गण्डकीका मुख्यमन्त्री साताव्यापी चीन भ्रमणमा, पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानमा होला पहल?

विजय नेपाल ६ साउन २०८२ ११:०८
4
SHARES
गण्डकीका मुख्यमन्त्री साताव्यापी चीन भ्रमणमा, पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानमा होला पहल?

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे औपचारिकरूपमा साताव्यापी चीन भ्रमणमा निस्केका छन्। नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रममा भाग लिन मुख्यमन्त्री पाण्डेसहित प्रतिनिधिमण्डल मंगलबार पोखराबाटै सिधैँ हिमालयन एयरलायन्समार्फत चीन प्रस्थान गरेको हो।

भ्रमण टोलीमा मुख्यमन्त्री पाण्डेसहित उनकी पत्नी बीना पाण्डे, नेपाली कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने, एमालेका प्रमुख सचेतक गोविन्दबहादुर नेपाली, मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटालगायत छन्।

टोलीलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यवाहक मुख्यमन्त्री कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठ, मन्त्रीहरू तथा प्रदेश सभा सदस्यहरूले बिदाइ गरेका थिए। मुख्यमन्त्रीको अनुपस्थितिमा कावा मुख्यमन्त्रीको जिम्मेवारी मन्त्री श्रेष्ठले पाएकी हुन्।

६ देखि १२ साउनसम्म हुने भ्रमणलाई गत २३ असारमा संघीय मन्त्रिपरिषद्को बैठकले स्वीकृत प्रदान गरेको थियो। भ्रमणका क्रममा मुख्यमन्त्री पाण्डेले चिनियाँ कम्युनिष्ट पार्टीका उच्चपदस्थ नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

उनले ल्हासामा तिब्बत स्वायत्त क्षेत्रीय कमिटीका पार्टी सचिव वाङ जुनझेङसँग र लिन्झीमा नगर कमिटीका पार्टी सचिव आओ लिउछ्वान तथा उपसचिव एवं नगर प्रमुख बातासँग द्विपक्षीय भेटघाट गर्नेछन्।

मुख्यमन्त्री पाण्डेले आफ्नो भ्रमणमा कोरला नाका, पोखरा विमानस्थल सञ्चालन र दुई देशबीचको व्यापारिक सहजीकरण गरी मुख्य चारवटा एजेण्डामा केन्द्रित रहने बताएका छन्।

यसैबीच, बाढीका कारण केरुङ नाका अवरुद्ध भइरहँदा गण्डकी प्रदेशका पर्यटन व्यवसायीहरूले मुस्ताङको कोरला नाका विकल्पको रुपमा खुला गर्न मुख्यमन्त्रीले पहल गर्नुपर्ने सुझाव दिएका थिए। यो नाका पर्यटकीय तथा व्यापारिक प्रयोजनका लागि तत्काल पूर्णसञ्चालनमा ल्याउन उनीहरुको माग छ।

यो भ्रमणलाई गण्डकी प्रदेशको पर्यटन र आर्थिक विकासका लागि ऐतिहासिक अवसरका रूपमा उपयोग गर्न पोखराका पर्यटन व्यवसायीहरुको छाता संगठन पोखरा पर्यटन परिषद्ले गत शुक्रबार मुख्यमन्त्री पाण्डेलाई ज्ञापनपत्रसमेत बुझाएका थिए।

पोखराका अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पोखरा विमानस्थलको नियमित अन्तर्राष्ट्रिय उडानमा देखिएको ढिलाइमा भूराजनीतिक प्रभाव रहेको औंल्याउँदै यसलाई चिर्न उच्चस्तरीय कूटनीतिक पहलको खाँचो रहेको बताउँछन्।

उनले यो भ्रमणका क्रममा पोखरा विमानस्थल पूर्ण सञ्चालन प्रमुखताका साथ उठाउन उनले सुझाव दिएका छन् । परिषद्का पूर्व अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराबाट चीनका प्रमुख शहरमा सीधा हवाइ उडानका लागि कूटनीतिक पहल गर्न आग्रह गरे। चीन सरकारले मानसरोवर नजिकैको विमानस्थल अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गरिरहेकाले पोखराबाट त्यहाँ सीधा उडान पहल गर्नु आवश्यक रहेकोमा जोड दिए।

नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछानेले चीनले घोषणा गरेको ‘भिजिट नेपाल इयर–२०२५ इन चाइना’ सफल बनाउन पनि यो भ्रमण कोशेढुंगा साबित हुने बताए।

प्रकाशित: ६ साउन २०८२ ११:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast