एनसेलको ‘सधैँ अन करोडपति’ मा धादिङकी पार्वती कार्कीको चम्कियो भाग्य

हिमाल प्रेस ११ साउन २०८२ १२:४१ | Sunday, July 27, 2025
एनसेलको ‘सधैँ अन करोडपति’ मा धादिङकी पार्वती कार्कीको चम्कियो भाग्य

काठमाडौँ- धादिङ, गंगाजमुना गाउँपालिका-६ बाँगेपिपलकी पार्वती कार्कीले एनसेलको ‘सधैँ अन करोडपति’ योजनामा एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार जितेकी छन्। पार्वतीले यही असार १ देखि ३२ गतेसम्म सञ्चालन भएको योजनामा ९९ रुपैयाँको ‘बेसिक रिन्युअल प्याक’ खरिद गरी सहभागी भएकी थिइन्।

एनसेलका चिफ फाइनान्सियल अफिसर इनामुल कबिरले शुक्रबार काठमाडौँस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्वतीलाई नगद एक करोड रुपैयाँ हस्तान्तरण गरे। पुरस्कार जितेपछि भावुक पार्वतीले भनिन्, ‘अब भने साँच्चै हाम्रो पनि दिन आयो। मैले कहिल्यै हार मानेकी थिइनँ। यो संघर्षको प्रतिफल हो।’

२०७२ को विनाशकारी भूकम्पमा उनले एक महिनाको कान्छो छोरालाई गुमाएकी थिइन्। त्यही भूकम्पले भर्खरै निर्माण सकेको घरसमेत भत्किएको थियो। आर्थिक कठिनाइले थिचिएपछि उनले श्रीमानलाई ऋण लिएर वैदेशिक रोजगारीमा पठाएकी थिइन्। उनी स्वयं महिला स्वास्थ्य स्वयंसेविका हुन् र गाउँमै खेतीपाती गर्दै आइरहेकी थिइन्।

‘श्रीमान बहराइनमा हुनुहुन्छ। छोरो काठमाडौँमा प्लस टु पढ्दैछ,’ पार्वतीले भनिन्, ‘अब यो रकमले ऋण तिर्छौँ, श्रीमानको उपचार गर्छौं, अनि नेपालमै केही उद्यम गर्ने सोच बनाएका छौँ।’

कहिलेकाहीँ काठमाडौँमा सानो व्यापार पनि सञ्चालन गरेकी उनले व्यापारमा घाटा भएपछि श्रीमानलाई फेरि विदेश पठाउनुपरेको अनुभव सुनाइन्।

एनसेलका अधिकारी इनामुल कबिरले पार्वतीको संघर्ष र सफलता प्रेरणादायी भएको बताउँदै भने, ‘उहाँको कथा आशाको कथा हो। यो पुरस्कार उहाँको सपना साकार पार्ने साधन बनोस् भन्ने हाम्रो विश्वास छ।’

एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनमा सञ्चालन गरेको १२ हप्ते योजना पाँचौं सातामै बन्द गरे पनि त्यस अवधिमा सहभागी भएका ग्राहकहरूमध्ये ५० जनाले साप्ताहिक रूपमा १–१ लाख रुपैयाँ जितेका थिए।

कम्पनीले कार्कीसहित ३६ जनालाई पुरस्कार हस्तान्तरण गरिसकेको छ भने बाँकी विजेतालाई प्रमाणिकरण प्रक्रिया पूरा गरी प्रदान गरिने जनाएको छ।

प्रकाशित: ११ साउन २०८२ १२:४१ | Sunday, July 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast