पछिल्लो २४ घन्टामा गजामा ११३ जनाको मृत्यु

हिमाल प्रेस ७ साउन २०८२ २०:०९ | Wednesday, July 23, 2025
पछिल्लो २४ घन्टामा गजामा ११३ जनाको मृत्यु फाइल तस्बिर : एफपी

काठमाडौँ– इजरायली आक्रमणमा परी पछिल्लो २४ घन्टामा ११३ जना प्यालिस्टाइनीको मृत्यु भएको छ।

हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा परी पछिल्लो २४ घन्टामा ११३ जनाको मृत्यु भएको छ भने ५३४ जना घाइते भएका छन्।

मन्त्रालयले दिएको जानकारीअनुसार अझै पनि धेरै व्यक्ति भग्नावशेषमुनि रहेका छन् र आकस्मिक उद्धार टोली उनीहरूसम्म पुग्ने अवस्थामा छैन। अत्यधिक बमबारीका कारण संरचनात्मक क्षति र सीमित साधन स्रोतका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको बताइएको छ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको विवरणअनुसार ७ अक्टोबर २०२३ यता गजामा इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या ५९ हजार २१९ पुगेको छ भने, करिब डेढ लाख मानिस घाइते भएका छन्। यो संख्या बढ्दो क्रममा रहेको छ।

यसैबीच इजरायली रक्षा बल (आईडीएफ) ले गजा क्षेत्रमा आफूहरूको सैन्य कारबाही जारी रहेको बताएको छ। आईडीएफले जारी गरेको वक्तव्यमा हालै करिब १२० आतंकवादी आधार शिविरहरूमा आक्रमण गरेको जनाइएको छ।

गजा क्षेत्रमा जारी युद्धले मानवीय संकट गम्भीर बन्दै गएको छ। अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई संयम अपनाउन र नागरिक जीवनको सुरक्षा गर्न आह्वान गरिरहेको भए पनि हालसम्म शान्तिको कुनै संकेत देखिएको छैन।

यसैबीच पछिल्लो २४ घन्टामा भोकमरीका कारण गजामा १० जनाको मृत्यु भएको छ। हमास सञ्चालित स्वास्थ्य मन्त्रालयले यो जानकारी दिएको हो। मन्त्रालयका अनुसार युद्ध सुरू भएयता हालसम्म भोक र कुपोषणका कारण मृत्यु हुनेको संख्या १११ पुगेको छ।

यसअघि मंगलबार मन्त्रालयका प्रवक्ताले ४८ घन्टामा १२ बालबालिकासहित ३३ जनाको ज्यान गएको बताएको थियो।

प्रकाशित: ७ साउन २०८२ २०:०९ | Wednesday, July 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast