
जुम्ला- सिञ्जा गाउँपालिकाले पालिकाभित्रका करिब एक हजार ५४५ घरको बिमा गरेको छ। पालिकाका छवटै वडामा दुईजना तथ्यांक संकलन गर्ने कर्मचारी परिचालन गरी संख्या निर्धारणसहित घर बिमा गरिएको हो।
कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको चालु आर्थिक वर्षको स्वीकृत विपद् जोखिम बिमा कार्यक्रममार्फत सिञ्जाका एक हजार ५४५ घरको बिमा गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए।
प्रदेश सरकारको गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम र वार्षिक बजेटअन्तर्गत ‘घर बिमा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि–२०८१’ मन्त्रिपरिषद्बाट गत फागुन १३ गते पारित भई कार्यान्वयनमा आएको हो।
उक्त कार्यक्रमका लागि मन्त्रालयले स्थानीय तहलाई घरको मूल्यांकन गरी गत असार २५ गतेभित्र सम्बन्धित स्थानीय तहको सिफारिससहित पठाएको विवरणअनुसार सिञ्जाले तोकिएको मापदण्डअनुसार प्रक्रिया पूरा गरेपछि छनोटमा परेको अध्यक्ष धितालले बताए।
कार्यक्रमका लागि मन्त्रालयले अधिकतम प्रतिघर २३ लाखको बिमांक बराबरको जोखिम मूल्यांकनबाट हुन आउने बिमा शुल्कबापतको रकम भुक्तानी गरिदिने व्यवस्था गरेको छ। बिमा लागू भएपछि भूकम्प, आगलागी, बाढी तथा डुबान, हावाहुरीलगायत विपद्बाट क्षतिग्रस्त भएका परिवारले क्षतिपूर्ति पाउनेछन्।