ्चमा त आत्मसन्तुष्टिका लागि हुन्।’

रंगकर्मी लिम्बूको विचारसँग सहमत छन्, रंगकर्मी घिमिरे युवराज। उनी पनि नेपाली रंगमञ्च रंगकर्मीहरूको उत्साहले टिकेको बताउँछन्। ‘कुनै फिल्म एकपटक बनायो भने सकियो तर नाटकमा नियमित मेहनत गर्नुपर्छ,’ उनी भन्छन्, ‘चुनौती त्यस्तै छन्। रंगकर्मीको उत्साहले टिकेको छ रंगमञ्च। यसलाई टिकाउने मेरुदण्ड छैन। बेस लाइन कमजोर छ।’

राज्यले यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ। ‘समाजमा रंगमञ्च हुनुपर्छ, नाटक मञ्चन गरिनुपर्छ भन्ने कुरा राज्यले मनन गर्नुपर्छ,’ उनी भन्छन्, ‘यही पारा हो भने अबको पाँच वर्ष, दस वर्ष रंगमञ्च ‘बुम’ हुन सक्छ तर त्यसपछि के त? रंगमञ्चमा रंगकर्मीलाई टिकाउन राज्यले हेर्नुपर्छ।’

आर्थिक रूपमा नयाँ कलाकारलाई रंगकर्ममा टिक्न झनै गाह्रो भएको ओजस थिएटरका सुवास राई बताउँछन्। ‘रंगमञ्चलाई समय दिनुपर्छ, नयाँ कलाकारले सुरुमा अरू काम गर्न भ्याउँदैनन्,’ उनी भन्छन्, ‘उनीहरू पूर्ण रूपले रंगमञ्चमा निर्भर हुन्छन्। नाटकले दर्शक नपाउँदा कलाकारले आर्थिक रूपमा समस्या भोग्नुपर्छ।’

रंगकर्मी केदार श्रेष्ठ रंगमञ्चमात्र गरेर काठमाडौँमा बस्न गाह्रो हुने बताउँछन्। ‘नेपालमा रंगमञ्च व्यावसायिक भइसकेको छैन,’ उनी भन्छन्, ‘यो त रंगकर्मीका लगाव, मेहनत, समयको लगानीले चलिरहेको छ। रंगकर्म व्यापार हुन सक्दैन तर व्यावसायिकचाहिँ हुनुपर्छ।’ उहिल्यैको ‘नाटक हेर्न आउनुस् है’ भन्ने अवस्थामा परिवर्तन भए पनि रंगमञ्चको कायापलट नभएको रंगकर्मी लिम्बू पनि स्वीकार्छिन्।

०००

लेखक नारायण वाग्लेको ‘पल्पसा क्याफे’ सबैभन्दा बढी दर्शक पाउने नाटक बनेको छ। मण्डला थिएटरमा नाटक हेर्नेको घुइँचो लाग्यो। त्यस्तै पारिजात लिखित ‘शिरीषको फूल’ ले पनि त्यस्तै दर्शक पायो। थिएटर मलमा मञ्चन भएको सो नाटक दर्शकले निकै रुचाए। कनकमणि दीक्षितको ‘धुमधामको घुमघाम’, नयनराज पाण्डेको ‘उलार’, बुद्धिसागरको उपन्यास ‘फिरफिरे’, बसन्त बस्नेतको ‘महाभारा’माथि नाटक बने। अनि मञ्चन भए। चर्चित पनि।

कृति चर्चित छ भने नाटकले पनि चर्चा पाउने रंगकर्मी घिमिरे युवराज बताउँछन्। ‘कुनै कृति चर्चित छ भने त्यसमा बनेको नाटकले पनि उत्तिकै चर्चा पाउँछ,’ उनी भन्छन्।
त्यस्तै, ‘मितज्यू’, ‘चोरको स्वर, ‘कथा कस्तुरी’, ‘ऐया माया’, ‘इनसाइड आउटसाइड’, खुवालुङ’, ‘यौटा सपनाको अवसान’, ‘कुभिन्डोको कथा’, ‘जून’, ‘सुनकेशरी’, ‘ककन हरलता’, ‘सिटामोल’, ‘हिउँको पृथ्वी यात्रा’, ‘सपना अनेक अनेक’, ‘हरेक बबाल कुरा,’ ‘ढल्केको सालैज्यू’, ‘खुवालुङ’, ‘मार्क्स  फर्किए’, ‘ट्रान्जिट’, ‘चे इज ब्याक’, ‘विमोक्ष’, ‘च्यातिएको पर्दा’, ‘मृत्यु कुण्ड’, ‘त्रयम्’ लगायत नाटक राजधानीका विभिन्न नाटकघरमा मञ्चन भए।

नाटक ‘खुवालुङ’मा कलाकार।

रंगमञ्चले २०८० मा थप गति लिने देखिन्छ। पछिल्लो समय रंगमञ्चमा देखिएको उपलब्धि प्रशंसनीय रहेको रंगकर्मीहरू बताउँछन्। ‘नाटकमा अहिलेसम्म जेजस्तो उपलब्धि प्राप्त भएको छ त्यसलाई जोगाउन सक्नुपर्छ,’ रंगकर्मी राई भन्छन्, ‘सबै मिलेर जोगाउनुपर्छ।’

सुस्ताएको नाटक क्षेत्र यसै अघि बढिरहेको होइन। त्यसमा रंगकर्मीको दिनरातको मेहनत छ। वरिष्ठदेखि भर्खरै भित्रिएका नयाँ कलाकार रगतपसिना एक गरी लागिपरेका छन्। भोकप्यास नभनी नाटकमा प्राण भरिरहेका छन्। देशभर रहेका थिएटरमा वर्षभरि नाटक मञ्चन भए।

रंगकर्मीले नाटकमात्र देखाएनन्, नाटक महोत्सव पनि आयोजना गरे। नाटक संस्कृति बढाउन बालनाटक महोत्सवदेखि अन्तर्राष्ट्रिय नाट्य महोत्सव आयोजना गरिए।

गत मंसिरमा मण्डला थिएटर नेपालले ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट)’ आयोजना गरेको थियो। एक सातासम्म चलेको महोत्सव काठमाडौँ, थापागाउँस्थित मण्डला थिएटरमा भएको थियो। जसमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, अमेरिका, उरुग्वे, कम्बोडिया र अर्जेन्टिनाका नाट्य समूह सहभागी थिए।

‘सामाजिक रूपान्तरणको लागि रंगमञ्च : विविधिताको उत्सव’ भन्ने नाराका साथ आयोजित महोत्सवमा नाटक मञ्चनसँगै विभिन्न तालिम, सेमिनार, कार्यशाला पनि भएका थिए। महोत्सव उद्घाटन कार्यक्रममा भारतीय अभिनेत्री शबाना आजमी विशेष अतिथिका रूपमा आएकी थिइन्। विश्वभरिबाट दुई सयभन्दा बढी रंगकर्मीको सहभागिता रहेको महोत्सवमा शबानाको ‘मास्टरक्लास’ रहेको थियो।

त्यस्तै, बालबालिका लागि गत फागुनमा शैली थिएटर र रुसी सांस्कृतिक केन्द्रको आयोजनामा ‘राष्ट्रिय बालनाटक महोत्सव’ भएको थियो। १४ औँ संस्करणको महोत्सवमा मञ्चन भएका नाटकको कथावस्तु बालबालिकासँग सम्बन्धित थियो।

माघमा इलाममा चुलाचुली रंगमञ्चले ‘चुलाचुली पाठशाला नाट्य उत्सव’ आयोजना गरेको थियो। दुईदिने नाट्य उत्सव ‘विश्वव्यापीकरणमा ग्रामीण सौन्दर्यको खोजी’ नाराका साथ इलामको चुलाचुली-३ स्थित शिवओरक मिलनपोखरी वनमा गरिएको थियो। जसमा प्रकृति र पर्यावरणसँग सम्बन्धित नाटक देखाइएका थिए। उत्सवमा विभिन्न विद्यालयका विद्यार्थी सहभागी थिए।

गत फागुनमै परिवर्तन थिएटरले ‘प्रथम मेचीनगरस्तरीय स्कुल नाट्य उत्सव’ गरेको थियो। जसमा मेचीनगर नगरपालिकाका-१० का विद्यालयले नाटक मञ्चन गरेका थिए।
फागुनमै भक्तपुरको लिवालीस्थित आस्था थिएटरमा ‘हृदयचन्द्र नाटक मेला’ गरियो। पाँच दिनसम्म चलेको मेला नाट्यकर्मी समाज नेपाल र आस्था सांस्कृतिक परिवारले संयुक्त रूपमा आयोजना गरेका थिए। मेलामा भक्तपुरका सात विद्यालयका विद्यार्थीको नाटक प्रस्तुति थियो।

प्रकाशित: २७ जेठ २०८० १०:४९

प्रतिक्रिया

One thought on “रंगकर्मीको उत्साहले टिकेको रंगमञ्च

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 4 =