
काठमाडौँ- विद्यालय शिक्षा विधेयक-२०८० संसदीय समितिबाट पारित हुने अन्तिम चरणमा पुगेका बेला सरकारले नेपाल शिक्षक महासंघसँग सिंहदरबारमा वार्ता थालेको छ। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयक पारितको तयारी भइरहेकै बेला वार्ता सुरु गरिएको हो।
नेपाल शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाले वार्ता जारी रहेको पुष्टि गरेका छन्। यस्तै, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष हंसबहादुर शाहीले शिक्षामन्त्री रघुजी पन्तको कार्यकक्षमै वार्ता सुरु भएको जानकारी दिएका छन्।
‘शिक्षामन्त्रीज्यूको कार्यकक्षमा सरकार र महासंघबीच वार्ता सुरु भएको हो,’ अध्यक्ष शाहीले भने।
यसैबीच, शिक्षा समितिको बैठक बिहान ८ बजेका लागि बोलाइएको भए पनि अब दिउँसो २ बजे बस्ने तयारी छ। २ बजे बैठक सुरु हुनु अघि वार्ता गरी सहमतिको प्रयास गरिएको हो।
शिक्षक महासंघले यसअघि सरकारसँग भएका सहमति विधेयकमा समावेश नभएको भन्दै असन्तुष्टि जनाउँदै आएको छ। गत वैशाख १७ गते सरकार र महासंघबीच असार १५ भित्र विधेयक संसद् पुर्याउने सहमति भएको थियो। तर, सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै महासंघ आक्रोशित छ।
महासंघले विज्ञप्ति जारी गर्दै तत्काल ऐन जारी नगरे आन्दोलनमा उत्रने चेतावनीसमेत दिएको छ।
‘सहमति तोड्ने’ सरकारलाई शिक्षक महासंघको चेतावनी- अब चुप लाग्दैनौं