
काठमाडौँ- पेट्रोलियम पदार्थको भण्डारणस्थल बनाउन चितवनको लोथर खोला आडमा जग्गा किनेको आठ वर्षपछि नेपाल आयल निगमले काम सुरु गरेको छ। अमलेखगञ्जदेखि लोथरसम्म पाइपलाइनसहितको पेट्रोलियम भण्डारगृह बनाउने परियोजनाको फिल्ड कार्यालयको उद्घाटन भएको छ।
अबको ५४ महिनाभित्र पाइप लाइनसहित भण्डारणस्थलको काम सकिने परियोजनाका प्रमुख प्रदिपकुमार यादवले बताए। परियोजनाको अवधि ५४ महिना भए पनि तीन वर्षभित्रै सकिने लक्ष्य लिएको उनले बताए।
आयल निगमले २०७३ सालको फागुनबाट त्यहाँ जग्गा किन्न सुरु गरेको थियो। निगमको नाममा लोथरमा २३ बिघा १२ कट्ठा जग्गा रहेको छ। निगमले कूल १४ अर्ब नौ करोड ६० लाख रुपैयाँको लागतमा पाइपलाइन र भण्डारस्थल बनाउन लागेको परियोजना प्रमुख यादवले जानकारी दिए।
अमलेखगञ्जदेखि लोथरसम्म पाइपलाइनको दूरी ६२ किलोमिटर रहने उनले बताए। पाइपलाइन तयार भएपछि मोतिहारीबाटै लोथरमा पनि पेट्रोलियम पदार्थ पठाइने बताइएको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी) ले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेको हो।