होटललाई अरिंगालको माग धान्नै सकस

हिमाल प्रेस ७ भदौ २०८२ १०:२९ | Saturday, August 23, 2025
होटललाई अरिंगालको माग धान्नै सकस

म्याग्दी- म्याग्दीमा अरिंगालको परिकार पाहुनाको रोजाइमा परेको छ। होटललाई अरिंगालको माग धान्न र पुर्‍याउन हम्मे परेको छ। होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ म्याग्दीका अध्यक्ष ललिन्द्र थापाले बर्खा याममा बेनीमा आउने पाहुनाको पहिलो रोजाइको परिकार अरिंगाल हुने गरेको बताए।

‘स्थानीयबासी मात्र नभएर अरिंगालको स्वाद लिनका लागि छिमेकी जिल्लाबाट पनि पाहुना बेनी आउनथालेका छन्,’ उनले भने, ‘स्वादिलो र तागतिलो हुने भएकाले अरिंगालको उपभोग बढेको छ।’ थापाद्वारा सञ्चालित होटलमा दैनिक १० देखि २० प्लेटसम्म अरिंगाल बिक्री हुन्छ।

प्रतिप्लेट फ्राई अरिंगालको मूल्य ६०० रुपैयाँ देखि ७५० रुपैयाँ सम्म पर्छ। अग्ला रूखमा चढेर शिकारीले अरिंगालको लार्भासहितको गोला निकालेर होटलमा बिक्री गर्न ल्याउँछन्। फ्राई गरेको अरिंगालको लार्भा शक्तिव्रर्द्धक हुने उपभोक्ता पूर्ण पुनको अनुभव छ।

खबरा, लामाखेत, अर्थुंगे, जामुनाखर्क, बैसरी, माझखर्क, रिसिनचौतारीका युवाले अरिंगालको गोला बेच्न बेनीमा ल्याउँछन्। सिंगा, बरङ्जा, कुहुँको अरिंगाल तातोपानी र ताकम, धारापानी, बिम, देविस्थान, निस्कोट, अर्मनको अरिंगाल दरवाङ, बाबियाचौरको होटलमा खपत हुन्छ।

गोलासहितको एक किलो अरिंगाल तीन हजार रुपैयाँदेखि तीन हजार ५०० रुपैयाँमा बिक्री हुने गरेको अरिंगाल शिकारी तमबहादुर पुनले बताए। अरिंगाल शिकार गर्ने र पाल्नेले लार्भा बेचेर एक याममा एक लाखभन्दा बढी आम्दानी गर्छन्। बेनी–६ जामूनाखर्कमा व्यवसायिक रूपमा अरिंगालपालन गरेका अशोक र गीता पाइजा शाहीले माग धान्नै नसकेको बताए।

गत वर्ष ३० किलोग्राम लार्भा उत्पादन गरेका शाही दम्पतीले यो वर्ष २५ गोला पालेर एक क्विटल लार्भा बेच्ने लक्ष्य राखेका छन्। एक गोलाबाट एक पटकमा आठ किलोग्रामसम्म लार्भा निकाल्न सकिन्छ। प्रत्येक दुई-दुई महिनामा लार्भा निकाल्न सकिन्छ। जेठबाट गोला बनाउन सुरु गर्ने अरिंगालका लार्भा कात्तिकसम्म ब्यापार हुन्छ।

अरिंगाल पाल्नु र शिकार गर्नु सजिलो काम भने होइन। रूखको टुप्पा, भिरमा हुने अरिंगाल शिकार गर्दा र सार्दा सावधानी अपनाउनुपर्छ। अरिंगाल रिसाएर टोक्यो भने ज्यानै जान पनि सक्छ। अरिंगाल शिकार गर्नेका लागि बजारमा पोशाक किन्न पाइने भएकाले जोखिम घटेको र सजिलो भएको छ। रातो र कालो जातका अरिंगाल हुन्छन्।

आगोले गोला पोलेर शिकार गर्दा अरिंगाल मासिने, टोकेर घाइते हुने, रूखमा चढ्दा लडेर घाइते तथा ज्यान जाने जोखिम पनि उत्तिकै छ। रासस

प्रकाशित: ७ भदौ २०८२ १०:२९ | Saturday, August 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast