१० दलको चेतावनी : राजनीतिक दल स्वमूल्यांकन कार्यविधि अघि नबढाऊ

हिमाल प्रेस २२ साउन २०८२ १७:५१
8
SHARES
१० दलको चेतावनी : राजनीतिक दल स्वमूल्यांकन कार्यविधि अघि नबढाऊ

काठमाडौँ- ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि, २०८२ प्रति प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रलगायत १० दलले विरोध जनाएका छन्। ती दलले बिहीबार संयुक्त वक्तव्य जारी गरी कार्यविधि अघि नबढाउन चेतावनी दिएका हुन्। उक्त कार्यविधि निर्वाचन आयोगले मस्यौदा गरेको छ। राजनीतिक दलहरूको स्वतन्त्रता, लोकतान्त्रिक मूल्य र संवैधानिक मर्यादामाथि प्रत्यक्ष असर पार्ने गरी कार्यविधि ल्याउन लागिएको आरोप ती दलको छ।

विरोध जनाउनेमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल, नागरिक उन्मुक्ति पार्टी र आमजनता पार्टी छन्।

‘कार्यविधि संविधान र राजनीतिक दलसम्बन्धी ऐनको मर्मविपरीत छ। संघीय कानुन दुरुपयोग गर्दै प्रत्यायोजित विधायनको नाममा छुट्टै ऐनजस्तै कानुन मस्यौदा गरेर निर्वाचन आयोगले संघीय संसद्को क्षेत्राधिकार अतिक्रमण गर्ने प्रयास गरेको हुँदा यसप्रति हाम्रो स्पष्ट असहमति तथा विरोध छ’, वक्तव्यमा उल्लेख छ।

बहुदलीय लोकतन्त्रको मर्ममा आघात पुयाउँदै दुई दलको वर्चस्वलाई संस्थागत गर्न खोज्ने यो प्रवृत्ति अस्वीकार्य रहेको ठहर ती दलको छ।

मस्यौदालाई अघि बढाउ कार्य तुरुन्त रोक्न माग गर्दै वक्तव्यमा संविधान, विद्यमान कानुन, लोकतान्त्रिक मूल्य र विधिको शासनको सम्मान गर्न आग्रह गरिएको छ। ‘अन्यथा हामी यसविरुद्ध थप राजनीतिक तथा कानुनी कदम चाल्न बाध्य हुनेछौँ’, वक्तव्यमा उल्लेख छ।

यसअघि नेकपा एमालेले ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि’को मस्यौदाप्रति असहमति जनाउँदै बिहीबार नै निर्वाचन आयोगमा पत्र पठाएको छ। राजनीतिक दलको मूल्यांकन उसकै आन्तरिक मामिला भएकाले निर्वाचन आयोगले बनाएको ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि’ स्वीकार गर्न नसकिने जवाफ एमालेले दिएको हो। पार्टीका महासचिव शंकर पोखरेलले आज पत्र लेखेर निर्वाचन आयोगलाई त्यस कार्यविधिप्रति असहमति जनाएका छन्।

यस्तो छ १० दलले  विरोध गर्नुको कारण

१. नेपाली जनताको लामो संघर्षबाट स्थापित बहुदलीय प्रतिस्पर्धात्मक लोकतन्त्रलाई आत्मसात गर्दै निर्माण गरिएको संवैधानिक संरचनाभित्र दलीय स्वतन्त्रता र राजनीतिक प्रतिस्पर्धा राज्यका आधारभूत सिद्धान्त हुन्। यो मस्यौदामा आयोगको प्रशासनिक नेतृत्वले ‘राजनीतिक दलको मुल्यांकन, सञ्चालन, रेखदेख र निर्देशन गर्ने’ व्यवस्था प्रास्ताव गरेको छ जसले राजनीतिक दलको स्वतन्त्रता कुण्ठित गर्दै दलहरूलाई प्रतिस्पर्धाबाट वञ्चित गर्ने सम्मको खतरा उत्पन्न हुने देखिन्छ।

२. उक्त कार्यविधिको शिरखण्डमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ६१ लाई आधार मानेर कार्यविधि तयार गरिएको उल्लेख छ। तर ऐनको उक्त प्रावधानले सोही ऐनको कार्यान्वयन र प्रयोग गर्ने प्रयोजनका लागि मात्र निर्देशिका र कार्यविधि बनाउन सकिने व्यवस्था गरेको हो। यसरी अन्य छुट्टै प्रयोजन र विषयवस्तु राखि कार्यविधि बनाउन मिल्दैन। यो मस्यौदा प्रत्यायोजित विधायनको आधारभूत सिद्धान्तविपरीत, प्रत्यायोजित अधिकार पुनः प्रत्यायोजित गरेर, छुट्टै प्रशासनिक समिति बनाएर राज्यको कोष खर्च गरेर, संघीय कानुनले दिए भन्दा बढी आयोगको अधिकार बढाएर, राजनीतिक दलको अधिकार नियन्त्रित शैलीमा कटौती गरेर, संघीय संसदको अधिकार आफैँ प्रयोग गर्ने विधिशास्त्रीय सिद्धान्त प्रतिकूल प्रयास भएकाले प्रारम्भिक दृष्टिमै गलत मनसाय सहित आएको हाम्रो ठहर छ। यो कार्यविधि राजनीतिक दल सम्बन्धी ऐनको अतिरिक्त अर्को ऐन जस्तै कानुन निर्माण गर्ने मनसायले मस्यौदा गरेको स्पष्ट देखिन्छ।

३. मस्यौदाभित्र समेटिएका २७ वटा दफा र ४ वटा अनुसूचीहरू संविधान र ऐनले सुनिश्चित गरेको राजनीतिक स्वतन्त्रतालाई सीमित गर्ने अभिप्रायबाट निर्देशित छन्।

४. यस कार्यविधिले शक्ति पृथकीकरण, जनताको सार्वभौमिकता र राजनीतिक दलको आन्तरिक स्वतन्त्रतामाथि गम्भीर प्रश्न खडा गर्छ। राजनीतिक दलको मूल्याङ्कन र अनुगमन जनताले निर्वाचनमार्फत गर्ने हो, संवैधानिक निकायले प्रशासनिक आदेशमार्फत गर्न मिल्दैन। आयोगले उपलब्ध गराएको कार्यविधिको मस्यौदाले दलहरूको संवैधानिक अस्तित्व र स्वतन्त्रतालाई कुण्ठित गर्ने प्रयास गरेको देखिन्छ।

अतः हामी यस संयुक्त प्रेस वक्तव्यमार्फत राजनीतिक दलहरूको तर्फबाट आयोगलाई सचेत गराउन चाहान्छौं कि उक्त कार्यविधिको मस्यौदालाई अघि बढाउ कार्य तुरुन्त रोकियोस्। संविधान, विद्यमान कानुन, लोकतान्त्रिक मूल्य र विधिको शासनको सम्मान गरियोस्। अन्यथा, हामी यसविरुद्ध थप राजनीतिक तथा कानुनी कदम चाल्न बाध्य हुनेछौँ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast