
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठकले मानव तस्करी जस्तो संगठित अपराधमा आवश्यक न्यायिक वा संसदीय छानबिन समितिको मागसहितको विरोध जारी राख्ने निर्णय गरेको छ। पार्टी संसदीय दलको बुधबार रुपन्देहीको भैरहवामा बसेको बैठकले उक्त निर्णय गरेको हो।
यस्ता छन् अन्य निर्णय
राष्ट्रिय स्वतन्त्र पार्टीले २०८० साल पुसमा महोत्तरीको जलेश्वरमा केन्द्रीय समितिको विस्तारित बैठक र संसदीय दलको बैठक गर्दै काठमाडौँ उपत्यका बाहिर पनि केन्द्रीय स्तरको राजनीतिक उपस्थिति जनाउने अलि फरक अभ्यास गरिरहेको कुरा सबैमा अवगत नै छ। यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक रुपन्देहीको भैरहवामा आह्वान गरिएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी बर्दिया जिल्ला सभापति विपिन पौडेलज्यूको सिंगापुर भ्रमणका क्रममा असामयिक अप्रत्याशित देहान्तप्रति संसदीय दलको बैठकले श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै यस दुखद घडीमा परिवारको साथमा रहेको कुराको मनन गर्यौँ।
कार्यवाहक सभापति डिपी अर्यालज्यूले समसामयिक राजनीतिक विषयमा अहिलेको परिस्थिति घटनाक्रम उतारचढाव भ्रष्टाचारमा व्याप्त गठबन्धन मन्त्रीहरू भ्रष्टाचारको मुद्दामा मुछिएको विषय लगायत, राष्ट्रिय स्वतन्त्र पार्टीले जारी राखेको हस्ताक्षर सङ्कलन अभियानले दलको सदस्यहरूलाई जानकारी गराउनुभयो।
पार्टी उपसभापति डाक्टर स्वर्णिम वाग्ले ज्यूले राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा उठाइरहेको विषयहरू जस्तै भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करी जस्तो सङ्गठित अपराधमा आवश्यक न्यायिक वा संसदीय छानबिन समितिको माग सहितको विरोध जारी राख्ने निर्णय गर्यो।
सदनमा र संसदीय समिति हरूमा विभिन्न विधेयकहरूमा भइराखेको छलफल त्यसमा राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा हुनुपर्ने सहभागिता र थप सक्रियता को बारेमा छलफल भयो।
देशभित्र र प्रवास मा सङ्गठनको कार्यक्रमहरूमा रास्वपा सांसदहरूको सहभागिता सक्रियता र उपस्थितिहरूलाई अझै प्रभावकारी बनाउने सक्रियता बढाउने बारे छलफल भयो।