
बुटवल- लुम्बिनी प्रदेशसभामा विपक्षी दलहरूको बहिष्कारका बीच मंगलबारबाट आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि सैद्धातिक छलफल गरिएको छ।
सरकारले ल्याएको विनियोजन बजेट बेथितिको पुलिन्दा भएकाले संशोधन गर्न विपक्षीहरूले माग गरेका थिए। मंगलबार दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक डाकिएको भए पनि दिउँसो ३ बजे बैठक सुरु हुनासाथ प्रतिपक्षले अवरोध गरेपछि आधा घन्टा स्थगित भएको थियो। त्यसपछि सुचारु भएको बैठकमा प्रतिपक्ष नभएपछि पुनः संसद आधा घन्टा स्थगित भयो। त्यसपछि पनि सहमति जुट्न नसकेपछि भने सभामुखले प्रमुख प्रतिपक्षी दलका सांसदहरूको उपस्थितिबनै बैठक चलाएका हुन्।
विपक्षी नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा र राष्ट्रिय जनमोर्चाले बैठक बहिष्कार गरेका हुन्। तर सभामुख तुलबहादुर घर्तीले भने लोसपा र जसपा नेपाललाई विपक्षी बेञ्चमा राखेर संसद् चलाएका हुन्। सरकारलाई समर्थन गरेको लोसपा एकाएक सभामुखलाई समर्थन फिर्ता लिएको पत्र लिएर विपक्षी बेञ्चमा बसेपछि संसद् बैठक सुचारु गरिएको थियो।
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्रजीत थारुले बजेटका बेथितिका बारेमा आफूहरुले संशोधनको माग गरेकोमा त्यसको सुनुवाई नगरी प्रदेशसभा चलाइएकोमा आपत्ति जनाए। उनले सभामुखले प्रमुख प्रतिपक्षी बिना विनियोजित बजेटमाथिको छलफल हुने बैठक चलाएकोमा आपत्ति जनाए। ‘छलफल नै नगरी बजेट पारित गर्ने गरी सरकार अगाडि बढेको छ, त्यसमा सभामुख सहयोगी बन्नुभयो,’ उनले भने।
प्रतिपक्षीबिना बसेको बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथि सैद्धान्तिक छलफल गरिएको थियो। आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव पेस गरेलगत्तै छलफल भएको थियो। सैद्धान्तिक छलफलमा भाग लिँदै सत्तारुढ नेकपा एमालेका सांसद विष्णु पन्थीले लुम्बिनी प्रदेशको आगामि आर्थिक वर्षको बजेट परिपक्व नभएको बताए। उनले प्रदेश सरकार स्थापना भएपछिको आठौं बजेट भएकाले परिपक्व बजेट आउनुपर्नेमा त्यस्तो नभएको बताए। उनले बजेट कार्यान्वयनबाट सुधार गर्नुपर्ने बताउँदै नवौं बजेटमा त्यो कमीकमजोरी सच्याउनुपर्ने बताए। उनले मन्त्रीहरूले आफू निर्वाचित निर्वाचन क्षेत्रमात्रै नभई ५२ वटै निर्वाचन क्षेत्रलाई हेरेर बजेट ल्याउनुपर्ने बताए। उनले बतासे आयोजना भन्दा मूलढोकाबाटै बजेट ल्याउनुपर्नेमा जोड दिए।
यस्तै जनमत पार्टीका चन्द्रकेश गुप्ताले विनियोजित बजेट हेर्दा निकै आश्चर्यजनक रहेको बताए। उनले सरकारले बजेट घाटामा नल्याउने भने पनि सरकारले आफ्नै प्रतिबद्धता पूरा गर्न नसकेको बताए। पूर्वमन्त्री समेत रहेका गुप्ताले बजेटले उत्पादनमुलुक उद्योगधन्दाको विकासमा भन्दा पनि मन्दिरहरुमा केन्द्रित गर्नु राम्रो नभएको बताए। यस्तै नेपाली कांग्रेसका सांसद सुधाकर पाण्डेयले यसअघि माओवादीको नेतृत्वमा सरकार बन्दा पनि बजेट नपरेको बताउँदै संसद चलाउने संवादबाटै संसद् चलाउनुपर्ने बताए।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका सांसद कनैया बाँनियाले लुम्बिनी प्रदेशको बजेट आवश्यकता र प्राथमिकतालाई ख्याल नै नगरी बजेट बनेको बताए। उनले पछाडि पारिएको क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट बन्नुपर्नेमा त्यसो नभई भेदभावपूर्ण गरी बजेट बिनियोजन गरिएको बताए।
सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री कार्कीले सांसदहरुको सुझावलाई मार्गदर्शनका रुपमा लिएर अगाडि बढ्ने प्रतिबद्धता जनाए। उनले बजेट तथा कार्यक्रमले आर्थिक, सामाजिक तथा पूर्वाधार विकास मार्फत दोस्रो आवधिक योजनाले लिएको समृद्ध लुम्बिनी खुसी नागरिकको सोचलाई पूरा गर्ने बताए।
अर्थमन्त्री कार्कीले आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यका लागि प्रदेश सचित कोषबाट केही रकम बिनियोजन र खर्च सम्बन्धमा व्यवस्थामा बनेको विधेयक सभामा पेश गरेका थिए। पन्धौं बैठक समेत राति साढे ८ बजे प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च सम्बन्धमा व्यवस्थामा बनेको विधेयकमाथि सैद्धान्तिक छलफल गर्न भनिए पनि छलफल नगरी सर्वसम्मत पारित गरेर अगाडि बढाइएको छ। सभामुख तुलबहादुर घर्तीले मन्त्रायगत छलफल बुधबार मध्याह्न् १२ बजे बस्ने बैठकमा हुने जानकारी दिए।