तीज गीत : नारी स्वाभिमान र मौलिकताको उत्सव

सुस्मिता बजगाईं २३ साउन २०८२ ७:३५
42
SHARES
तीज गीत : नारी स्वाभिमान र मौलिकताको उत्सव

काठमाडौँ- तीज भन्नेबित्तिकै गीत अगाडि आइहाल्छ। नेपाली संगीत बजारमा अन्य समयभन्दा बढी गीत तीजमै सार्वजनिक हुने गरेको छ। संख्याभन्दा पनि मौलिकता र सन्देशले गीतको मूल्य निर्धारण गर्छ। त्यसैले तीजमा कस्ता खालका गीतले लोकप्रियता हासिल गरे भन्ने कुराले अर्थ राख्छ।

त्यसो त सांगीतिक क्षेत्रका कलाकारलाई दुई महिनाअघि नै तीजको उत्साहले छोइसकेको हुन्छ। यस वर्ष त जेठ अन्तिम सातादेखि युट्युबमा तीजका गीत सार्वजनिक हुन थालेका थिए। राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल महासचिवका शिव हमालका अनुसार बिहीबारसम्म साढे तीन सय तीज गीत सार्वजनिक भइसकेका छन्। केही सर्जकका गीत सार्वजनिक गर्ने तयारीमा छन्।

संख्यात्मक रूपमा कति गीत तयार हुनुले कुनै अर्थ राख्दैन। महत्त्व त त्यसले राख्छ, कति गीतसंगीतले तीजको मौलिकतालाई सम्बोधन गरे। जानकारहरूका अनुसार यस वर्ष सार्वजनिक भएकामध्ये अधिकांश गीत तीजको मौलिकतामा आधारित छन्। शब्द, भाका र अभिनयमा नवीन भए पनि अधिकांश गीतले नारी संवेदना, अधिकार र कर्तव्यका कुरा बोलेका छन्।

महासचिव हमाल करिब ९७ प्रतिशत तीज गीत मौलिकतामा आधारित रहेको बताउँछन्। ‘पछिल्ला दुई वर्षको तुलनामा यस वर्ष ९७ प्रतिशत तीज गीतमा मौलिकपन छ। विगतमा विकृति भित्र्याउन खोज्ने सर्जकले यस वर्ष सभ्य गीत ल्याउनुभएको छ,’ हमालले भने, ‘विकृतिजन्य गीतका समाचार बन्दा तीज गीत भन्ने बित्तिकै नकारात्मक भावना पैदा गराएको थियो। आमदर्शकमा तीज गीतप्रति हेर्ने दृष्टिकोण नै फरक बनेको थियो। यस वर्षका गीतमा भद्दापन छैन।’

विगतका विकृतिजन्य गीतमा दर्शकले निकै आक्रोश पोखेका थिए। प्रष्तिष्ठानले पनि त्यस्ता केही गीतमाथि प्रतिबन्ध लगाउँदै सर्जक, गायक र संगीतकारलाई सजग गराएको थियो।
युट्युबमा हेर्ने हो भने पनि समयअनुसार नारी महिमा र महिलाकै कथामा बनेका गीत बढी देखिन्छन्। नारीकै सुखदु:खका कथा सभ्य तरिकाले प्रस्तुत गरिएको छ।

चर्चित गायकगायिकाले कस्ता गीत ल्याए त?

वरिष्ठ लोकगायिका हरिदेवी कोइरालादेखि, रेखा शाह, पशुपति शर्मा, कोमल वली, खुमन अधिकारी, शिव हमाल, खेम सेञ्चुरी, आशिष अविरल, दीपक शर्मा, नेत्र अर्याल, डीपी खनाल, शान्तिश्री परियार, प्रेम सापकोटा सोनुलगायत थुप्रै गायकगायिका तथा संगीतकारहरूले तीज गीत सार्वजनिक गरिसकेका छन्।

भ्युजको आधारमा यस वर्ष ‘छोरीको शिर आमा’, ‘पृथ्वी छोडेर’, ‘नत्र भने जिन्दगी व्यर्थ छ’, ‘लाइटै बालेर’ ‘नारी मस्तिमा’, ‘खै तिम्ले बुझेको’, ‘कोहिनूर’, ‘चोली फाटेको’, ‘आउँछ त्यो दिन आउछ’, ‘साउने झरीले’, ‘काली पसम कि२’ ‘आन्टी लभर’ लगायतका गीतले चर्चा पाएको छ।

गीतमा तीजमा माइत जाने रहर, पतिपत्नीको प्रेम, विवाहपछि महिलामा वेदना, पीडा, सुखदु:खलगायत विषय समेटेको छ।

छोरीको शिर आमा : विवाहपछि पतिले दिएको यातनाको क्रूरता समेटिएको गीत हो ‘छोरीको शिर आमा’। यस वर्षको बढी चर्चामा अहिलेसम्म यही गीत छ। एक छोरीले गीतमार्फत आमालाई पतिबाट पाएको यातना पोखिरहेकी छन्। गीत गायिका एलिना चौहानले गाएकी छन्। कतिपयले गीतलाई गायिकाको जीवन कहानी समेटिएको भन्दै प्रतिक्रिया दिएका छन्।

गीतमार्फत आफैँले मन पराएर विवाह गरेको पतिबाट पनि नारीले कस्तो यातना भोग्छन् भन्ने देखाउन खोजिएको छ। सिन्दूर र पोते टुट्छ भनेर नारीलाई अन्याय र अत्याचार नसहन पनि गीतले आग्रह गरेको छ।
परिवार र समाजको डरले यातना सहँदा आफ्नो जीवन कैदीकोजस्तो भएको वेदना आमासँग पोखिएको छ।

गीत बाहिर भगवानजस्तो हुने र भित्र राक्षस रूप देखाउने पुरुषप्रति लक्षित छ। बाआमासँग जिद्दी गरेर आफैँले रोजेको प्रेमीसँग विवाह गरे पनि उसैबाट हिंसा भोग्ने नारीहरुको वेदना गीतमा पोखिएको छ।

छोरीको शिर नै भीर रहेको भन्दै सिन्दूरको साटो माटो नै लगाउनेजस्तो मार्मिक शब्दहरु गीतमा छ। गीत प्रेम सापकोटा सोनुले लेखेका हुन्। संगीत पनि उनले नै भरेका छन्। गीतमा हेमन्त शिशिरको संगीत संयोजन छ। जेरी भण्डारीको कोरियोग्राफी र निर्देशनमा बनेको गीतको भिडियोमा स्मारिका ढकालले मार्मिक अभिनय गरेकी छन्। भिडियोमा उनको पतिको भूमिकामा सुरेश कोहलीको अभिनय छ।

उठौँ जागेर : वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले यस वर्ष ‘उठौँ जागेर’ बोलको तीज गीत ल्याएकी छन्। गीतमा उनकै शब्द, स्वर र संगीत छ। नारीको कथामा केन्द्रित गीतमा पछिल्लो समयमा उनीहरूमाथि हुने अन्याय र अत्याचार प्रवृत्ति फेरिएको भाव व्यक्त गरिएको छ।

महान् नारीलाई समाजले लगाउने लाञ्छना, आरोप, अपहेलना, अपमानजस्ता विषय समेटिएको छ। सत्यरुपी देवी मानिने महिलालाई समाजले दबाएर राखेको, अलच्छिनी, दु:खी र गरिबलाई बोक्सीको आरोपमा मलमूत्र खुवाउनेजस्ता समाजको पगरी र कुप्रवृत्तिका कुरा गीतमा समेटिएको छ। महिलालाई दाइजो नल्याउँदाको पीडा, हिंसा र बलात्कारको सिकार हुनुपरेको, बेचिनुपरेको यथार्थता उल्लेख छ। यस्ता घटनाले धर्म र कर्म सबैतिरबाट नारीलाई नै डसेको बयान गरिएको छ।

अन्तमा उनले दमन र उत्पीडनमा सहेर बस्नुभन्दा रूढीवादी समाजको अग्लो पर्खाल नाघेर महिला सबै एक भएर जाग्नुपर्ने र अत्याचारविरुद्ध लड्नुपर्ने सन्देश दिएकी छन्।

हाम्रा पालामा : लोकदोहोरी गायिका शिला आलेले आफ्नो बाल्यकाल सम्झनामा ‘हाम्रा पालामा’ बोलको तीज गीत सार्वजनिक गरेकी छन्। शिलाकै शब्द र संगीत रहेको गीतले बालापन र गाउँमा हुँदा गरेको संघर्षसहित रमाइला पललाई स्मरण गराएको छ। पहिले जूनको भरमा पानी भर्नुपर्ने, पँधेरो टाढा हुने, पेट भर्न आँटो÷पिठो खाने गरेको, दसैँ आउँदामात्र नयाँ लुगा लगाउने, खाली खुट्टामै घाँस काटेर रनबन हिँड्ने गरेको जस्ता शब्दहरू गीतमा समेटिएका छन्।

भर्‍याङमुनि बाख्रा, कुखुरा खोर शुने, गोलभेँडाको अचारसित बासी भात खाने गरेको, सिस्नु र ढिँडो खाएर हुर्केको, मल बोक्दा निबुवा र भोगटे साँधेर खाएकोजस्ता शब्दले वयस्क पुस्ताको बाल्यकालको स्मरण गराउँछ।

यी सबै परिवेश अहिले परिवर्तन भए पनि सहरमा गाउँकै सपना देख्ने गरेको लगायत विविध स्मृतिहरू गीतमा समेटिएको छ।

गीतमा शिला र शर्मिला गुरुङको स्वर छ। प्रकाश भट्टको कोरियोग्राफी र निर्देशनमा बनेको गीतको भिडियोमा रितु तामाङ र सलिना नेपालीले अभिनय गरेका छन्।

छैन नि चोलिया : गायक रेशम चोधरीले ‘छैन नि चोलिया’ बोलको गीत सार्वजनिक गरेका छन्। रेशमकै शब्द र संगीत रहेको गीत मौलिक शैलीमा छ। गीत रेशम र गायिका मञ्जु पौडेलले गाएका छन्।

गीतको भाकामार्फत माइती जाने चोली नभएको भन्दै पतिलाई चोली किनिदिन आग्रह गरिएको छ। बिहान हरियो रूखमा बसेर काग कराएपछि तीजमा माइती लिन आउने शुभ संकेत दिएको भन्दै गीत सुरु भएको छ। पतिले तीजकै लागि भनेर शनिबारे हटियाबाट विभिन्न प्रकारको शृंगारका समान किनेर ल्याइदिएको उल्लेख छ।

वर्षाको समयमा माइत जान आधा बाटोसम्म पुर्‍याउन जा बाटोमा ख्याल गर्न भन्दै पतिले खुसी हुँदै तीजमा पठाएको प्रसँग छ। गीतमा माइतीमा छोरी आउने भन्दै बाटो हेरेर बसेका बाआमा, माइतीको गाईबस्तु कस्तो भयो होला भन्ने चेलीको कौतूहलजस्ता विविध कुरा समेटिएकोले गीतले विगतलाई सम्झाउँछ।

समयअनुसार परिवर्तन भएको दरमा मासु खाने चलन, तीजको महिमा पतिको लागि व्रत बस्ने रहेको रातो साडी, चुरा पोते लगाउने पहिलेदेखि चलेको चलनलाई बचाइराख्नुपर्ने सन्देश पनि छ।
गीतमा झलझल करिया, जोरीपारि, गुरिया, काँटा, झाँगा जस्ता शब्दको प्रयोगले गीतको मौलिकता झल्काएको छ।

गीतको भिडियोमा पनि सभ्य र सरल नृत्य प्रस्तुत गरिएको छ। शंकर बीसीको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा शंकर स्वयं र मञ्जु पौडेलको अभिनय छ।

सुनिदेऊ शिव : गायिका कोमल वलीले ‘सुनिदेऊ शिव’ बोलको तीज गीत ल्याएकी छन्। उनको गीत अविवाहित नारी केन्द्रित छ। एक असल पतिको खोजीमा रहेकी युवतीलाई केन्द्रित गीतमा महादेव पुकार्दै जोवन सम्हाल्न कोही पठाइदिन अनुरोध गरिएको छ।

गीत गायिका वलीकै जीवनसँग पनि मेल खाने किसिमको छ। विगतमा पनि उनको ‘पोइला जान पाम् शिव’ बोलको गीतले चर्चासहित आलोचना पनि खेपेको थियो।

यतिका वर्षसम्म उनले मनमा आँट र गोजीमा गाँठ भएको, लाली जोवन सम्हाल्छु भन्ने मर्द नै नभेटिएको गुनासो पोखेकी छन्। तीजमा व्रत बसेर धर्म गरिरहेको राम्रो भन्दै केटालाई जोवन सम्हाल्न अवसरसमेत दिएकी छन्। कोही नभेटेको वह पोख्दै उनले शिवजीलाई आफ्नो मर्म सुनिदिन अनुरोध गरेकी छन्।

सिंगापुरे सारीमा : कोमल वलीको स्वरमा ‘सिगांपुरे सारीमा’ बोलको अर्को गीत पनि सार्वजनिक भएको छ। यादवप्रसाद पन्त र वसन्त योगीको शब्द रहेको गीतमा पुष्कर सुनुवारको संगीत संयोजन छ।
यो गीत पनि अविवाहित महिलालाई लक्षित छ। गीतमा साथीहरूको पति कोही सिंगापुरे र कोही अम्रिकाने भए पनि आफूलाई लाने कोही नभएको भाव व्यक्त गरिएको छ।

सबै कुरामा आफू पोख्त रहेको र अझै सुन्दर स्वामी छान्ने अझै मन भए पनि शिवले नै लगन नजुराएको प्रसंग गीतमा छ। र यो तीजले रहर तीजमा केही हुन्छ कि भन्दै शिवकै भर परेको भाव व्यक्त गरिएको छ।
प्रशान्त मगरको निर्देशन र कोरियोग्राफी रहेको गीतको भिडियोमा कोमल वली र इच्छ्या अधिकारीको नृत्य छ।

मलाई क्या माया गर्छन् नि राजैले : लोकगायिका रेखा शाहले यसवर्ष ‘मलाई क्या माया गर्छन् नि राजैले’ बोलको गीत ल्याएकी छन्। गीतमा असल पति परेकोले जीवन सुखमय बितेको प्रसंग छ। सधैँ पत्नीको सुन्दरताको वर्णन गरेर नथाक्ने पतिले रानीझैँ बनाएर राखेको भन्दै खुसी व्यक्त गरिएको छ। आफूले मागेझैँ वर पाएको र स्वर्गझैँ घर भएकाले सातै जुनी उनकै बन्न पाऊँ भन्दै तीजमा भगवानसँग प्रार्थना गरिरहेकी एक चेलीको भावना गीतमा पोखिएको छ।

गीतको भिडियोमा कलाकार नीति शाह र गायिका रेखाले अभिनय गरेका छन्। सुनिलकुमार शर्माको शब्द रहेको गीतमा पवन रानाभाटले संगीत भरेका छन्।

म त मसक्कै : गायिका लक्ष्मी न्यौपानले यस वर्ष ‘म त मसक्कै’ बोलको तीज गीत ल्याएकी छन्। गीत लक्ष्मी न्यौपानेको स्वर र संगीतमा बनेको छ। गीत संकलन लक्ष्मी र शारदा न्यौपाने गरेका हुन्।
हुन त यो गीत २०६० सालमा आइसकेको थियो। गायिका न्यौपानेले उही गीत पुन: रेकर्ड गर्दै केही नयाँपन दिन खोजेकी छन्।

गीतमा बुटवल बजार गएर तीजमा लगाउने टिकिया, लाली, गाजलु, चुरिया, डोरीजस्ता शृंगारका सामानहरू किनेर ल्याएको वर्णन गरिएको छ। गीतमा माइत जान शृंगारिँदा पतिले आफ्नो सौन्दर्यको चर्चा गरेपछि मख्ख परेकी पत्निको भाव समेटिएको छ। गीतलाई दर्शकले रूचाएका छन्।

स्मृति तिमल्सिना ‘गुरुआमा’ को कोरियोग्राफी र निर्देशनमा बनेको गीतको भिडियोमा सागर लम्साल, अञ्जली अधिकारी र नेहारिका रेग्मीले अभिनय गरेका छन्।

पृथ्वी छोडेर : गायिका एलिना चौहान, मेलिना मैनाली र समीक्षा अधिकारीको स्वर रहेको गीत हो यो। गीत आमा र सासू, छोरी र बुहारीबीच गरिने व्यवहार, छोरा र छोरी जन्मिदा गरिने विभेद, माइती र घरका पाहुनाजस्ता विषय समेटेर बनाइएको छ। डीपी खनालको शब्द रहेको उक्त गीतमा दीपक शर्माले संगीत भरेका छन्।

शंकर बीसीको कोरियोग्राफी र निर्देशनमा बनेको गीतको भिडियोमा एलिना, समीक्षा, मेलिनासँगै स्मारिका ढकाल, रुविना अधिकारी, टीका जैसीको नृत्य छ।

बामरी बसायो : वर्ष दिनसम्म माइती नगएका चेलीहरूलाई तीज पर्वले ल्याउने हर्षलाई समेटेको गीत हो ‘बामरी बसायो’। गीत गायिका रचना रिमाल, एलिना चौहान र इन्द्रकला राईले गाएका छन्। गीतको भिडियोमा पनि उनीहरूकै नृत्य छ।

गीतमा वर्ष दिनसम्म नाच्ने/गाउने रहर थुपारेर राखेको र घरमा बामरी बसाएकोले माइती लिन आएको आभास दिलाएको भनिएको छ। साथै पाउजु नलगाएको, दिदी बहिनी भेट नभएको, आमाले पकाएको नखाएको, जन्मिएको आँगन टेक्न नपाएको, बाआमालाई देख्न नपाएको, माइती देशको चौतारी नबस्या वर्ष दिन भइसकेको जस्ता शब्दहरू प्रयोग भएको छ।

गीतले अहिलेको परिवेशभन्दा पनि केही वर्ष पुरानो समयलाई संकेत गरेको छ। दीपक शर्माको शब्द र संगीत रहेको गीतमा नरेन्द्र वियोगीको संगीत संयोजन छ।

नाइँ भनेसी नाइँ (बदला बरिलै २) : गायक तथा संगीतकार प्रकाश सपुतले यस वर्ष तीजलक्षित ‘नाइँ भनेसी नाइँ (बदला बरिलै २)’ सार्वजनिक गरेका छन्। प्रकाशको शब्द र संगीत रहेको गीतमा गायिका एलिना चौहान र समीक्षा अधिकारीको स्वर छ।

गीत तीजको पार्टीमा एक पुरुषले महिलालाई जबरजस्ती गर्न खोज्ने प्रसंगबाट सुरु भएको छ। केटीले नाइँ भनेपछि जिद्दी गर्ने र जबरजस्ती बलात्कारको सिकार भएका नारीहरूको कथा गीतले समेटेको छ। आफ्नो शरीरको अधिकार आफ्नै हुने भएकाले गीतमार्फत हरामी दाजुभाइलाई महिलालाई जेलमा थुन्न र खेलौना नसम्झिन आग्रह गरिएको छ।

महिलालाई रैतीझैँ शासनमा नराख्न, दया र मायाले नढाक्न र कोपिलामै नचुड्न र सहन्छे भनेर नहेप्न आग्रह गरिएको छ। भिडियोमार्फत अत्याचार बढी भएपछि महिलाले देवीको रूप लिन्छिन् र अत्याचारविरुद्ध कदम चाल्छिन् भन्ने देखाउन खोजिएको छ।

प्रकाशकै कथा र निर्देशनमा बनेको गीतको भिडियोमा उनीसहित रेखा थापा, सिमरन पन्त, सन्जोक रसाइलीको अभिनय छ। गीत महिला केन्द्रित भए पनि तीजलक्षित कम बलात्कार र यौनहिंसाविरुद्ध सचेतनामूलक सन्देशजस्तो देखिन्छ।

तीज भन्नेबित्तिकै प्रत्येकको मुखमा आउने नाम विष्णु माझीको गीत आउन बाँकी छ। उनको गीत कस्तो आउला त्यो प्रतीक्षामै छ।

यस वर्षका तीज गीतहरू नारी संवेदनशीलता, यौन हिंसा, घरेलु पीडा, बाल्यकालको स्मृति, प्रेम र शृंगार सबै विषय समेटेर आएका छन्। ‘छोरीको शिर आमा’ जस्ता गीतले नारीमाथिको हिंसा उजागर गर्छन् भने ‘उठौँ जागेर’ र ‘नाइँ भनेसी नाइँ’ जस्ता गीतले चेतनाको स्वर उचाल्छन्। केही गीतले परम्परा र सुखद वैवाहिक जीवन चित्रण गर्छन्। यसपालि धेरै गीतहरू महिलाको आत्मसम्मान, अधिकार र आवाजलाई केन्द्रमा राखेर बनेका छन्।

प्रकाशित: २३ साउन २०८२ ७:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast