ओली-मोदी भेटवार्ता अयोध्यामा!

हिमाल प्रेस १ भदौ २०८२ २०:३०
36
SHARES
ओली-मोदी भेटवार्ता अयोध्यामा! फाइल तस्बिर

काठमाडौँ- भारतका परराष्ट्र सचिव विक्रम मिसरी दुई दिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौँ छन्। बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका मिसरीले काठमाडौँमा पाइला टेकेसँगै भेटघाटलाई तिब्रता दिएका छन्। उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।

त्यस्तै मिसरीले भ्रमणको पहिलो दिन नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री आरजु राणा देउवालगायतसँग भेटवार्ता गरेका छन्।

ओलीसँगको भेटका क्रममा परराष्ट्र सचिव मिसरीले भारत भ्रमणको निम्तो दिएका छन्। सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भएको शिष्टाचार भेटका क्रममा मिसरीले भारत भ्रमणको निमन्त्रणा दिए। भेटमा सहभागी प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट विदेश सचिव मिसरीले औपचारिक भ्रमणको निमन्त्रणा दिएको जानकारी दिए।

परराष्ट्र सचिव मिसरी परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल भ्रमणमा आएका हुन्। नेपाल-भारतबीच रहेको बलियो सम्बन्धलाई अगाडि बढाउनेतर्फ मिसरीको भ्रमण केन्द्रित रहेको जनाइएको छ।

भारतको विदेश मन्त्रालयले नेपाल-भारतबीचको सम्बन्ध राम्रो रहेको जनाउँदै पछिल्लो केही समययता कतिपय क्षेत्रमा सहयोग बढेको उल्लेख गरेको छ। भारत सुरूदेखि ‘छिमेकी पहिले’ नीतिअन्तर्गत नेपाललाई विशेष महत्व दिँदै आएको विदेश मन्त्रालयको भनाइ छ।

परराष्ट्र सचिव मिसरीको यो भ्रमणले दुवै देशका उच्च तहका अधिकारीहरूको भेटघाट गर्ने परम्परालाई अगाडि बढाउने भारतको विदेश मन्त्रालयले विश्वास लिएको छ।

नेकपा एमालेका अध्यक्षसमेत रहेका ओली प्रधानमन्त्री नियुक्त भएको एक वर्षबढी भइसके पनि भारत भ्रमण गर्न पाएका छैनन्। निमन्त्रणा नआउँदा आफ्नो यो कार्यकालमा ओली भारत भ्रमणमा जान नपाएका हुन्। परराष्ट्र सचिव मिसरीको यो भ्रमण प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारीअन्तर्गत रहेको बताइएको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार प्रधानमन्त्री ओली आगामी १६ सेप्टेम्बर (भदौ ३१) मा भारत भ्रमणमा जाँदै छन्। त्यही क्रममा उनले भारतीय समकक्षीसँग भेटवार्ता गर्ने बताइएको छ।

यसपालि ओली र मोदीबीचको भेटवार्ता नयाँदिल्लीमा नभई बाहिर हुने जनाइएको छ। दुवै जनाबीच १७ सेप्टेम्बरमा भेटवार्ताको तयारी मिलाइएको छ। १७ सेप्टेम्बर प्रधानमन्त्री मोदीको जन्मदिन समेत रहेको छ। ओली र मोदीबीच रामजन्मभूमि अयोध्यामा भेटवार्ता हुने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रधानमन्त्री ओलीको सम्भावित भारत भ्रमणका कारण भारतीय परराष्ट्र सचिव मिसरीको नेपाल भ्रमणलाई महत्वपूर्ण ठानिएको छ।

प्रकाशित: १ भदौ २०८२ २०:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast