
काठमाडौँ- कुमारी आवासीय माध्यमिक विद्यालय र भानु प्रतिष्ठानको संयुक्त आयोजनामा ‘नेपाली साहित्यको जग: आदिकवि भानुभक्त आचार्य’ विषयक अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रम कुमारी आवासीय माध्यमिक विद्यालयमा आयोजना गरिएको थियो।
कार्यक्रम युरासिया एकेडेमीका अध्यक्ष पारसमणि पौड्यालको सभापतित्वमा सम्पन्न भयो। प्रमुख अतिथिका रूपमा प्रा. डा. महादेव अवस्थी रहेको कार्यक्रममा विशेष अतिथि भानु प्रतिष्ठानका अध्यक्ष डा. नवराज लम्साल तथा महासचिव डा. रमेश शुभेच्छु थिए।
विद्यालयका प्रधानाध्यापक नीलकण्ठ ढुंगानाले भानु प्रतिष्ठानसँग सहकार्य गर्न पाएकोमा गर्व महसुस भएको बताउँदै संस्थाको योगदानप्रति आभार व्यक्त गरे। भानु प्रतिष्ठानका महासचिव डा. शुभेच्छुले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै नयाँ पुस्तालाई भानुभक्तको योगदानबारे अवगत गराउन यस्ता कार्यक्रम उपयोगी हुने धारणा राखे। उनले यस साता विभिन्न कार्यक्रम सम्पन्न भई आज समापन गरिएको जानकारी दिए।
भानु प्रतिष्ठानका अध्यक्ष डा. लम्सालले नेपाली साहित्य, कला र संगीतबारे नयाँ पुस्तामा चेतना फैलाउनु आवश्यक रहेको बताए। भाषा शुद्धता र व्याकरणमा पनि ध्यान दिनुपर्ने बताउँदै उनले वक्तृत्वकला सम्बन्धी केही सुझाव समेत दिए।
प्रमुख अतिथि प्रा. डा. अवस्थीले भानुभक्तको कृतित्वबारे अझ गहिरो अध्ययन–अनुसन्धान हुनुपर्ने बताउँदै हालसम्म एक जना मात्रले विद्यावारिधि अनुसन्धान गरेको जानकारी दिए। रामायणलाई अनुवाद होइन, मौलिक नेपाली काव्य मानेर अध्ययन गर्नुपर्ने उनको तर्क थियो।
कार्यक्रमका सभापति पारसमणि पौड्यालले भानुभक्तबारे थप ज्ञान पाएको र यस्ता कार्यक्रम विद्यालयमा हुनुले सृजनात्मकता अभिवृद्धि हुने धारणा व्यक्त गरे।
कार्यक्रममा कवि त्रिलोचन आचार्य, नारायण नेपाल, खगेन्द्र दाहाल, योगेन्द्र पौडेललगायतले आफ्ना श्रुतिमधुर रचनाहरू वाचन गरे। साथै विद्यालयका विद्यार्थीहरूले नृत्य, गायन र कविता वाचन प्रस्तुत गरेका थिए।
१५ विद्यालय सहभागी उक्त प्रतियोगितामा जीवनतारा एकेडेमीकी सेरिना तामाङ प्रथम, रिभेरा इन्टरनेसनल एकेडेमीकी अभिरा काफ्ले द्वितीय र हिमशिला बोर्डिङ स्कुलकी प्रेन्सी सुवेदी तथा अल्पाइन एकेडेमीकी यशोदा घिमिरे तृतीय स्थानमा विजयी भए।
विजेताहरूलाई नगद पुरस्कार, प्रमाणपत्र, मेडल र आकर्षक उपहार प्रदान गरियो। सहभागी सम्पूर्ण विद्यार्थीलाई प्रमाणपत्र तथा शैक्षिक सामग्री वितरण गरिनुका साथै सहभागी विद्यालयलाई मायाको चिनो प्रदान गरिएको थियो।
कार्यक्रमको सञ्चालन शोभा अधिकारीले गरेकी थिइन् भने निर्णायकका रूपमा साहित्यकार पुरु लम्साल र लेखिका सुष्मा देवकोटा रहेका थिए।