राष्ट्रपतिलाई नेपाल बारको पत्र : संविधानबमोजिम तत्काल सरकार बनाइयोस्

हिमाल प्रेस २६ भदौ २०८२ १६:४५ | Thursday, September 11, 2025
राष्ट्रपतिलाई नेपाल बारको पत्र : संविधानबमोजिम तत्काल सरकार बनाइयोस्

काठमाडौँ- नेपाल बार एशोसिएसनले संवैधानिक भावनाभित्र रहेर संवैधानिक वैधताको निरन्तरता कायम रहने गरी राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनको प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ।

नेपाल बारका अध्यक्ष अधिवक्ता प्रा.डा.विजयप्रसाद मिश्र र महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले पत्र लेखेर राष्ट्रपति पौडेललसँग यस्तो अनुरोध गरेका हुन्।

‘आन्दोलनकारी शक्तिहरूले सरकार परिवर्तनको इच्छा राखेको र अहिले सरकार परिवर्तनको प्रक्रिया प्रारम्भ भइसकेको परिप्रेक्षमा संविधानको धारा ७६, ७७ र ७८ र धारा ६१ को मर्म र भावनाभित्र रहेर संवैधानिक वैधताको निरन्तरता कायम रहने गरी अविलम्ब राष्ट्रिय सरकार गठन गर्न सकिने भएकाले सो बमोजिमको प्रक्रिया शिघ्रताशिघ्र प्रारम्भ गर्न हार्दिक अपिल गर्दछौँ,’ बारको पत्रमा भनिएको छ।

नेपाल बारले अन्तर्राष्ट्रिय सन्धि सम्झौता र लोकतान्त्रिक मूल्यमान्यताविपरितका कुनै पिन प्रक्रिया मान्य नहुने र ति मूल्य मान्यताविपरित कार्य भएमा प्रतिरोध गर्न बाध्य हुने चेतावनीसमेत दिएको छ।

देशमा व्याप्त अनिश्चिततालाई अन्त्य गर्दै शासन व्यवस्थालाई सञ्चालन गर्न र जनतामा विश्वास जगाउनका लागि संविधानको मर्मभित्रै रही संवैधानिक प्रक्रियाबमोजिम यथाशीघ्र सक्षम राष्ट्रिय सरकार तत्काल गठन गर्न नेपाल बारले माग गरेको छ।

नेपाल बारले लोकतन्त्र, गणतन्त्र, संघीयता, समानुपातिक समावेशी र संविधानमा लिपिवद्ध उपलब्धिहरूमाथि कुनै पनि किसिमको सम्झौता नगर्न ध्यानाकर्षण गराएको छ।

प्रकाशित: २६ भदौ २०८२ १६:४५ | Thursday, September 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast