व्यक्तित्व

संस्कृत शिक्षामा पण्डित हेमनाथ घिमिरेको योगदान

राजेन्द्र पन्थी १४ भदौ २०८२ १०:५६
4
SHARES
संस्कृत शिक्षामा पण्डित हेमनाथ घिमिरेको योगदान

नेपाल वैदिककालदेखि संस्कृत भाषा र सनातन धर्म परम्परा अनि ऋषिभूमि र पुण्यभूमि भनी चिनिएको देश हो। नेपालमा परम्परागत रुपमा वैदिक शिक्षाको लामो इतिहास छ। वैदिककाल र लौकिककाल,किराँतकालदेखि लिच्छविकाल र मल्लकालसम्ममा आउँदा बोलचाल र राजकाजको भाषा संस्कृत नै थियो।

पछिल्लो कालमा पनि लिच्छविकाललाई संस्कृतका लागि त स्वर्णकाल नै मानिन्छ। त्यतिबेलाका सबै अभिलेखहरू संस्कृत भाषामा लेखिएका छन्। मल्लकालमा प्रताप मल्ल,जगज्जय मल्ल आदिले संस्कृत भाषाका ग्रन्थहरू लेखेका थिए।

आधुनिक नेपालको इतिहासमा पनि पृथ्वीनारायण शाह र गीर्वाणयुद्धका लेखहरू पनि संस्कृत भाषामै पाइन्छन्। गुरुशिष्य परम्पराबाट धर्मसंस्कार र शिक्षाको विस्तार भएको थियो। गुरुलाई असाध्यै सम्मान गर्ने प्रचलन थियो। मानव सभ्यता,समाज विकासक्रम,चेतना,भाषा र शिक्षाको विकास हुँदै जाँदा बिस्तारै देवकुल,राजकुल,पितृकुल र गुरुकुल संस्कृत शिक्षाका केन्द्र बन्दै गए।यी केन्द्रहरूमा संस्कृत भाषा,वैदिक र ज्योतिष शिक्षा पढ्ने परम्परा सुरुवात भयो। समयक्रममा गुरुकुल,दलान,पिँढी आदि ठाउँहरूमा गुरुहरूले शिष्यहरू जम्मा गरी कर्मकाण्ड र धार्मिक शिक्षा दिने परम्परा थालनी गरे। यही परम्पराबाट पाठशालाको अवधारणा विकास भएको हो।

नेपालमा संस्कृत शिक्षाले १७७५ सालदेखि पाठशालाको आकार ग्रहण गरेको पाइन्छ। अहिलेको महोत्तरीको मटिहानीस्थित श्री राजकीय संस्कृत माध्यमिक विद्यालयको पृष्ठभूमि यसै पाठशालालाई मानिन्छ।यसै पाठशालामा बालगुरु षडानन्दले पनि पढेका थिए भनिन्छ। यद्यपि यो पनि गुरुकुलीय र अनौपचारिक शिक्षा नै थियो। नेपालमा आधुनिक रूपमा अङ्ग्रेजी शिक्षाको औपचारिक थालनी १९१० सालमा भए पनि काठमाडौँमा मात्र सर्वसाधारणका लागि १९४८ सालदेखि खुला गरिएको थियो।

१९३४ सालमा काठमाडौँमा तीनधारा संस्कृत पाठशालाको स्थापना भएपछि मात्र औपचारिक रुपमा संस्कृत शिक्षाको पठनपाठन सरकारी तवरबाट थालनी भएको हो। लामो शैक्षिक इतिहास बोकेको यो विद्यालय अहिले पनि काठमाडौँको रानीपोखरी नजिकै दरबार हाइस्कुलकै भवनमा सञ्चालनमा छ। यस विद्यालयमा अहिले कक्षा ६ देखि १२ सम्म परम्परागत संस्कृतका साथै आधुनिक विषय पढाइ हुन्छन्।

यो विद्यालय स्थापना हुनुपूर्व १९३२ सालमा भोजपुरको दिङ्लामा बालब्रह्मचारी षडानन्दले संस्कृत पाठशालाको स्थापना गरेका थिए। उनले त्यहाँ पढ्ने विद्यार्थीलाई पठनपाठन, भोजन, लुगा, छात्रावासको व्यवस्था गर्न ४५० मुरी अन्न उठ्ने जग्गा छुट्याएका थिए।

सरकारी तवरबाट संस्थागत रुपमा शिक्षा लिने प्रक्रियाको प्रस्थान बिन्दु भने १९३४ लाई मानिन्छ। १९४५ सालदेखि रानीपोखरी संस्कृत पाठशालाले बनारसस्थित वाराणसी संस्कृत विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गरेको थियो। विद्यार्थीले वाराणसी संस्कृत विश्वविद्यालयकै पाठ्यक्रम तीनधारामै पढेर परीक्षा दिन बनारसमै जानुपर्थ्यो।

पहिलोपल्ट १९५५ सालमा १० जना विद्यार्थीहरू मध्यमाको परीक्षामा सम्मिलित हुन बनारस गएका थिए। त्यसबेला विद्यार्थीहरूलाई परीक्षा दिन बनारस जाँदा पाँच रुपैयाँ छात्रवृत्ति दिने व्यवस्था थियो।१९७५ सालदेखि वाराणसी संस्कृत विश्वविद्यालयकै पाठ्यक्रममा शास्त्री र आचार्य तहको पठनपाठन रानीपोखरी संस्कृत पाठशालामै हुन थाल्यो। २००९ सालमा काठमाडौंमा राजकीय संस्कृत महाविद्यालयको स्थापना भएको थियो। यो नै संस्कृत भाषामा उच्चतहसम्म पठनपाठन हुने नेपालको पहिलो महाविद्यालय (कलेज) हो। २०१८ सालसम्म यसको पाठ्यक्रम र प्रश्नपत्र वाराणसी संस्कृत विश्वविद्यालयअनुरुप हुन्थ्यो भने २०१९ देखि उत्तरमध्यमादेखि आचार्यसम्मको परीक्षा त्रिभुवन विश्वविद्यालयबाट लिइएको थियो।

यसैको पृष्ठभूमिमा २०४३ सालदेखि नेपाल संस्कृत विश्वविद्यालयको स्थापना भएको थियो। यसरी नेपालको शैक्षिक इतिहास सरसर्ती हेर्दा २००७ सालपछि मात्र आधुनिक विद्यालयीय शिक्षाले केही फड्को मारेको देखिन्छ। २०१६ सालमा त्रिभुवन विश्वविद्यालयको स्थापना भएसँगै उच्च शिक्षाको विकास र विस्तार अलि तीव्र भएको देखिन्छ।

नेपालको शैक्षिक विकासमा विभिन्न व्यक्तिहरूको महत्त्वपूर्ण भूमिका र योगदान रहेको छ। नेपालमा १९६० को दशकमा पढ्नुपर्छ,पढाउनुपर्छ र शिक्षाको ज्योति फैलाउनुपर्छ भनेर लाग्ने एक विद्वान् हुन्-पण्डित हेमनाथ घिमिरे। हेमनाथ घिमिरे शैक्षिक अभियन्ता, प्रेरक व्यक्तित्व र लामो समय शिक्षण पेसा गरेका असल, इमानदार,नैतिकवान् र कर्तव्यनिष्ठ शिक्षक हुन्।

पण्डित हेमनाथ घिमिरेको जन्म १९४९ सालको मङ्सिरमा गुल्मीको पश्चिममा पर्ने धुर्कोट लुङ्खर्कमा भएको थियो। लुङ्खर्क भनेको नेपालको ऐतिहासिक राजनीतिक केन्द्र धुर्कोटकोट पूर्वउत्तर खण्डमा कोल्टो परेर रहेको देउराली डाँडाको काखमा रातामाटा र भिरमिलाको सम्मुखमा रहेको गाउँ हो। लुङ्खर्क आधुनिक नेपाल निर्माण हुनुपूर्व चौबिसे राज्यमध्ये एक राज्य धुर्कोटको दरबारसँगै सिमाना जोडिएको गाउँ हो। ३७८ वर्षभन्दा लामो इतिहास बोकेको धुर्कोट राज्यको स्थापना १४६५ सालमा भएको थियो। तत्कालीन चौबिसे राज्य धुर्कोटमा १४ मौजा र सातसय घरधुरी थिए भनिन्छ।त्यो बेलाको धुर्कोट राज्यअन्तर्गत मौला, जैसीथोक,जयन्तीपुर(भनभने),नयाँगाउँ, पीपलधारा,हाडहाडे,वस्तु,वाग्ला र रजस्थल पर्दथे।

हेमनाथ घिमिरे बनारसबाट व्याकरणमा आचार्य र वेदान्तमा पोस्टाचार्य गरेका नेपालकै एक प्रतिष्ठित विद्वान हुन्। तत्कालीन समयमा नेपालबाट पोस्टाचार्यसम्मको उपाधि हासिल गरेका दुई विद्वानमा पदमप्रसाद भट्टराई र हेमनाथ घिमिरे थिए। पदमप्रसाद भट्टराई वाल्मीकि विद्यापीठका संस्थापक शिक्षक हुन्।

यसरी विद्वताका साथै शैक्षिक उपाधिको दृष्टिकोणले हेमनाथ घिमिरे नेपालकै एक शिखर पुरुषमध्ये एक हुन्। घिमिरेले आफ्नै पिता र पितृव्यबाट घरमै धार्मिक संस्कार र संस्कृतको प्रारम्भिक शिक्षा प्राप्त गरेका थिए। उनले घरैबाट दैनिक पाञ्चायन देवताको पूजा पद्धति,नित्यकर्म,वेद,चण्डी, रुद्री,गीता आदि सिकेको र पढेको देखिन्छ।

हेमनाथ घिमिरेले आफ्नै ससुरा पण्डित जगन्नाथ अर्याल,जेठानहरू पण्डित रश्मिराज अर्याल र चेतोनाथ अर्यालको प्रेरणाबाट पनि संस्कृत शिक्षाको अध्ययन गरेका थिए। पण्डित जगन्नाथ अर्याल गुल्मीको पश्चिमका एक प्रख्यात विद्वान् थिए। पण्डित रश्मिराज अर्याल कपिवस्तुको तौलिहवामा रहेको संस्कृत पाठशाला संस्थापक गुरु हुन् भने पण्डित चेतनाथ अर्याल दाङमा १९८४ सालमा स्थापना गरिएको भाषा पाठशालाका प्रथम गुरु हुन् जुन पाठशाला २००८ सालमा जनता विद्यालय अनि २००९ मा जनता प्रधान पाठशाला हुँदै अहिलेको जनता विद्यापीठका रूपमा स्तरोन्नति भएको छ।

नेपाल संस्कृत विश्वविद्यालय स्थापनाको पृष्ठभूमिको इतिहासमा चेतनाथ योगदान देखिन्छ। हेमनाथले धुर्कोट पण्डित टोलामै पनि ग्रामीण दलाने पाठशालामा चलेको हुनाले त्यहाँबाट पनि अक्षराम्भदेखि वेद,रुद्री आदि अध्ययन गरेको अनुमान गर्न सकिन्छ। हेमनाथ घिमिरेको पढाइको मूल प्रेरणाको स्रोतको सवालमा उनका आफन्तहरूबाट एउटा भनाइ सुनिन्छ।

उनी एकपटक ससुराली गएका थिए रे। गुल्मीकै अमरभूमि (मर्भूङ्)पण्डित टोलाका उनका ससुरालीहरू वैदिक अनि पण्डित भनी कहलिएका रहेछन्। उनलाई आहारविहार, आचरण र व्यवहारका सन्दर्भमा घोचपेचको भाषा प्रयोग गरिएछ। ज्वाइँ,अब केही व्यवहार गर्न जान्नुपर्छ र पढ्नु पनि पर्छ भनेछन्। यसरी ससुरालीबाट नै आफू अनपढ भन्ने कुराले हेमनाथको मन बिझेछ र त्यसकारणले पनि उनले पढ्न सुरुवात गरेका थिए रे भनिन्छ। साँच्चिकै यो कुरा रहेछ नै भनेपनि मानिसलाई इख र प्रेरणाले उन्नतिमा ठूलो सहयोग गर्छ भन्ने सन्देश यस घटनाबाट प्राप्त गर्न सकिन्छ।

हेमनाथ घिमिरेले आफ्नो अक्षराम्भ,अनौपचारिक र औपचारिक शिक्षा क्रमशःघरबाट,दलाने पाठशाला,गुरुकुल हुँदै काठमाडौँको तीनधारा अनि बनारसबाट प्राप्त गरेका थिए। हेमनाथ अध्ययनका लागि १९६४/६५ मै काठमाडौँ गएका थिए। उनले काठमाडौँको तीनधाराबाट मध्यमा र बनारसमा रहेको क्विन्स कलेजबाट शास्त्री र आचार्य अनि पोष्टाचार्य उत्तीर्ण गरेका थिए।

घिमिरे प्रख्यात विद्वान् दधिराम मरासिनी र कविशिरोमणि लेखनाथ पौड्यालका सहपाठी थिए। उनले औपचारिक अध्ययनसँगसँगै नेपालका विभिन्न जिल्ला सिरहा,परासी,दाङ, पाल्पाका सरकारी पाठशालामा सरकारी शिक्षक भई अध्यापन गरेका थिए र १९९३ सालदेखि २०१८ सम्म काठमाडौँको तीनधारा संस्कृत विद्यालयमा अध्यापक भई यहीबाट सेवानिवृत्त भएका थिए। हेमनाथले काश्यां मरणान्मुक्ति भन्ने शास्त्रीय विश्वासअनुसार मोक्षप्राप्तिका लागि भारतको काशीबासको मृत्युइच्छा रोजेकोले २०२३ सालदेखि उनी बनारसै बसेकोमा २०३२ साल श्रावण शुक्लपक्ष द्वादशी तिथिका दिन ८३ वर्षको उमेरमा उनको स्वर्गारोहण भएको थियो।

पण्डित घिमिरे असल,सरल,सदाचारी,सात्विक,सादगी,अध्ययन र अध्यापनप्रति रुचि राख्ने,हिन्दु धर्म,संस्कार र अध्यात्मप्रति आस्थावान्,राष्ट्रिय चेतना र शिक्षाको उन्नयनमा समर्पित थिए। घिमिरेले नेपालमा विभिन्न पाठशालामा शिष्यहरूलाई शिक्षा दिई नेपालमा शिक्षाको ज्योति फैलाउन महत्त्वपूर्ण योगदान दिएका थिए। उनीजस्ता देशका ज्योति,शैक्षिक अभियान्ता,प्रेरकबाट पनि आज नेपालको शैक्षिक अवस्थामा यो उपलब्धि हासिल भएको हो। उनको शैक्षिक जागरणप्रतिको लगाव र समर्पणले आज राष्ट्रमै शिक्षा क्षेत्रमा ठूलो परिवर्तन आएको हो।

घिमिरे काश्यप गोत्रको वंशमा जन्मिएका हुन्। हेमनाथका पिता पूर्णभद्र घिमिरे हुन् भने माता रुन्दता हुन्। हेमनाथको विवाह गुल्मीकै मर्भूङ् रियालेका पण्डित जगन्नाथ अर्यालकी सुपुत्री विष्णुदेवीसँग भएको थियो। हेमनाथका तीन छोराहरू र दुई छोरीहरू क्रमशःविश्वनाथ, पुरुषाेत्तम, वासुदेव, पूर्णकुमारी र दमयन्ती हुन्। हेमनाथ पूर्णभद्र र रुन्दताका चार छोराहरू र दुई छोरीहरूमध्ये चौथो सन्तान र साँहिलो छोरा हुन्।हेमनाथका जेठो दाजु गोपिराम निसन्तान थिए। माहिलो दाजु पण्डित शशिधर हुन,जो अत्यन्तै चलाख,तीक्ष्ण बुद्धि भएका वेदाहा थिए। हेमनाथका कान्छा भाइ मुक्तिराम थिए। हेमनाथका दुई दिदीबहिनीहरूमा हस्ता र भागिरथा हुन्। हस्ताको विवाह गुल्मीकै गैराखर्क खहरेखोलाका टीकाराम पन्थीसँग भएको थियो भने भागिरथाको धुर्कोटकै पण्डितटोलामा भएको थियो।

हेमनाथले काठमाडौँ मात्र नभएर देशका विभिन्न दुर्गम गाउँका विद्यार्थीलाई पढ्नका लागि प्रेरणा दिन्थे। उनले आफ्ना शिष्यहरूलाई कर्मकाण्ड, वेद,उपनिषद्, व्याकरण,वेदान्त आदि पढाउँथे।अहिले नेपालमा शिक्षाको प्रगति र विस्तार जुन रूपमा पुगेको छ,त्यसको पृष्ठभूमिको मलजल गर्न हेमनाथ घिमिरेको महत्त्वपूर्ण योगदान रहेको छ।

हामीले वर्तमानलाई चर्चा गर्दा इतिहासलाई बिर्सनु हुँदैन। इतिहास बिना वर्तमान हुन सक्दैन।एउटा सानो पिलपिले दीपले अँध्यारोलाई हटाएको हुन्छ। एउटा सानो बीजले विशाल वृक्षको आकार ग्रहण गरेको हुन्छ। सुन्दर फूल फुलाउन सानो बीजको महत्त्वपूर्ण योगदान हुन्छ।

बीजले नै पनि जमिनमुनिदेखि लिएर विशाल वृक्षको आकार ग्रहण नगरुन्जेल सङ्घर्ष नै नगर्ने हो भने हाँगा,फल,फूल लाग्न सक्दैनन्। आजको जेजति यो हराभरा शिक्षित समाज छ,त्यसको निर्माण गर्न पनि हेमनाथ पनि एक शैक्षिक बीज बनेका थिए। हेमनाथ रुपी शिक्षाको त्यो बीजबाट कति फुलिरहेका छन् भने कति फुल्दै पनि छन्। कतिपय फल र फूलहरूबाट पुनःबीज बन्ने प्रक्रियाले निरन्तरता पाइरहेको छ।

कुनै पनि कुराको प्राप्तिको लागि प्रेरक तत्त्व महत्त्वपूर्ण हुन्छ। आज हाम्रो सामु हेमनाथ सशरीर छैनन् तर उनको प्रेरणा,योगदान भने बाँचिरहेको छ। उनको देह अन्त्य भएपनि शैक्षिक ज्योति र कृतित्त्व भने बाँचिरहेका छन्। हरेक पुस्ताले इतिहासलाई टेकेर वर्तमानलाई अगाडि बढाउनुपर्छ।इतिहास भनेको टेक्ने आधार हो,धर्तीलाई बिर्सेर आकाशको कल्पना गर्न सकिँदैन। विश्वको जुनसुकै दर्शनमा गुरु वा शिक्षकलाई त अत्यन्तै महत्त्वपूर्ण र उच्च स्थानमा राखेको छ। गुरुका स्वलिखित कुनै भाषिक कृतिहरू नै नभएपनि हजारौं अलिखित बहुविधात्मक कृतिहरू बाँचिरहेका हुन्छन्।

वर्तमान पुस्ताले इतिहासमा घटित राम्रा र सुन्दर पक्षहरूलाई अवलम्बन गर्दै जानुपर्छ। इतिहासलाई बिर्सनु भनेको आफ्नो अस्तित्व र पृष्ठभूमि नै बिर्सनु हो। हेमनाथ घिमिरे पनि नेपालको शैक्षिक चेतना जागरण गराउने एक ऐतिहास खम्बा हुन्। हाम्रो शैक्षिक आदर्श र प्रेरक व्यक्तित्व हुन्। उनको आदर्श,जीवनदर्शन,अध्ययन र अध्यापनप्रतिको लगावलाई हामीले सम्मान गर्नुपर्छ। अन्त्यमा,गुल्मीको एउटा दुर्गम गाउँमा जन्मेर बाल्यकालीन समयमै घर छोडेर शिक्षा आर्जन गरी राजधानी लगायत विभिन्न जिल्लामा बसेर शिक्षाको ज्योति छरेका विद्वान् पण्डित हेमनाथ घिमिरेको योगदानको उच्च सम्मान गर्दै हार्दिक श्रद्धासुमन अर्पण गर्दछु।

(भर्जिनिया,अमेरिका)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast