सांसदहरूले गरे भ्रष्टाचारदेखि शिक्षा विधेयकसम्म सरकारको ध्यानाकर्षण

हिमाल प्रेस ७ साउन २०८२ १४:५२ | Wednesday, July 23, 2025
सांसदहरूले गरे भ्रष्टाचारदेखि शिक्षा विधेयकसम्म सरकारको ध्यानाकर्षण

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले भ्रष्टाचार, जलस्रोतको संकट, कृषिको समस्या, शिक्षा विधेयक र सवारी दुर्घटनाजस्ता विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले भ्रष्टाचारको समस्या उठाउँदै कर्मचारीतन्त्रमा मात्र होइन विवादमा परेका एक दर्जन मन्त्रीहरूमाथि पनि छानबिन आवश्यक रहेको बताए। ‘भ्रष्टाचार कहाँ–कहाँ छ भन्ने होइन, कहाँ छैन भनेर खोज्नुपर्ने अवस्था आएको छ,’ उनले भने।

भ्रष्टाचार अन्त्यका लागि उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न उनले माग गरे। उनले केही कर्मचारीलाई कारबाही गरेर मात्रै भ्रष्टाचार अन्त्य नहुने बताए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद बिन्दावासिनी कंसाकारले बारा, पर्सा, महोत्तरीलगायत मधेशका जिल्लामा चापाकल सुकेर रोपाइँ प्रभावित भएको र मानिसहरू पिउने पानीको अभावमा घर छोड्न बाध्य भएको बताइन्। यस्तो संकटका बेला मन्त्रीहरू विदेश भ्रमणमा व्यस्त भएको भन्दै उनले घुस प्रकरणमा मुछिएका मन्त्रीहरूमाथि छानबिन गर्न माग गरिन्।

सांसद ज्वालाकुमारी साहले देश र जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन साना–ठूला सबै राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइन्।

सांसद प्रभु साहले किसानका लागि मलखाद, सिँचाइ र विद्युत् आपूर्तिको माग राखे। सांसद अमनलाल मोदीले ‘शिक्षा विधेयक कहाँ हरायो?’ भन्दै विधेयक प्रक्रियाबारे प्रश्न उठाए।

यसैगरी, सांसद नारायणी शर्माले भेरी करिडोर निर्माणमा खटिएको टिपर दुर्घटनामा परी बेपत्ता भएका तीन जनाको खोजी कार्यलाई तीव्र पार्न सरकारको ध्यानाकर्षण गराइन्। उक्त दुर्घटना आठबिसकोट नगरपालिका-१४, पिलिलचौरमा भएको थियो।

प्रकाशित: ७ साउन २०८२ १४:५२ | Wednesday, July 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast