
काठमाडौँ- जमलस्थित राष्ट्रिय नाचघरमा आगामी साउन २४ देखि ३१ सम्म ‘गाईजात्रा महोत्सव २०८२’ हुने भएको छ। सांस्कृतिक संस्थानले प्रेस विज्ञप्ति जारी गर्दै महोत्सव गर्न लागेको जानकारी दिएको हो।
यस वर्ष १५ जना कमेडियनले प्रस्तुति दिने छन्। जसमा पुराना हास्यकलाकारसहित अहिलेकाे चर्चित साे ‘कमेडी नाइट विथ च्याम्पियन्स’ र ‘कमेडी दरबार’ का कलाकार छन्।
महोत्सव सिस्नुपानीका अध्यक्ष लक्ष्मण गाम्नागे, सुरेन्द्र केसी ‘मुला साग’, शिवशंकर रिजाल ‘जोगिन्दर’, राजा राजेन्द्र पोखरेल, दिनेश काफ्ले, खडगबहादुर पुन र सुयशा खनाल, ‘कमेडी दरबार’ बाट हिमेश पन्त, विकास अर्याल, सरोज भण्डारी र सुजिता श्रेष्ठ, ‘कमेडी नाइट विथ च्याम्पियन्स’बाट भरतमणि पौड्याल, सन्तोष थापा, सुमन कोइराला र कैलाश कार्कीले प्रस्तुति दिनेछन्।
महोत्सवमा उपस्थित हुन संस्थानको वेबसाइटमार्फत टिकट लिन सकिनेछ। महोत्सवलाई भव्य बनाइने संस्थानका महाप्रबन्धक किरणबाबु पुनले बताए।
सांस्कृतिक पर्व गाईजात्रा (सापारु) को अवसरमा गाईजात्रा महोत्सव गर्न लागिएको संस्थानले जनाएको छ। मौलिक संस्कृति पर्वको लोप हुने खतरा बढेकाले यसको संरक्षणमा गत वर्षदेखि गाईजात्रा महोत्सव सुरू गरेको संस्थानले बताएको छ।