सुदूरपश्चिमको शैलीमा मञ्चनरत नाटक ‘कर्तव्य’

हिमाल प्रेस २२ भदौ २०८२ ११:३०
14
SHARES
सुदूरपश्चिमको शैलीमा मञ्चनरत नाटक ‘कर्तव्य’

काठमाडौँ- कथाकार गुरु प्रसाद मैनालीको कथा ‘कर्तव्य’ मा आधारित नाटक ओजस (शैली) थिएटरमा मञ्चन भइरहेको छ। रातोपुलस्थित मोनस्टर फिल्म एण्ड ओजस (शैली) थिएटरमा भाद्र २१ देखि नाटक मञ्चन भइरहेको थिएटरका व्यवस्थापक सागर कार्कीले जानकारी दिए।

पुरु लम्सालले नाट्य रूपान्तरण गरेको नाटकका निर्देशक पुष्पराज अवस्थी हुन्। नाटकले सुदूरपश्चिमको सांस्कृतिक परिवेशलाई केन्द्रमा राखेर दाजुभाइबीचको भावनात्मक कथा प्रस्तुत गरेको निर्देशक अवस्थीले बताए।

‘नाटकमा भेषभूषा, गीत-संगीत, रीतिरिवाजदेखि बोलीचालीसम्म सुदूरकै शैलीमा उतारिएको छ’, उनले भने, ‘यस नाटकलाई विद्यालयमा पाठ्यपुस्तकमा पढिएको ‘कर्तव्य’सँग जोड्ने प्रयास गरिएको छ।’

निर्देशक अवस्थीका अनुसार नाटकमा रुविन सुनार, प्रदीप विश्वकर्मा, अञ्जना दुलाल, उज्वल साइपोम राई, तृप्ती श्रेष्ठ, प्रशान्त हुमागाईं, सविता तामाङ, सन्तोष ढकाल, अर्जुनहाङ राई, तुलसी राई, मुकेश विश्वकर्मा, अनिश बोगटी, उत्सव कार्की, धिरेन कार्की, रश्मी गुरुङ, हिमा जिसीलगायत कलाकारको अभिनय छ।

नाटक बिहीबार बाहेक साताकाे प्रत्येक दिन यही भदौ ३१ सम्म‍ साँझ ५ः ३० बजे मञ्चन हुनेछ।

करिब १ घण्टा १५ मिनेट नाटक हेर्न टिकट दर रु. ३०० र ५०० तोकिएको छ। विशेष अफरअन्तर्गत दाजुभाइ वा दिदीबहिनी मिलेर नाटक हेर्न आउँने दर्शकलाई एउटै टिकटमा दुबै जनाले प्रवेश पाउने व्यवस्था गरिएको थिएटर व्यवस्थापक कार्कीले बताए। ‘नाटकको कथाअनुसार हामीले दाजुभाइ वा दिदीबहिनीको लागि अफर ल्याएका छौँ। दाजुभाइ वा दिदीबहिनी मिलेर नाटक हेर्न आउँदा एउटै टिकट काट्न सकिन्छ,’ उनले भने, ‘यो सुविधाको लागि दुबै जनाले नागरिकताको फोटो साथमा ल्याउनुपर्नेछ।’

नाटकको मञ्चन व्यवस्थापनमा उज्वल साइपोम राई र सागर कार्की खटिएका छन् भने प्रकाश, संगीत र भेषभूषामा पनि युवा रंगकर्मीहरू छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast