साना चुनाव, ठूला संकेत : विद्यालय र टोलबाट कांग्रेस-एमाले ‘आउट’

विनोद परियार ३० असार २०८२ १५:४३
88
SHARES
साना चुनाव, ठूला संकेत : विद्यालय र टोलबाट कांग्रेस-एमाले ‘आउट’ तिलोत्तमास्थित शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्र र बुटवलस्थित कान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिका नवनिर्वाचित पदाधिकारी।

बुटवल- रूपन्देहीमा पछिल्लो समय विद्यालय, टोल विकास समिति, खानेपानी उपभोक्ता समितिहरूमा भएको निर्वाचनले ठूला दलहरूलाई नराम्रोसँग झापड हानेको छ। नेपाली कांग्रेस र नेकपा एमालेप्रति जनताको आक्रोश बढ्दै गएको प्रस्ट देखाएको छ भने टोलदेखि ससाना संस्थाहरूमा भइरहेको ‘दलीयकरण’ समेत अस्वीकार्य हुन थालेको सन्देश गएको छ।

विद्यालयको व्यवस्थापन समितिमा अभिभावकहरूबीच प्रतिस्पर्धा हुन्छ। टोल विकास समितिमा टोलमा बस्ने बासिन्दाहरूबीच र खानेपानी, वन वा यस्तै समितिमा उपभोक्ताहरूबीच प्रतिस्पर्धा हुन्छ। स्वतन्त्र रहनुपर्ने यी ठाउँमा समेत दलीय हस्तक्षेप हुन थालेपछि नागरिकले त्यसलाई अस्वीकार गरिदिएका छन्। कतै स्वतन्त्र उम्मेदवारले जितेका छन् त कतै पुराना दलहरूलाई हराएर नयाँ दल निकटकाहरूले जित निकालेका छन्।

रूपन्देहीको तिलोत्तमा नगरपालिका-८ स्थित मिलन टोल विकास संस्थाको शनिबार सम्पन्न निर्वाचन दलहरूकै प्रतिष्ठाजस्तो बन्यो। टोल विकास समिति भनेको टोल विकासमा एकजुट भएर लाग्ने संस्था हो। यहाँ भने सत्तारुढ दल कांग्रेस-एमाले समर्थकले गठबन्धन गरे। त्यसलाई चुनौती दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थकको टिम बन्यो। परिणाम कांग्रेस र एमाले गठबन्धको पराजय।

आश्चर्यको कुरा त यो हो कि तिलोत्तमा-८ नेपाली कांग्रेस जिल्ला सभापति एवं तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँण र एमाले जिल्ला अध्यक्ष यज्ञ गैरेको वडा हो। यतिमात्रै होइन, कांग्रेसका नेता एवं पूर्वगृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँणको वडा पनि।

सत्तारुढ दलका प्रभावशाली नेताहरूको वडामा भएको टोल विकास समितिको निर्वाचनमा १५ सदस्यमध्ये चार पदाधिकारीसहित आठ सिटमा रास्वपा समर्थित उम्मेदवार निर्वाचित भए। एमालेका तीनजना, कांग्रेसका दुईजना र रास्वपाकै प्यानलबाट राप्रपाका दुईजना निर्वाचित भए।

दुई सय ७२ घरधुरी रहेको टोलमा दुई सय ३३ मत खसेको थियो। अध्यक्षमा रास्वपाका रामाकान्त भुसालले एक सय २४ मत ल्याएर निर्वाचित भए। प्रतिस्पर्धी एमालेका एमालेका कृष्ण चापागाईंले एक सय मत मात्र प्राप्त गरे। उपाध्यक्षमा रास्वपाका पर्शुराम काफ्लेले एक सय ४५ मत प्राप्त गरी निर्वाचित हुँदा कांग्रेसकी रिना बरालले ८१ मत प्राप्त गरेर पराजित भइन्।

सचिवमा रास्वपाकै सीता तिवारी एक सय १९ मत र कांग्रेसका थम्मन गुरुङले एक सय पाँच मत ल्याएका थिए। कोषाध्यक्षमा रास्वपाका प्रतीक पाण्डेले एक सय २६ मत ल्याएर निर्वाचित बन्दा एमालेकी बबी चापागाईंले ९८ मत ल्याइन्।

असार २२ गते सम्पन्न बुटवलस्थित कान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको निर्वाचन दलहरूले आमनिर्वाचनजस्तै बनाए। व्यवस्थापन समितिको निर्वाचन दलीय प्रतिष्ठाको विषय मात्रै बनेन नेतृत्व हत्त्याउनका लागि लामो समयसम्म निर्वाचनसमेत हुन दिएनन दलहरूले।

निर्वाचनमा विद्यालय व्यवस्थापन समितिमा दुई दशकसम्म कब्जा जमाएको नेकपा एमाले निकट अभिभावकहरू नराम्रोसँग पराजित हुन पुगे। रास्वपासहितको टिम निर्वाचित भएर नयाँ रेकर्ड कायम भएको छ।

चार सदस्यका लागि भएको निर्वाचनमा दुई जना खुला सदस्यतर्फ रामकृष्ण शर्मा (पाँच सय १४) र मित्र गिरी (चार सय ८१) निर्वाचित भए। सदस्यमा विजयी शर्मा नेकपा निकट र गिरी रास्वपा निकट हुन्। प्रतिस्पर्धामा उत्रिएका नेकपा एमाले निकट होमनाथ पाण्डेले तीन सय ४५ र शिव आचार्यले तीन सय ५५ मत ल्याएर पराजित भए।

यसैगरी महिला सदस्य दुई जनामा पनि विपक्षी टिमबाट नेकपा माओवादी निकट कमला पन्थी पाँच सय ८८ मतका साथ निर्वाचित भएकी छन्। अर्का महिला सदस्यमा नेपाली कांग्रेस निकट संगीता पोखरेल पाँच सय एक मतसहित निर्वाचित भइन्।

तीन हजार नौ सय ७७ मतदाता रहेको व्यवस्थापन समितिको निर्वाचनमा एक हजार एक सय ४२ मत खसेको थियो।

व्यवस्थापन समितिको म्याद २०८१ वैशाख पहिलो साता सकिएको थियो। एमाले र कांग्रेसबीच कसले नेतृत्व गर्ने भन्ने विषयमा टकराव हुँदा झन्डै १५ महिनापछि निर्वाचन भएको थियो।

२०८१ चैतमा सम्पन्न रुपन्देहीको तिलोत्तमास्थित शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्र (वनबोट) को अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार खिमलाल पाण्डेले कांग्रेस-एमाले गठबन्धनका उम्मेदवार किरण खरेललाई पराजित गरे। सात सय ७५ मतदातामध्ये छ सय ६१ मत खस्दा पाण्डेले तीन सय ६९ मत ल्याएर विजयी भए भने खरेलले दुई सय ३४ र अर्की उम्मेदवार टीकादेवी आलेले ३९ मत पाइन्।

यस्तै २०८१ फागुन २४ मा सम्पन्न नयाँगाउँ खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा पनि स्वतन्त्र उम्मेदवारले ठूला भनिएका दलहरूलाई आच्छुआच्छु पारेका थिए। अध्यक्षमा कांग्रेसकी मीना घर्ती (जीसी) आठ सय १४ मतसहित विजयी हुँदा स्वतन्त्र उम्मेदवार वामदेव भुसालले सात सय ५८ मत प्राप्त गरे। बुटवल उपमहानगरपालिका- १२ र १३ का चार हजार सात सय छ मतदातामध्ये दुई हजार छ सय चारनाले मतदान गरेका थिए।

२०८० फागुन पहिलो साता रूपन्देहीको सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्ष पदमा कांग्रेस-एमालेलाई हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार एकबहादुर क्षेत्री सात सय पाँच मत पाएर निर्वाचित भएका थिए।

दुई हजार चार सय मत खसेको चुनावमा क्षेत्रीका प्रतिस्पर्धी कांग्रेस-माओवादी-एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा गठबन्धनका माओवादी केन्द्रका उम्मेदवार नारायण पाण्डेले छ सय ४१ र नेकपा एमालेका नारायण थापाले छ सय २६ मत ल्याएका थिए।

ठूला दलप्रति आक्रोश हो : विश्लेषक

दुई वर्षयता रूपन्देहीमा भएका खानेपानी, विद्यालय व्यवस्थापन समिति, वन तथा टोल विकास संस्थाहरूको निर्वाचनले ठूला भनिएका परम्परागत दलहरूप्रति जनमत खस्कँदै गएको देखाएको छ। नागरिकले स्वतन्त्र मतको प्रयोग गर्न थालेको सन्देश पनि गएको छ। यी परिणाम राजनीतिक दलका पात्रहरूको व्यवहारका कारण उत्पन्न वितृष्णाको नतिजाका रूपमा लिन्छन् बुटवल बहुमुखी क्याम्पसका उपप्राध्यापक कृष्णप्रसाद पाण्डे।

उनले वर्तमान राजनीतिक प्रणालीभित्रका पात्रहरूको व्यवहारले जनताले खोजेको विकल्प हुन सक्ने बताए। ‘सबै हिसाबले अहिलेको व्यवस्था नै ठिक छ, तर पात्रहरूका कारण गलत भाष्य निर्माण हुने खतराको संकेत पनि हो’, उनले भने।

पछिल्लो समय विद्यालय, टोल विकास वा वन जस्ता संस्थाहरूमा ठूला भनिएका दलहरूको पराजय दलका नेताहरूको व्यवहार नै मुख्य कारक रहेको उनको भनाइ छ। ‘गाडी राम्रो भएर भएन, ड्राइभर राम्रो हुनुपर्‍यो’, उपप्राध्यापक पाण्डेले भने, ‘पात्रहरूले व्यवहार यस्तै भए परिणाम गलत हुनसक्छ।’

त्यसो त टोल, वन, विद्यालय तथा खानेपानी जस्ता संस्थाहरूमा दलीयकरण हुनु नै दुर्भाग्य भएको ठान्छन् लेखक तथा विश्लेषक ऋषि आजाद।

पछिल्ला परिणामलाई दलीयकरणविरुद्धको जनमतका रूपमा पनि लिन सकिने उनको भनाइ छ। ‘रूपन्देहीमा देखिएका यी नतिजा आक्रोशको परिणाम हो, यी अस्थायी हुन् तर स्थायी आक्रोशमा जान सक्छ’, उनले भने।

उनले कांग्रेस, एमाले माओवादीलगायतका दलहरूले हरेक संस्थामा आफ्ना झोले कार्यकर्ता पठाउने प्रवृत्तिका कारण पनि जनताले विकल्प खोज्न थालेको बताए। ‘दलका झोलेहरू पठाउन थालेपछि त्यसविरुद्धको आक्रोश संस्थाहरूमा देखिएको हो’, उनले भने।

उनले विद्यालयमा अभिभावकहरूबीच वन तथा खानेपानीमा उपभोक्ता र टोलमा त्यहीँका नागरिकबीच प्रतिस्पर्धा हुनुपर्नेमा दलीय गठबन्धन हुनु राम्रो नभएको बताए। ‘पुराना दलहरूले त गठबन्धन गरे नै, त्यसविरुद्ध नयाँ भनिएकाहरूको पनि गठबन्धन राम्रो संस्कार होइन’, लेखक आजादले भने, ‘विकृतिको अन्त्य गर्न, प्रवृत्तिविरुद्ध जानुपर्नेमा पुनरावृत्ति भइरहेको छ।’

उनले रास्वपालगायतका नयाँ दलहरूले समेत पुरानै दलहरूको परम्परा समात्न खोजेकाले त्यो पनि समाधानको उपाय नहुने बताउँछन्। उनले आफ्नै गाउँटोलका संस्थाहरूमा दलीय विभाजन समाजका लागि राम्रो नहुने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast