
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले भविष्यमा पेले, लिओनल मेसी, क्रिस्टियानो रोनाल्डो मात्र होइन तिनभन्दा पनि उत्कृष्ट फुटबल खेलाडीहरू उत्पादन गर्ने लक्ष्य लिएको बताएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार दशरथ रंगशालामा आयोजना गरेको ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको उद्घाटनमा बालबालिकाहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
उनले भने, ‘पेलेदेखि मेसी, रोनाल्डो वा एमबाप्पेसम्मका खेलाडीहरूसँग दाँजिन सक्ने, अझ अगाडि बढ्न सक्ने क्षमताका खेलाडीहरू नेपालमै तयार पार्ने हाम्रो लक्ष्य हो। त्यसका लागि देशभर खेलकुद पूर्वाधार निर्माणमा सरकारले तीव्रता दिएको छ।’
रंगशाला र खेल मैदानको अभाव अब नहुने प्रधानमन्त्री ओलीको भनाइ थियो। उनले भक्तपुरको सूर्यविनायक नगरपालिका-९ को जगाते क्षेत्रमा ५० हजार दर्शक अट्ने सुविधासम्पन्न फुटबल रंगशाला निर्माणको योजना रहेको बताए।
‘दशरथ रंगशालाको क्षमता १५ हजार मात्र भएकाले त्यो सानो भइसक्यो। त्यसैले हामी अब भक्तपुरमा ठूलो रंगशाला बनाउन लागिरहेका छौं,’ उनले भने।
उनका अनुसार गत साउन १३ गते उनले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ र सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापासँग छलफल गरी रंगशाला निर्माणको प्रक्रिया अघि बढाइएको हो। सम्भावित स्थानका रूपमा जगाते क्षेत्रलाई प्राथमिकता दिइएको छ।
‘तिमीहरू हुर्किएर खेलाडी बनुन्जेलसम्म ५० हजार दर्शक अट्ने भव्य रंगशाला तयार भइसकेको हुनेछ,’ बालबालिकालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने।