फाइल तस्बिर
काठमाडौँ– पाकिस्तानको दक्षिण पञ्जाबका केही भागहरूमा अत्यधिक वर्षापछि आएको बाढीका कारण करिब २५ लाख मानिसहरू विस्थापित भएका छन्। वर्षाका कारण आएको बाढी, डुबान र पहिरोका कारण कम्तीमा प्रान्तभरी कम्तीमा १०१ जनाको ज्यान गएको पाकिस्तानी अंग्रेजी समाचार दैनिक डनले जनाएको छ। शनिबार अपराह्नदेखि नदीहरूमा पानीको सतह घट्न थालेको छ।
अधिकारीहरूले मुल्तानको जलालपुर, पिरवाला र अलिपुर तहसिललाई वर्षा डुबानका कारण अत्यधिक प्रभावित क्षेत्रका रूपमा घोषणा गरेका छन्। यद्यपि ती क्षेत्रहरूमा पनि वर्षाको प्रभाव रोकिने अनुमान गरिएको छ।
डनले प्रान्तीय प्रकोप व्यवस्थापन प्राधिकरणलाई उद्धृत गर्दै भनेको छ, ‘बाढी, पहिरो र डुबानका कारण विस्थापित हुनेको संख्या हालसालैको स्मृतिमा सबैभन्दा ठूलो देखिएको छ।’
सरकारले व्यापक राहत तथा उद्धार अभियान सञ्चालन गरेको छ, जसमा एक हजार ५०० भन्दा बढी उद्धार डुङ्गाहरू प्रयोग गरिएको छ। चेनाब, रावी र सतलज नदीको तल्लो इलाकाबाट १२ हजार ४२७ जनालाई सुरक्षित स्थानमा सारिएको छ।
मुल्तान, मुजफ्फरगढ र रहिम यार खान जिल्ला सबैभन्दा बढी प्रभावित भएका छन् र हजारौँ मानिसहरूलाई उद्धार गरिएको छ। केही सुधारका बाबजुद पनि मानवीय संकट अझै गम्भीर रहेको बताइएको छ। करिब ४० हजार मानिसको बसोबास रहेको अलिपुर तहसिलको लाटी मारीको युनियन काउन्सिल पुरै डुबानमा परेको छ।
विस्थापितमध्ये अधिकांश अलिपुर सहरमा आफ्ना आफन्तहरूको घरमा बसिरहेका थिए, केही खुला आकाशमा नदी किनारमा बाँधमा बसिरहेका छन् भने केहीलाई सरकारी राहत शिविरमा सारिएको छ। बाढीपछि भाग्न खोज्दा दुई जनाको डुबेर मृत्यु भएको उनले बताए।
मुल्तान प्रहरीका सह आयुक्त वसीम हमिद सिन्धुले भने, ‘तीन दिनमा जलालपुर पिरवालाबाट एक लाख मानिसहरूलाई सुरक्षित स्थनमा लगिएको छ।’
डनका अनुसार २८ जिल्लाका चार हजार ४४७ गाउँ तथा वस्तीहरू डुबानमा परेका छन्। सामूहिक मानवीय विस्थापनको साथसाथै करिब २१ लाख ९० हजार गाईवस्तुहरूलाई पनि उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ।-रासस/एएफपी




