हिमतालको जोखिम घटाउन झन्डै पाँच अर्ब अनुदान

हिमाल प्रेस १७ असार २०८२ १८:५७
8
SHARES
हिमतालको जोखिम घटाउन झन्डै पाँच अर्ब अनुदान मनाङमा पर्ने थुलागी ताल। तस्बिर स्रोत : यूएनडीपी

काठमाडौँ– ग्रिन क्लाइमेट फन्ड (जीसीएफ) बाट नेपालको हिमताल फुटेर आउने बाढी (जीएलओएफ) जोखिम न्यूनीकरणका लागि तीन करोड ६२ लाख अमेरिकी डलर (चार अर्ब ८५ करोड रुपैयाँ) अनुदान प्राप्त हुने भएको छ।

‘हिमताल विस्फोट तथा जलवायु परिवर्तनका कारण हिमनदीमा आउने बाढीबाट जीविकोपार्जन र सम्पत्ति संरक्षण’ नामक परियोजनाका लागि अनुदान प्रदान गर्ने निर्णय पपुवा न्यू गिनीमा सम्पन्न जीसीएफ बोर्डको ४२औँ बैठकले गरेको हो।

परियोजनाले जलवायु परिवर्तनका कारण बढ्दो जीएलओएफ जोखिमबाट प्रभावित समुदाय, पूर्वाधार र पारिस्थितिक प्रणालीको सुरक्षा गर्ने र मानवीय तथा आर्थिक क्षति न्यूनीकरण गर्ने लक्ष्य राखेको छ। यसका लागि तालहरूको पानीको सतह घटाउने, तलतिरको पारिस्थितिक–आधारित विपद् जोखिम न्यूनीकरण उपायहरू र प्रारम्भिक चेतावनी प्रणालीको विकास गरिनेछ।

परियोजनालाई संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममार्फत कार्यान्वयन गरिनेछ। अनुदानले गण्डकी क्षेत्रको थुलागी ताल र कोशी क्षेत्रको तल्लो वरुण, लुम्दिङ र होङ्गु तालको पानी घटाउन सहयोग पुर्‍याउनेछ। ती चार ताललाई सम्भावित रूपमा खतरापूर्ण श्रेणीमा राखिएको छ।

यस परियोजनामा जलवायु निगरानी पूर्वाधारको स्तरोन्नति र स्वचालित प्रारम्भिक चेतावनी प्रणाली जडानसमेत समावेश गरिएको छ।

हिमताल फुटेर आउने बाढीहरू हिमालय क्षेत्रका लागि बढ्दो चुनौती बन्दै गएका छन्। किनभने बढ्दो तापक्रमले हिम पग्लिने गति तीव्र बनाइरहेको छ। इसिमोड र यूएनडीपीको २०२० को अध्ययनअनुसार नेपाल, भारत र चीनको तिब्बत स्वायत्त क्षेत्रमा गरी ४७ वटा जोखिमयुक्त हिमतालहरू पहिचान गरिएको छ। तीमध्ये ३१ वटा उच्च जोखिममा छन्। यिनका ड्याम कमजोर छन्। हिमपहिरो, भूस्खलन वा पानीको स्तर बढ्दा फुट्न सक्छन्। तीमध्ये २१ वटा ताल नेपालमै छन्।

नेपालले विगतमा पनि जीएलओएफ जोखिम न्यूनीकरणका प्रयासहरू गरेको छ। सन् २००० मा छो रोल्पा तालको पानी सतह तीन मिटर घटाइएको थियो भने सन् २०१६ मा इम्जा छो ताल ३.४ मिटर घटाइएको थियो। अब नयाँ जीसीएफ परियोजनाअन्तर्गत चार तालमा यस्तै प्रविधिको प्रयोग गरिनेछ।

१९८० यतादेखि नेपालमा कम्तीमा २६ वटा हिमताल फुटेर बाढी आएका घटना अभिलेखित छन्। तिनमध्ये १९८५ को डिग छो बाढी विनाशकारी मानिन्छ। २०२४ अगस्टमा थ्यान्बो ताल विस्फोटले खुम्बु क्षेत्रमा क्षति पुर्‍याएको थियो भने यसै वर्ष लिमी उपत्यकाको जीएलओएफले तिला गाउँ जोखिममा पारेको छ।

प्रकाशित: १७ असार २०८२ १८:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast