बीसौँ वर्षमा प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल

हिमाल प्रेस २ भदौ २०८२ १३:२६
4
SHARES
बीसौँ वर्षमा प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल फाइल तस्बिर

काठमाडौँ- प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल २०औँ वर्षमा प्रवेश गरेको छ। सोही अवसरमा संघले सोमबार शुभकामना आदानप्रदान कार्यक्रम राखेको संघका अध्यक्ष जगत तिमिल्सिनाले जानकारी दिए। उनका अनुसार पुल्चोक क्याम्पसको लाइब्रेरी हलमा शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागिएको हो। दिउँसो २ बजे सुरु हुने कार्यक्रममा संघका पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि आह्वान गरिएको छ।

प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल राष्ट्रियता, लोकतन्त्र, समाजवाद तथा प्रजातान्त्रिक शैक्षिक आदर्शप्रति समर्पित नेपालका विश्वविद्यालयका आंगिक, सम्बन्धनप्राप्त पब्लिक/प्राइभेट क्याम्पस, अनुसन्धान केन्द्र तथा शैक्षिक निकायहरूमा कार्यरत प्राध्यापकहरूलाई एकताको सूत्रमा आबद्ध गर्दै आएको वैचारिक संस्था हो।

यसले नेपाल प्राध्यापक संघ, त्यसका विभिन्न निकाय तथा अन्य शैक्षिक, प्राज्ञिक र वैचारिक संघसंस्थाहरूमा संगठित शक्तिका रूपमा प्रतिनिधित्व गर्दै आएको छ। प्राध्यापकहरूको पेसागत हकहितका लागि अझ बढी सचेष्ट रहन र बहुदलीय शासनपद्धति, कानुनी राज्य एवम् मानवअधिकारप्रति दृढ निष्ठाका साथ राष्ट्रियता, प्रजातन्त्र र समाजवादको आदर्श, मूल्यमान्यताअनुरूप न्यायपूर्ण, गतिशील, स्वतन्त्र एवं समतामूलक समाज स्थापनामा सक्रिय योगदान दिने उद्देश्यले यो संघ राष्ट्रिय निर्देशन ऐन २०१८ को अधीनमा रही २०६३ साल भदौ मा स्थापना गरिएको हो।

संघले स्थापनाकालदेखि नै प्रजातान्त्रिक शैक्षिक आदर्शप्रति प्रतिबद्ध प्राध्यापकहरूलाई एकताको सूत्रमा आबद्ध गरी सम्पूर्ण प्राध्यापकहरूका पेसागत हकहितको संरक्षण र संवद्र्धन गर्दै आएको छ। यसैगरी नेपाल प्राध्यापक संघ र यसअन्तर्गतका निकायमा संघका तर्फबाट प्राध्यापकहरूको बढीभन्दा बढी प्रतिनिधित्वका लागि प्रयत्नशील छ।

उच्चशिक्षालाई समयानुकूल, प्रतिस्पर्धी र वैश्विक स्तरको बनाउनका लागि संघले आफ्नो मूल उद्देश्य बनाउँदै राज्य र मातहतका निकायलाई झक्झक्याउने दायित्व निर्वाह गर्दै आएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका शैक्षिक, प्राज्ञिक, वैचारिक तथा पेसागत संघसंस्थाहरूमा प्रजातन्त्रवादी प्राध्यापकहरूका तर्फबाट संगठित र समूहगत प्रतिनिधित्व हुँदै आएको छ भने संघमा आबद्ध प्राध्यापकहरूको प्राज्ञिक उन्नयनका लागि विभिन्न गतिविधि गर्दै आएको छ।

यसैगरी विभिन्न निकायमा प्रजातन्त्रवादी प्राध्यापकहरूको प्रतिनिधित्वका लागि सिफारिस गर्ने, नेपालको विद्यमान शिक्षा प्रणालीमा समयानुकूल सुधार गर्न सम्बन्धित विश्वविद्यालयहरूका साथै नेपाल सरकारको सम्बन्धित निकायलाई सुझाव दिने र कार्यान्वयन गर्न दबाब दिने काम संघले गर्दै आएको छ।

विश्वविद्यालयहरूको संस्थागत स्वायत्ततासहित राष्ट्रको सम्पूर्ण शिक्षा प्रणालीलाई प्रजातान्त्रिक शैक्षिक आदर्शअनुरूप अघि बढाउन संघको अर्को उद्देश्य हो। बहुदलीय शासनपद्धति, कानुनी राज्य र मानव अधिकारका लागि क्रियाशील रहनु, राष्ट्रियता, प्रजातन्त्र र समाजवादको आदर्श, मूल्य र मान्यताका आधारमा न्यायपूर्ण, गतिशील, स्वतन्त्र र समतामूलक समाज स्थापनाका लागि योगदान पुर्‍याउनु र बहुदलीय शासनपद्धति, कानुनी राज्य र मानवअधिकारका संघ स्थापनाकालदेखि सक्रिय रहँदै आएको छ।

संघले पछिल्लो समयमा उच्च शिक्षाको शैक्षिक सिकाइ गतिविधिमा नवीनतम प्रविधिको प्रयोग गर्नका लागि विश्वविद्यालय प्रशासनलाई दबाब दिँदै आएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए। यसैगरी विश्वविद्यालयको विद्यमान पाठ्यक्रमलाई समयसापेक्ष परिमार्जन गरी अनुसन्धानमैत्री, रोजगारीमुखी तथा बजारमुखी बनाउन लबिइङ गर्दै आएको छ।

साथै संघले सामुदायिक क्याम्पसहरूको शैक्षिक गुणस्तरीयताको अनुगमन र मूल्यांकन गर्ने स्थायी संरचनाको निर्माण गर्न र सामुदायिक क्याम्पसमा आबद्ध प्राध्यापक तथा कर्मचारीको स्तर निर्धारण गर्न जोड दिँदै आएको छ।

आफ्नो जीवनको अमूल्य समय प्राध्यापनमा बिताएका स्थायी सेवामा कार्यरत प्राध्यापकहरूलाई पेन्सनको व्यवस्था गर्न, विश्वविद्यालयमा आफ्नो जीवनको अमूल्य समय प्राध्यापनमा बिताएका करार सेवामा कार्यरत प्राध्यापकहरूलाई स्थायी बनाउन, विश्वविद्यालयमा हुने विभिन्न नियुक्तिमा निश्चित विधि तथा नीति बनाई जेष्ठता तथा प्राज्ञिक विशिष्टतालाई आधार बनाउन, जनशक्ति व्यवस्थापनको संकट व्यवस्थापन गर्न नियमित रूपमा दरबन्दी सेवा आयोगमा पठाई समयमै रिक्त रहेका उपप्राध्यापक, सहप्राध्यापक तथा प्राध्यापक पदको परिपूर्ति गर्न विश्वविद्यालयहरूको ध्यानाकर्षण गराउँदै आएको संघले जनाएको छ।

पठनपाठनलाई पूर्णतः अनुसन्धानमैत्री बनाउनु र कार्यरत प्राध्यापकहरूलाई समयसमयमा तालिमको व्यवस्था गरिनुपर्ने विषयमा पनि संघले सरोकार राख्दै आएको छ।

शिक्षण पेसालाई आकर्षक र मर्यादित बनाउन उच्च शैक्षिक योग्यता वा शिक्षण कौशल भएका व्यक्तिहरूको प्रवेशमा जोड दिँदै आएको संघले प्राध्यापकको पेसागत कुरा मात्रै उठाएको छैन शिक्षासँग सम्बन्धित मुलुकका अन्य जल्लाबल्दा मुद्दारूमा पनि खरो रूपमा उत्रँदै आएको छ।

चकित्सा शिक्षामा पहुँच बढाउन उपत्यकाबाहिर आंगिक मेडिकल कलेज स्थापनामा र हरेक प्रदेशमा एउटा आंगिक इन्जिनियरिङ कलेजको स्थापना गर्ने योजना बनाउन चासो देखाउनु यसकै उदाहरण हो। संघमा आबद्ध कुनै प्राध्यापक सदस्यहरूमाथि अन्यायमा पर्दा संघले सहयोग गर्दै आएको छ।

विभिन्न राष्ट्रिय मुद्दाहरूका आफ्नो सरकार राख्दै संघले जिम्मेवार निगरानीकर्ताको भूमिका निर्वाह गरिरहेको छ।

प्रकाशित: २ भदौ २०८२ १३:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast