
काठमाडौँ- नोटबुक, पानीको बोतल अनि कलम हातमा बोकेर बिहान १० बजे केशर पुस्तकालय पुगेकी रविना थपलिया दिनभरि किताबसँग रमाउँछन्। उनका लागि पुस्तकालय दिनभरिको घर हो भने किताब साथी। ‘लाइब्रेरीमा बसेर पुस्तकका पानासँग रमाउँदा बाहिरी दुनियाँबाट बेखबर जस्तै हुन्छु,’ थपलिया भन्छिन्।
आइतबार अठारौँ राष्ट्रिय पुस्तकालय दिवसका दिन पनि सधैँ झैँ केशर पुस्तकालय आएका २९ वर्षीया थपलियाले पढेर दिवस मनाएको बताइन्। सोह्रखुट्टेदेखि उनी हिँडेरै ठमेलस्थित केशर पुस्तकालय पुग्छिन्। एक वर्षदेखि यो क्रम निरन्तर चलिरहेको र विस्तारै पुस्तकालयमा रुचि बढ्न थालेको थपलियाले अनुभव बताइन्। यहाँ मात्रै होइन, उनी कहिलेकाहीँ त्रिभुवन विश्वविद्यालयको पुस्तकालयमा त कहिले रत्नपार्कस्थित भारतीय पुस्तकालय पुग्छिन्।
पुस्तकालय नै किन त? जवाफमा थपलिया भन्छिन्, ‘किताब पढ्ने उचित र पवित्रस्थल भनेकै पुस्तकालय हो। शान्त र पठनीय वातावरणमा रमाएर पढ्दाको आनन्द पुस्तकालयमै त पाइन्छ! पुस्तकालयमा पुग्नेबित्तिकै पढ्ने मुड बन्छ। यद्यपि काठमाडौँमा प्रशस्त लाइब्रेसीको अभाव देख्छु।’
बानेश्वरका नारायणप्रसाद उपाध्याय पुस्तकालय धाउन थालेपछि समय व्यवस्थापनमा सचेत हुन थालेको बताउँछन्। लोकसेवाको तयारी गरिरहेका उनले जति सक्दो धेरै पत्रपत्रिका र पुस्तक अध्ययन गर्नुपर्ने भएकाले पुस्तकालय नै उचित स्थान भएको बताए।
खर्च नै नगरी एकैथलोमा धेरैभन्दा धेरै पुस्तक अध्ययन गर्न पाइने हुँदा सहरका विभिन्न पुस्तकालयमा जाने गरेको उपाध्यायको भनाइ छ। उनी भन्छन्, ‘पुस्तकालयभित्रको संसारमा आएपछि अनावश्यक साथीभाइको भीडबाट बचेको छु। धेरै किताब पढेर ज्ञान आर्जन गर्ने अवसर पाएको छु।’
उपाध्यायको अनुभवमा किताब अध्ययन गर्ने र पुस्तकालय बस्ने संस्कार विकास गर्दा ज्ञानको दायरा बढ्नाका साथै समय सदुपयोग पनि हुन्छ।
उनीहरू मात्रै होइन पाठककहरुको पुस्तकालयप्रतिको आकर्षण बढ्दै गएको छ। त्यसैले केशर पुस्तकालयले बिहान ९ देखि बेलुका ६ बजेसम्म पुस्तकालय सञ्चालन गर्ने गरेको पुस्तकालय प्रमुख यादवचन्द्र निरौलाले जानकारी दिए। यति मात्रै नभएर शनिबार र सार्वजनिक बिदामा समेत पुस्तकालय खुला गर्ने गरिएको उनले बताए।
‘काठमाडौँ जस्तो व्यस्त सहरमा जागिर गरेर फुर्सदमा अध्ययन गर्ने पाठकहरू पनि छन्। उहाँहरूको सुविधाका लागि शनिबार र सार्वजनिक बिदामा पुस्तकालय खुला गर्न थालिएको हो,’ निरौलाले भने, ‘हाल पुस्तकालयमा आएर घण्टौँ बिताउने पाठकहरु बढ्दैछन्। शान्त वातावरणमा पढ्ने रुचि भएकाहरू शनिबार पनि यहाँ पढ्न आउँछन्।’
यद्यपि, केशर पुस्तकालयको व्यवस्थापन र पुनर्निर्माण सम्पन्न नहुँदा केही समस्या भने छ। विसं २०७६ मा ‘रेट्रोफिटिङ’ गर्न थालिएको भवन २०७८ सम्म समापन गर्नुपर्ने थियो। निरौलाका अनुसार हालसम्म ९८ प्रतिशत पुनर्निर्माण भएको र छिट्टै बाँकी काम समेर निर्माण कम्पनीबाट विधिवत् हस्तान्तरण हुनेछ।
सानोठिमी भक्तपुरस्थित नेपाल राष्ट्रिय पुस्तकालयमा पनि दैनिक डेढदेखि २०० जना पढ्नकै लागि आउने गरेको तथ्याङ्क छ। पुस्तकालयका प्रमुख प्रदीप भट्टराईका अनुसार पछिल्ला केही वर्षयता पुस्तकालयमा आफ्नै पुस्तक लिएर पढ्ने पाठक बढेका छन्। पुस्तकालयकै पुस्तक खोजेर अध्ययन गर्ने पाठक भने कम भएका छन्। उनी भन्छन्, ‘कतिपय पाठकले घरमै पढ्ने वातावरण नभएकाले पुस्तकालय आउनु परेको बताउनुहुन्छ भने कतिपयले पुस्तकालयमा अरूले पढेको देखेर पढ्ने रुचि बढ्ने हुँदा आउने मन लागेको सुनाउँछन्।’
पुस्तकालयका प्रमुख भट्टराईका अनुसार निजीस्तरबाट पनि पठनपाठन गर्ने स्थान बनाउने अभ्यास सुरु भएको छ। विसं १९८३ मा सामुदायिक स्वामित्वमा पाल्पाको तानसेनमा ‘पुस्तक पढ्ने दलान’ को स्थापना भएसँगै जनस्तरसम्म पुस्तकालयको व्यापकतामा वृद्धि हुन थालेको हो। ‘एउटा पुस्तकालय पूर्ण तब मात्रै हुन्छ, जहाँ अध्ययन–अनुसन्धान गर्नाका साथै समाज रूपान्तरणका लागि ज्ञानको विस्तार हुग्छ। हाल पुस्तकालयमा पढ्नेहरू त भेटिन्छन्, तर ज्ञानको खोजी गर्ने पाठकको कमी छ,’ राष्ट्रिय पुस्तकालय प्रमुख भट्टराई भन्छन्। –मधु शाही/रासस