
काठमाडौँ- बहराइनको मनामास्थित नेपाली राजदूतावासले शनिबार नेपालको पर्यटन तथा व्यापार प्रवर्द्धनसम्बन्धी कार्यक्रम गरेको छ । बहराइनका सरकारी अधिकारीहरू, व्यावसायिक नेताहरू र सञ्चारकर्मीहरूलाई नेपालका पर्यटन र लगानी सम्भावनाबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको हो।
कार्यक्रममा बहराइन चेम्बर, बहराइन व्यवसायी संघ, बहराइन साना तथा मझौला उद्योग संघका विशिष्ट व्यक्तित्वहरू, सांसद मोहम्मद हुसेन जनाही तथा वरिष्ठ बहराइनी अधिकारीहरू गरी १०० भन्दा बढीको उपस्थिति रहेको दूतावासले जनाएको छ।
कार्यक्रममा सम्बोधन गर्दै बहराइनका लागि नेपाली राजदूत तीर्थराज वाग्लेले नेपाल र बहराइनबीच व्यापारिक सम्भावनाहरूको चर्चा गर्दै द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन गर्न ‘नेपाल-बहराइन व्यापार मैत्री मञ्च’ गठनको प्रस्ताव राखे । उनले व्यावसायिक नेतृत्व तथा निजी क्षेत्रका प्रतिनिधिहरूलाई दुई देशबीचको व्यापारिक तथा लगानी अवसरको खोजी गर्न आह्वान गरे।
सो अवसरमा नियोग उपप्रमुख सुजना अर्यालले नेपालका लगानी तथा पर्यटन सम्भावनाका बारेमा प्रस्तुति दिएकी थिइन्। दूतावासले अतिथिहरूलाई नेपाली चिया र नेपालको प्रमुख पर्यटकीय गन्तव्यका पोस्टर स्मारिकाका रूपमा वितरण गरेको थियो।