
बुटवल- सामूहिक प्रयास र एकता भयो भने शून्य संरचनाबाट पनि नमुना क्याम्पस बनाउन सकिन्छ भन्ने उदाहरण हो, बुटवल कालिका क्याम्पस। २०७० सालमा ३४ जना विद्यार्थीबाट सुरु भएको बुटवल कालिका क्याम्पसले १२ बर्ष पुग्दानपुग्दै आफूलाई अब्बल दर्जामा पर्याएको छ।
घनश्याम पाठकको प्रशासकीय कौशलमा क्याम्पसले आफूलाई स्थापित गरेको हो। पाठक तिनै व्यक्ति हुन् जो कुनै बेला देशकै सर्वाधिक विद्यार्थी रहेको कालिका मानव ज्ञान माविको प्रधानाध्यापक थिए। उनकै नेतृत्वमा कालिका देशकै उदाहरणीय विद्यालय बन्न सफल भयो। कालिकाकै अनुभव र त्यही विद्यालयकै जगमा बनेको हो, बुटवल कालिका क्याम्पस।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसले छोटो अवधिमा गुणस्तर सुनिश्चिता प्रत्यायन (क्यूएए) प्राप्त गर्न सफल भएको छ। ‘शून्यबाट थालनी भएको क्याम्पस आजको अवस्था आउनुमा व्यवस्थापन समिति, विद्यार्थी, अभिभावक, बुटवलका स्थानीय, जनप्रतिनिधि सबैको साथ छ’, क्याम्पस प्रमुख पाठक भन्छन्, ‘ठूलो संघर्षबाट क्याम्पसको जन्म भयो।’
बुटवल रामनगर स्थित १४ कठ्ठामा पाँचतले भवन बनेको छ। क्याम्पसमा तीन हजार ५५३ जना विद्यार्थी अध्ययनरत छन्। बीबीएस, बीसीए, बीएड, बीएसडब्लू भइरहेको छ। १२ वर्षअघि एकजना विद्यार्थी जसले निकै भावुक हुँदै ‘सर कालिकाबाट बिदा हुनुपर्ने भयो, अब त कालिका माइती हुने भयो’ भनेको घटनाबाट कक्षा १२ पछिको पढाइ पनि कालिकाकै नामबाट गर्ने सपना देखेका थिए पाठकले।
‘एकजना विद्यार्थी जो विवाहित थिइन्, कक्षा १२ पछि अब पढ्न अन्तै जानपरेको गुनासो गरेकी थिइन्, मैलै सर्टिफिकेटमा हस्ताक्षर गरेर पठाएँ, तर घर पुगेपछि यही प्रश्नले तनाव दियो’, ती दिन सम्झँदै पाठक भन्छन्, ‘रातभरि सोचेँ, भोलिपल्ट तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होम गलामीलाई क्याम्पस चलाउन सकिन्छ त सर? भनेको, उहाँले सकिन्छ भनेर हौसला दिनुभयो, क्याम्पस स्थापनाको सपना यहीँबाट सुरु भएको हो।’
उसो त पाठकलाई बारम्बार कक्षा १२ सकाउँदै गरेका विद्यार्थीको प्रश्नले घोचिरहेकै थियो। तर कालिका स्कुलको गुणस्तर कायम गर्दै क्याम्पस चलाउनु निकै चुनौतीपूर्ण रहने कुराले त्रसित पनि बनाइराख्थ्यो। उनी सस्तो शुल्कमा गुणस्तरीय शिक्षाका लागि सामुदायिक क्याम्पस बनाउनुपर्छ भन्ने सोचमा थिए। तर मेसो मिलेको थिएन। जब एक ती विद्यार्थीले भावुक हुँदै गुनासो गरिन् यसपछि बल्ल क्याम्पसको सपनाले मूर्तरुप पायो।
२०७० देखि २०७७ सालसम्म बुटवल ११ कालिकानगरको कालिका मावि भवनमा क्याम्पस सञ्चालन गरिएको थियो। २०७५ सालमा बुटवल १० रामनगरमा अवस्थित मानवज्ञान माविसँग विद्यालय मर्ज भएपछि त्यसको पश्चिमपट्टि रहेको जग्गा आफ्नो मातहतमा ल्याउने प्रयत्न गरिएको थियो।
२०७७ माघ १५ गतेको मन्त्रिपरिषद बैठकले बुटवल कालिका क्याम्पसको नाममा १० कठ्ठा जग्गा प्राप्ति गरेसँगै भवन निर्माण सुरु गरिएको हो। ‘स्रोतको कुनै टुंगो थिएन, मैलै आफ्नै एक बिघा जग्गा धितो राखेर दुई करोड ५० लाख निकाले, अध्यक्ष होम गलामीले पनि ४० लाख ऋण लगानी गर्नुभयो’, पाठकले क्याम्पसको भवनको कहानी सुनाए। शून्यबाट थालनी भएको क्याम्पसमा पछि अर्थमन्त्री एवम् रूपन्देही २ का प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले भवन निर्माणका लागि ६ करोड, लुम्बिनी प्रदेश सरकार, बुटवल उपमहानगरपालिका, विश्वविद्यालय अनुदान आयोगबाट समेत आर्थिक सहयोग जुटेको पाठक सम्झन्छन्।
‘यो क्याम्पस सबैको सहयोगले बनेको हो, सबै राजनीतिक पार्टीहरुबाट सहयोग मिल्यो, स्थानीय बुद्धिजीवी, सञ्चारकर्मी सबैको साथले बुटवल कालिका क्याम्पसले यो उचाइ पाएको हो’, पाठकले भने।
पाठक २०७० देखि २०७७ सालसम्म विद्यालयको प्रधानाध्यापकको जिम्मेवारीमा थिए। त्यस बेलासम्म उनले क्याम्पस प्रमुखका रुपमा अतिरिक्त सुविधा लिएनन्। २०७७ सालमा विद्यालयबाट अवकाश भएपछि मात्रै क्याम्पस प्रमुखको सुविधा लिएका हुन्।
सामुदायिक विद्यालयमा कालिकालाई नेपालमै रोलमोडेल बनाएका पाठकले बुटवल कालिका क्याम्पसलाई पनि १२ वर्षको अवधिमा अब्बल बनाएका छन्। शून्यबाट सुरु भएको क्याम्पसको भौतिक पूर्वाधार निर्माणदेखि उत्कृष्ट नतिजा निकाल्न सफल भएका हुन्।
शिक्षक र व्यवस्थापन समितिको साझा प्रयास नै बुटवल कालिकाको सफल भएको बताउँछन् क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर गलामी। उनले कालिका स्कुलकै जगमा सामुदायिक क्याम्पस बनेको बताए।
‘सबैको प्रयासले क्याम्पसले १२ बर्षको यात्रा गरेको हो’, उनले भने, ‘छोटो समयमै क्यूएए मान्यता पाउनु हाम्रो अर्को सफलता हो।’ उनले क्याम्पसको काम आफ्नै ठानेर गरेको बताए। ‘क्याम्पस प्रमुख, व्यवस्थापन समितिबीच क्याम्पसको पूर्वाधार विकास र यसको गुणस्तरमा मात्रै ध्यान भयो’, अध्यक्ष गलामी सम्झन्छन्। सामुदायिक क्याम्पस बनाउने सवालमा आफू हरठाउँमा उभिएको बताए।
नतिजा पनि उत्कृष्ट
२०७० सालदेखि सुरु भएको क्याम्पसले नतिजामा उत्कृष्टता हासिल गर्दै आएको छ। २०७८ सालको बीसीएतर्फ मनिराज गौतमले ३.९५ जीपीए ल्याएर त्रिभुवन विश्वविद्यालयतर्फ नेपाल प्रथम भए। बीसीएको नतिजामा त्रिभुवन विश्वविद्यालयमा बुटवल कालिका क्याम्पसका विद्यार्थीको नतिजा उत्कृष्ट छ। बीसीएतर्फ निशा अधिकारी, हिमाल फुलेल, त्रिविमै उत्कृष्ट बनेका छन्।
यस्तै २०७७ सालमा बीबीएसमा रामचन्द्र बस्यालले ८१.६ प्रतिशत ल्याएर नेपालमै उत्कृष्ट अंक ल्याए। त्यसैगरी २०७९ सालमा बीबीएस प्रथम वर्षमा ८०.८ प्रतिशत ल्याएर शिवचन्द यादवले त्रिभुवन विश्वविद्यालयमै उत्कृष्ट नतिजा ल्याएका छन्।
स्ववियुको सट्टा ‘एसक्यूसी’, बोर्ड फस्ट अध्यक्ष
बुटवल कालिका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन छैन। नेपालका अन्य क्याम्पसमा दलहरुको भ्रातृ संगठनहरुले स्ववियुमा कब्जा जगाउँदा त्यसले क्याम्पसको गुणस्तर कायम हुन नसकेको तितो यथार्थलाई दृष्टिगत गर्दै बुटवल कालिका क्याम्पसमा स्ववियु नराखिएको पाठक बताउँछन्।
क्याम्पस प्रमुख पाठकका अनुसार स्ववियुजस्तै विद्यार्थी हकहितका कुरा गर्ने संगठन आवश्यक हुने भएकाले ‘स्टुडेन्ट क्वालिटी सर्कल’ (एसक्यूसी) गठन गरिएको छ। यसअन्तर्गत आईटी क्लब, बीएसडब्लू क्लब, स्पोट्र्स क्लब, बीएड क्लब परिचालन हुन्छन्। विद्यार्थी गुणस्तर सर्कल अर्थात् एसक्यूसीको अध्यक्ष भने क्याम्पस टपर हुने व्यवस्था गरिएको छ। जसले पढ्छ त्यो नै लिडर हुनुपर्छ भन्ने मान्यता स्थापित गर्नका लागि उत्कृष्ट विद्यार्थीलाई नै नेतृत्व दिएर नयाँ अभ्यासको थालनी गरिएको क्याम्प्स व्यवस्थापन समितिका पूर्वअध्यक्ष अर्जुनमान सैँजूले बताए। ‘यहाँ राजनीति हुँदैन, त्यसैले क्याम्पसको गुणस्तर कायम भएको हो’, उनले भने।
विद्यार्थी सर्कलले प्राज्ञिकसँगै रचनात्मक काम गर्दै आएको स्टुडेन्ट क्वालिटी सर्कलका अध्यक्ष अनिता भुसालले बताइन्। उनले विद्यार्थीले शिक्षकसँग भन्न नसकेको समस्या वा विषय सर्कलमार्फत सम्बोधन गराउने गरिएको बताइन्। विद्यार्थीमा स्ववियुभन्दा सर्कलले शैक्षिक गुणस्तर कायम राख्न ठूलो सहयोग गर्ने विश्वास गर्छन्। ‘अध्यक्ष हुन क्याम्पसको टीयू टपर हुनुपर्छ, यसले पढ्ने व्यक्ति लिडर हुन्छ’, उनले भनिन्, ‘जुन कुरा हाम्रो क्याम्पसमा फरक छ।’
दुईवर्षे कार्यकालको स्टुडेन्ट क्वालिटी सर्कलमा १५ सदस्य रहन्छन्। जसको छुट्टै विधान छ। विद्यार्थी र क्याम्पस प्रशासनलाई जोड्दै सामाजिक कार्यमा सर्कल क्रियाशील हुन्छ। सर्कलको संस्थापक अध्यक्ष सन्दीपा अस्लामीले शैक्षिक गुणस्तरका सवालमा निकै राम्रा काम गरेको बताइन्। ‘हामी पढ्दा भवन भर्खर बन्दै थियो, शिक्षकहरुको लगनशीलताले हामी सफल बन्यौँ’, उनले भनिन्।
सामाजिक कार्यमा सक्रिय हुन्छन् विद्यार्थी
क्याम्पसमा त्रिभुवन विश्वविद्यालयकै पाठ्यक्रम पढाइन्छ। त्यसलाई कसरी जीवनउपयोगी बनाउने भन्नेबारेमा विद्यार्थीलाई सहभागी गराउने तरिका उदाहरणीय छ। सामाजिक कार्यमा स्नातक (बीएसडब्लू) का विद्यार्थी सामाजिक काममै संलग्न हुन्छन्। बीसीए, बीएडका विद्यार्थीले पनि प्रयोगात्मक अभ्यास गर्छन्। बीएएसडब्लू दोस्रो वर्षका विद्यार्थीले प्युठानको ऐरावती गाउँपालिकामा ग्रामीण क्याम्प २०८२ गरेर फर्केका छन्।
विषय शिक्षक गणेश पुनका अनुसार १३ जना विद्यार्थीको टोलीले त्यहाँको सामाजिक समस्या आत्महत्या रोकथामबारे सचेतनामुलुक कार्यक्रममा विद्यार्थी सरिक भएका हुन्। आत्महत्या रोकथामबारे समुदायलाई सचेत गराउने कामममा विद्यार्थी खटिएको शिक्षक पुनले बताए।
आईटीका १७ जना विद्यार्थीले बुटवल उपमहानगरपालिकामा सफ्टवेयरमा सहयोग गरिरहेका छन्। शिक्षा संकाय पढेका विद्यार्थीले शिक्षक सेवा आयोगको तयारी, कक्षाकोठामा पढाउने अभ्यास गर्दै आएका छन्।
विश्वविद्यालय बनाउने सपना
छोटो समयमा गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्राप्त गर्न सफल भएपछि क्याम्पसले अन्य संकाय थाल्ने गृहकार्य गरेको छ। गत वर्ष मात्रै बुटवलको अन्नपूर्ण कलेजसँग मर्ज गरेर ग्रामीण विकास (आरडी) को पढाइ सुरु गरिसकेको छ। क्यूएए प्राप्तिसँगै एमबीए पठनपाठन गर्ने तयारीमा रहेको क्याम्पस प्रमुख पाठकले बताए। उनका अनुसार बीएससी सीएसआईटी, बीबीए, बीआईएमलगायतका पढाइ सुरु गर्ने योजना छ।
४१ कक्षा कोठा, १२ वटा प्रशासनिक कोठासहितको पाँचतले भवन, चमेनागृह, पुस्तकालय भवन आफ्नै छन्। बीसीएका लागि दुईवटा कम्प्यूटर ल्याबसहित नेटवर्किङ ल्याब र डिजिटिल ल्याब छन्।
खानेपानी, खेलमैदान र प्रयोगशालाको व्यवस्था छ। क्याम्पसमा ७० प्राध्यापक र १५ कर्मचारी गरी ८५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। क्याम्पस प्रमुख पाठक आफू अब करिब एक वर्ष सेवा गरेर अवकाश जीवन बिताउने योजना रहेको सनुाउँछन्। ‘त्रिविअन्तर्गतकै ड्रिम युनिभर्सिटी बनाउने योजना छ, जग्गा अभाव छ’, उनले भने, ‘गुणस्तरमा अब्बल भइसक्याँैं, अब विदेशमा गएर पढ्न नपर्ने गरी शिक्षा दिनुपर्छ भन्नेमा छौँ।’