पोखरामा समुदायस्तरमा डेंगुविरुद्ध सचेतना र्‍याली

हिमाल प्रेस ७ साउन २०८२ १७:३२ | Wednesday, July 23, 2025
पोखरामा समुदायस्तरमा डेंगुविरुद्ध सचेतना र्‍याली

पोखरा- पोखरामा केही दिनता डेंगुका बिरामी बढ्न थालेपछि समुदायस्तरमा सचेतना अभियान थालिएको छ। पोखरा वडा कार्यालय-१२ र नेपाल रेडक्रस सोसाइटी वडा-१२ उपशाखाको संयुक्त आयोजनामा बुधबार डेंगु सचेतना र्‍याली निकालियो। यसको उद्देश्य समुदायमा डेंगु रोगको जोखिम, रोकथाम र नियन्त्रणका उपायहरूबारे जनचेतना फैलाउनु रहेको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए।

वडा कार्यालयबाट सुरु भएको र्‍याली विभिन्न टोल घुम्दै पुनः वडा कार्यालयमै पुगेर समापन भएको हो। जसमा ब्यानर र सचेतनामूलक सन्देशहरूसहित सहभागीहरूले लामखुट्टे नियन्त्रण र सरसफाइको महत्वबारे स्थानीयलाई जानकारी दिएका थिए।

सो अवसरमा वडाध्यक्ष बास्तोला, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्की कोषाध्यक्ष मोहनसिंह खड्का, रेडक्रस सोसाइटी वडा-१२ उपशाखा सभापति इन्दिरा पन्तलगायतले स्थानीयस्तरबाटै सुरु गरिएको यस्तो अभियानले दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

र्‍यालीमा जनप्रतिनिधि एवं कर्मचारी, स्थानीय आमा समूह, युवा क्लब, टोल विकास संस्था, स्वास्थ्य स्वयंसेविका, नेपाल रेडक्रस सोसाइटीका पधादिकारी, सामुदायिक सेवा केन्द्र-१२ र समाजसेवीहरूको उल्लेख्य सहभागिता थियो।

कास्कीमा हाल करिब २ सय जना डेंगुका बिरामी रहेको सरकारी तथ्यांक छ। तीमध्ये ९५ प्रतिशत पोखराकै हुन्। डेंगुका बिरामी बढेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले गत साता जिल्लाका सरकारी कार्यालय प्रमुखहरूको बैठकमा समुदायस्तरमा डेंगु खोज र नष्ट गर अभियान संचालनको निर्णय गरेको थियो।

सरकारी कार्यालयमा भने हरेक शुक्रबार १० मिनेट कार्यालय सरसफाइ एवं डेंगु नष्ट अभियान संचालन गरिनेछ। गतवर्ष कास्कीमा ८ जना डेंगुका बिरामीको मृत्यु भएको थियो।

प्रकाशित: ७ साउन २०८२ १७:३२ | Wednesday, July 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast