फेदीखोलाले आईपीओ निस्कासन गर्ने

हिमाल प्रेस १ भदौ २०८२ ७:२१ | Sunday, August 17, 2025
फेदीखोलाले आईपीओ निस्कासन गर्ने

काठमाडौँ- फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले १७ करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) बिक्री गर्ने भएको छ। सो कम्पनीको साधारणसभाले साधारण सेयर बिक्री गर्ने निर्णय गरेको हो।

साधारणसभामा कम्पनीले भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिका–६ मा बहने फेदीखोलामा फेदीखोला (थुमलुङ्ग)मा चार दशमलव तीन मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ। सो आयोजना आगामी पुस मसान्तमा निर्माण सम्पन्न हुनेछ।

आयोजना निर्माण सम्पन्न गर्न ९४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएकामा २०८१ साउन १५ को बाढीका कारण चार करोड रुपैयाँ लागत वृद्धि भई ९८ करोड रुपैयाँ लाग्ने भएको छ।

आयोजना निर्माणका लागि ४९ प्रतिशत अर्थात् ४८ करोड रुपैयाँ स्वपुँजी सेयरधनीबाट र बाँकी ५१ प्रतिशत अर्थात् ५० करोड रुपैयाँ राष्ट्रिय वाणिज्य बैंकबाट ऋणस्वरुप जुटाइएको कम्पनीका सञ्चालक प्रकाशचन्द्र दुलालले जानकारी दिए।

साधारणसभाले कम्पनीको अधिकृत पुँजी ६० करोड रुपैयाँमा १० करोड रुपैयाँ थप गरी ७० करोड रुपैयाँ पुर्‍याउने र सोको २५ प्रतिशत अर्थात् १७ करोड ५० लाख रुपैयाँको सर्वसाधारणका लागि सेयर निष्काशन गर्ने निर्णय गर्दै सो कार्यान्वयनका लागि सञ्चालक समितिलाई अख्तियारीसमेत दिएको छ।

साधारणसभाले वन्डर्स इनर्जी (खिम्ती घ्वाङ्गखोला नौ मेगावाट)मा पाँच करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको छ। यस्तै (इर्खुवा खोला जलविद्युत् आयोजना १५ मेगावाट) मा १५ करोड रुपैयाँ लगानी गर्ने भएको छ।

कम्पनीको मुख्य लगानीमा २०९० सालभित्रमा कम्तीमा एक सय मेगावाट क्षमताको आयोजना अगाडि बढाउने निर्णय गरेको छ।

साथै कम्पनीको नियमावली कम्पनीमा पाँच जना सञ्चालक रहनेमा अगामी चारवर्षे कार्यकालका लागि संस्थापक चन्द्रप्रसाद बाँस्तोला, प्रकाशचन्द्र दुलाल र कविता अधिकारीलाई चयन गरेको छ।

प्रकाशित: १ भदौ २०८२ ७:२१ | Sunday, August 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast