कौशिकी वैदिक गुरुकुल अब नगरपालिकाको संरक्षणमा : संस्कृत शिक्षा पुनर्जागरणमा कागेश्वरी मनोहरा

हिमाल प्रेस १३ साउन २०८२ १६:०५
370
SHARES
कौशिकी वैदिक गुरुकुल अब नगरपालिकाको संरक्षणमा : संस्कृत शिक्षा पुनर्जागरणमा कागेश्वरी मनोहरा

काठमाडौँ– काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाले संस्कृत शिक्षाको प्रवर्धनलाई संस्थागत गर्दै कौशिकी वैदिक गुरुकुलको औपचारिक व्यवस्थापनको जिम्मा लिएको छ। संस्कारसहितको शिक्षालाई प्राथमिकता दिने नीतिअनुसार नगरपालिका गुरुकुललाई नमुनाका रूपमा विकास गर्न अग्रसर भएको हो।

नगरपालिकाले गुरुकुल र संस्कृत शिक्षा अध्ययनअध्यापन लाई प्राथमिकता दिँदै आएको छ। सामुदायिक विद्यालयमा कक्षा १ देखि ८ सम्म संस्कृत पठनपाठन अनिवार्य गरेको पालिकाले हालै कौशिक गुरुकुल सञ्चालनको जिम्मेवारी पनि लिएको हो।

वैदिक अनुसन्धान समितिद्वारा सञ्चालित कौशिकी वैदिक गुरुकुलम्‌द्वारा गुरुकुल प्रांगणमा आयोजित सम्मान एवम् अपराजिता तिमल्सिनाको बालकथा संग्रह ‘पैसा फल्ने रूख’ विमोचन समारोहमा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले नगरको नीतिमा गुरुकुल शिक्षा पद्धति प्रवर्धन गर्ने रहेको जानकारी दिए। उनले भने, ‘हाम्रो नीतिमा गुरुकुल शिक्षा पद्धतिलाई प्रवर्धन गर्ने उल्लेख गरिसकेका छौँ। सोहीअनुसार हामीले कौशिकी गुरुकुललाई पालिकामा स्थानान्तरणका लागि अनुमति दिएका हौँ।’

काभ्रेपलाञ्चोकको भुम्लुस्थित आँपघाटमा १२ वर्षअघिदेखि सञ्चालनमा रहेको कौशिकी गुरुकुल यसै शैक्षिक सत्रदेखि कागेश्वरी नगरपालिका-१, सुवेदीगाउँस्थित भीमेश्वर महादेव मन्दिर परिसरमा स्थानान्तरण गरिएको छ। बाढीका कारण सुनकोशी तीरमा गुरुकुल सञ्चालनमा व्यवधान भएपछि कागेश्वरी नगरपालिकाले भूमि उपलब्ध गराएको हो।

समितिका अध्यक्ष रामचन्द्र तिमल्सिनाको एकल प्रयासमा सञ्चालन भइरहेको गुरुकुल व्यवस्थापनको जिम्मेवारी पालिकाले लिएपछि यसले चाँडै नमुना गुरुकुलको रूप लिने विश्वास गरिएको छ।

नगर प्रमुख कार्कीले कौशिकी गुरुकुल सञ्चालन, रेखदेख र व्यवस्थापनको जिम्मेवारी पालिकाले लिने घोषणा गरे। उनले गुरुकुल कुन गुठीमा राखेर अगाडि बढाउने विषयमा छलफल भइरहेको जानकारी दिए।
कार्कीले भने, ‘कौशिकी गुरुकुललाई सामुदायिक विद्यालयको स्तरमा राखेर सञ्चालन गरिनेछ। पालिकामा अहिलेसम्म १५ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन्। अब कौशिकी गुरुकुल थपिँदा १६ वटा भएका छन्।’

कार्कीले गुरुकुललाई नमुनाका रूपमा अगाडि बढाइने संकल्प पनि गरे। उनले गुरुकुल सञ्चालनका लागि गुरुयोजना बनाउन वडाध्यक्ष र गुरुकुलका संस्थापक एवम् वैदिक अनुसन्धान समितिका अध्यक्ष तिमल्सिनालाई निर्देशन दिए। कार्कीले भने, ‘आजको होइन, अबको १० वर्षमा यो गुरुकुललाई कहाँ पुर्‍याउने भनेर योजना बनाउनुहोस्।’

गुरुकुल शिक्षा पद्धति अगाडि बढाउने नगरपालिकाको नीतिअन्तर्गत रहेर कौशिकी गुरुकुल सञ्चालनको जिम्मेवारी लिएको पनि कार्कीले स्पष्ट पारे। उनले भने, ‘पहिलो नम्बरमा गुरुकुललाई शिक्षक दरबन्दी उपलब्ध गराइनेछ। दोस्रो, विद्यार्थीका लागि खाजा खर्च दिइनेछ। तेस्रो, यसको भौतिक पूर्वाधार लगायत सबै कुरामा सरकारले लगानी गर्नेछ। हामी यी तीन कुरालाई सहयोग गर्दै अगाडि बढ्नेछौँ।’

प्रमुख कार्कीले कम्तीमा पनि पाँच सयजना छात्रहरूले नियमित पठनपाठन गर्न सक्ने योजना बनाउन निर्देशन दिए। उनले भने, ‘आजैबाट संकल्प गरौँ, यो गुरुकुललाई सबैको साथ र सहयोग लिएर प्रतिष्ठित बनाउनेछौँ। म तन, मन र धन सबैले यसमा जोडिनेछु।’ उनले तत्कालका लागि गुरुकुललाई व्यक्तिगत तर्फबाट ५५ हजार पाँच सय नगद सहयोग गर्ने घोषणा गरे।

प्रमुख कार्कीले कागेश्वरी मनोहरा नगरपालिकाको नारा नै संस्कारसहितको गुणस्तरीय शिक्षा रहेको जानकारी दिए। ‘हामी हाम्रा बालबालिकालाई पूर्वीय संस्कृति, सभ्यता, मूल्यमान्यता सबै कुरा सिकाउने शिक्षा अगाडि बढाउने खालको पाठ्यक्रम निर्माण गरेर पढाउने प्रयास गरिरहेका छौँ’, उनले भने।

सोही आधारमा स्थानीय पाठ्यक्रमअनुसार संस्कृत शिक्षालाई कक्षा १ देखि ८ सम्म अनिवार्य गरिएको उनको भनाइ छ। कार्कीले संस्कृत शिक्षा नै सभ्यतासँग जोडिने धागो रहेको बताए। संस्कृत शिक्षाभित्र ज्ञान, विज्ञान र शक्ति रहेको उनको भनाइ छ।

गुरुकुलका प्रमुख संरक्षक प्रा.डा. दीर्घराज घिमिरेले गुरुकुल स्थापनापछि काठमाडौँ उपत्यकाको उत्तरी क्षेत्रको सांस्कृतिक एवम् धार्मिक महत्त्व अझै उचाइमा पुग्ने विश्वास व्यक्त गरे। उनले भने, ‘कागेश्वरीलाई स्थानीय सरकारले चाहेमा उत्कृष्ट धार्मिक एवम् पर्यटकीय क्षेत्र बनाउन सक्छ। स्थानीय सरकार अधिकार सम्पन्न भएकाले पनि यस्तो काममा सफलता प्राप्त हुने नै छ। गुरुकुल शिक्षा प्रवर्धनमा यहाँका जनप्रतिनिधिको ठूलो लगाव देखेको छु।’

कागेश्वरी मनोहरा वडा नम्बर १ का वडाध्यक्ष मुकुन्दप्रसाद गजुरेलले वैदिक अनुसन्धान समितिका संस्थापक अध्यक्ष तिमल्सिनाले असल प्रस्ताव लिएर आएकाले गुरुकुलका लागि भूमि उपलब्ध गराइएको जानकारी दिए। उनले भने, ‘रामचन्द्रजीको प्रस्तावपछि वडामा छलफल गर्‍यौँ। संस्थालाई यहाँ ल्याउन सबैको सहमति जुट्यो। गुरुकुलका वटुकहरू नदेख्दा पनि रामचन्द्र गुरु र संस्थाप्रति सद्भाव जाग्यो।’

गजुरेलले आफूहरूलाई राम्रो कुरा गर्नका लागि जनताले निर्वाचित गराएकाले नराम्रो कुरा गर्ने छुट नरहेको बताए। उनले भने, ‘गुरुकुलका कुनै पनि बालकको भविष्य नबिग्रियोस् भनेर हामी चिन्तित छौँ।’ उनले गुरुकुलका धेरै समस्या समाधान गरेर यसलाई प्रतिष्ठित र नमुना बनाइने प्रतिबद्धता व्यक्त गरे।

वैदिक अनुसन्धान समितिका अध्यक्ष रामचन्द्र तिमल्सिनाले २०७० सालको कात्तिकमा संकल्प गरेर गुरुकुल स्थापना गरिएको बताए। गुरुकुल यसअघि काभ्रेको भुम्लु गाउँपालिकास्थित कोशीको तटमा सञ्चालनमा थियो। गत वर्ष असोजमा आएको बाढीका कारण गुरुकुल सञ्चालनमा समस्यामा भएपछि आफू धेरैतिर भौँतारिएको स्मरण गर्दै तिमल्सिनाले भने, ‘अन्तिममा कागेश्वरी मनोहरा नगरपाकिाले भूमि उपलब्ध गराएको छ। आज अभिभावकत्व ग्रहण गर्ने व्यक्ति पाएँ। यसबाट म निकै पुलकित भएको छु। अब नमुना गुरुकुल सञ्चालन गर्ने मेरो संकल्प पूरा हुने भएको छ।’

तिमल्सिनाले कागेश्वरी नगरको साथ र सहयोग हुने भएपछि गुरुकुलमा विद्यार्थी बढाउन कुनै समस्या नरहेको बताए। उनले भने, ‘हामीलाई भवनको कमी छ। त्यसको व्यवस्था पनि पालिकाले गरिदिने विश्वास छ।’

तिमल्सिनाले शास्त्रीय आधार खोजेर त्यसैअनुरूप कागेश्वरी क्षेत्रको धार्मिक एवम् पर्यटकीय विकास गर्न सकिने बताए। उनले यस क्षेत्रलाई वैदिक धामका रूपमा विकास गर्न सकिने पनि बताए। हरेक मानिसमा रहेको विज्ञताअनुसार काम गर्ने हो भने धर्तीलाई चाँडै हराभरा बनाउन सकिने उनको विश्वास छ।

समितिकी पूर्वकोषाध्यक्ष नानु दाहालले गुरुकुलले उचाइ प्राप्त गर्न सबैको मन र वचनको सहयोग आवश्यक रहेको बताइन्। उनले धेरै उत्साहका साथ संलग्न भए पनि आफ्नो कार्यकालमा सोचजेति गर्न नसकिएको बताइन्। उनले भनिन्, ‘यद्यपि संस्थाको जग बसाल्नका लागि केही राम्रा काम भएका छन्। गुरुकुलको उन्नतिका लागि सधैँ तयार छौँ।’ भुम्लुस्थित गुरुकुल रहेको ठाउँ सम्झँदा निकै पीडा अनुभव हुने उनको भनाइ छ।

कार्यक्रममा कवि रामचन्द्र घिमिरेले कवितामार्फत कौशिकी गुरुकुलको परिचय दिलाएका थिए। यसैरी गुरुकुलको विगतदेखि वर्तमानसम्मको गतिविधिको भिडियो प्रदर्शन गरिएको थियो। समारोहमा गुरुकुल स्थापना कालदेखि हालसम्म योगदान दिएका विभिन्न महानुभावलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो। कार्यक्रममा समितिका सचिव जनार्दन तिमल्सिनाले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए। कार्यक्रम सञ्चालन नारायण तिमल्सिनाले गरेका थिए।

अपराजितको ‘पैसा फल्ने रूख’ विमोचन

कार्यक्रममा ११ वर्षीया लेखिका अपराजिता तिमल्सिनाद्वारा लिखित ‘पैसा फल्ने रूख’ बालकथा संग्रहको विमोचन गरिएको छ। विमोचित कृतिमाथि समीक्षक चूडामणि पराजुलीले समीक्षात्मक मन्तव्य दिएका थिए।

नगर प्रमुख उपेन्द्र कार्कीले पुस्तकमा रहेका केही कथा सरसर्ती पढ्दा अपराजिता लक्ष्मी र सरस्वतीको अंश लिएर जन्मिएको अनुभव भएको बताए। कार्कीले कथाकृतिका लागि बधाई दिँदै अपराजितालाई अझ अघि बढ्न शुभकामना दिए।

वडाध्यक्ष मुकुन्दप्रसाद गजुरेलले मुना अपराजिताले सानै उमेरमा कथा संग्रह प्रकाशित गरेर आफ्नो प्रतिभा देखाएको बताए। उनले भने, ‘कथा लेखनमा मुनाको प्रयत्न नै पर्याप्त छ।’

समितिकी पूर्वकोषाध्यक्ष नानु दाहालले अपराजिताले सानैमा कथाको पुस्तक प्रकाशन गरेर गौरवपूर्ण काम गरेको बताइन्। उनले भनिन्, ‘अचेल बच्चाहरू किताबको कुरै गर्न चाहँदैनन्। अपराजिताले आफ्नो सिर्जनशीलता प्रस्तुत गरेर प्रशंसायोग्य काम गरेकी छन्। उनलाई बधाई छ।’

कृतिकार अपराजिताले आफू पनि कथा लेख्न सक्छु र भन्ने सन्देहका साथ सुरु भएको कथा लेखनले कृतिको रूप लिएर पाठकसमक्ष ल्याउन पाउँदा खुसी लागेको बताइन्। उनले आफूलाई कथाका पुस्तक पढ्दा निकै रमाइलो लाग्ने भएकाले लेखनतर्फ आकर्षित भएको बताइन्। उनले कथा लेखनमा आफूलाई आमा, बा, दाइ, दिदीहरूले प्रेरणा दिएको पनि बताइन्।

संग्रहका १० वटा कथामार्फत आफूले कुनै न कुनै सन्देश दिन खोजेको उनको भनाइ थियो। अपराजिता धुम्बाराहीस्थित इन्टरनेसल स्कुलमा कक्षा ७ मा अध्ययनरत छिन्।

प्रकाशित: १३ साउन २०८२ १६:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast