जुम्लाकाे तातोपानीमा नि:शुल्क घर बिमा

हिमाल प्रेस २० असार २०८० १८:३२
2
SHARE
जुम्लाकाे तातोपानीमा नि:शुल्क घर बिमा तस्बिर : ताताेपानी गाउँपालिका कार्यालय।

जुम्ला- जिल्लाको तातोपानी गाउँपालिकाले निःशुल्क घर बिमा कार्यक्रम सञ्चालन गर्ने भएको छ। आफ्नो क्षेत्रभित्रका सबै नागरिकको सुरक्षाका लागि निःशुल्क घर बिमा कार्यक्रम सञ्चालन गरिने पालिकाले जानकारी दिएको छ।

आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटमा निःशुल्क घर बिमाको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईँले बताए। तातोपानीका आठवटै वडाका तीन हजार तीन सय घरधुरीका लागि निर्जीवन बिमा सुरक्षाको प्रत्याभूति गरिएको उनको भनाइ थियो।

त्यसका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको उनले जानकारी दिए। ‘अविरल वर्षा र बाढी पहिराका कारण प्रत्येक वर्ष नागरिक घरबारविहीन हुनुपरेको छ,’ अध्यक्षले चौलागाईँले भने, ‘नागरिकको बासस्थानको सुरक्षाका लागि घर बिमा योजना ल्याएका हौँ।’

स्थानीयको सुरक्षाका लागि पहिलो जिम्मेवारीमा स्थानीय सरकार भएकाले यहाँका नागरिकको सुरक्षाका लागि घर बिमा कार्यक्रमलाई पहिलो प्राथमिकता दिइएको उनले बताए।

अध्यक्ष चौलागाईँका अनुसार नेपाल सरकारको पूर्णस्वामित्वमा रहेको बिमा कम्पनीसँग सहकार्य गरेर यहाँका नागरिकको घर बिमा गरिनेछ। प्रत्येक घरलाई पाँच लाख रुपैयाँ बराबरको बिमा गर्ने पालिकाको भनाइ छ। घरमा प्राकृतिक विपद्‍ले क्षति पुर्‍याएमा बिमाबाट राहत पुग्ने उनले बताए।

गत वर्ष असोजमा परेको अविरल वर्षाले तातोपानी क्षेत्रमा धैरे क्षति गरेको थियो। अझैसम्म यहाँका घर तथा विद्यालय पुनः निर्माण हुन सकेका छैनन्। प्राकृतिक विपत्तिबाट हुने क्षतिलाई कम गर्दै नागरिकलाई राहत महसुस गराउने उद्देश्यले आगामी आर्थिक वर्षबाट लागू हुने गरी बिमा कार्यक्रम ल्याइएको पालिका उपाध्यक्ष रेवती रावलले बताइन्।

साथै गाउँपालिकाले पशुपालन गर्ने किसानलाई थप प्रोत्साहन गर्न तथा पशुजन्य उत्पादनमा आत्मनिर्भर बनाउन ‘किसानमैत्री योजना’ पनि ल्याएको छ। त्यस्तै गर्भवती तथा सुत्केरी महिलालाई अस्पतालसम्म आउजाउ गर्न निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने, स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित बनाउँदै ‘म स्वास्थ्य मेरो गाउँपालिका स्वास्थ्य’ कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष चौलागाईँले बताए।

प्रकाशित: २० असार २०८० १८:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 9 =