 
                             
                                            काठमाडौँ- आर्थिक वर्ष २०८१/८२ मा कुल वस्तु निर्यात ८१.८ प्रतिशतले वृद्धि भई दुई खर्ब ७७ अर्ब तीन करोड पुगेको छ। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो वर्ष यस्तो निर्यातमा ३ प्रतिशतले कमी आएको थियो।
भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ११७.८ प्रतिशत, १.६ प्रतिशत र ६.७ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको विवरणमा उल्लेख छ।
वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टरको धागो, जुटका सामान, चिया, जुत्ता तथा चप्पललगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक सिट, जुस, अदुवा, तयारी पोसाक लगायतका वस्तुको निर्यात घटेको छ।
आर्थिक वर्ष २०८१/८२ मा कुल वस्तु आयात १३.३ प्रतिशतले वृद्धि भई १८ खर्ब चार अर्ब १२ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आयातमा १.२ प्रतिशतले कमी आएको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७.५ प्रतिशत, १४.२ प्रतिशत र ३१.७ प्रतिशतले वृद्धि भएको छ।
वस्तुगत आधारमा भटमासको कच्चा तेल, यातायातका उपकरण, सवारीसाधन तथा स्पेयर पार्टस, चामल/धान, खाने तेल, स्पन्ज आइरन लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, हवाईजहाजका स्पेयर पार्टपुर्जा, सुन, रासायनिक मल, विद्युतीय उपकरणलगायतका वस्तुको आयात घटेको छ।
निर्याततर्फ भैरहवा, विराटनगर, वीरगन्ज, सुख्खा बन्दरगाह, कैलाली, मेची, नेपालगन्ज, रसुवा र त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ।
आयाततर्फ जलेश्वर र त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाहेकका प्रमुख नाकाबाट भएको आयातमा बढेको छ। आर्थिक वर्ष २०८१/८२ मा कुल वस्तु व्यापार घाटा ६.० प्रतिशतले वृद्धि भई १५ खर्ब २७ अर्ब नौ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो घाटामा १ प्रतिशतले कमी आएकोे थियो।
समीक्षा वर्षमा निर्यातआयात अनुपात १५.४ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यस्तो अनुपात ९.६ प्रतिशत थियो। समीक्षा वर्षमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी एक खर्ब ८१ अर्ब १५ करोड बराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्ष यस्तो आयात एक खर्ब ५१ अर्ब ७६ करोड बराबरको भएको राष्ट्र बैंकको तथ्यांक छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 