पञ्च तत्वहरूको पारस्परिक सम्बन्धमा कला प्रदर्शनी

हिमाल प्रेस १५ असार २०८२ ११:३५
12
SHARES
पञ्च तत्वहरूको पारस्परिक सम्बन्धमा कला प्रदर्शनी

काठमाडौँ- बबरमहलस्थित नेपाल कला परिषदमा ‘पञ्च तत्वहरूको पारस्परिक सम्बन्ध’ शीर्षकमा कला प्रदर्शनी चलिरहेको छ।

प्रदर्शनीमा नौ जना नेपाली महिला कलाकारले आफ्नो कलामार्फत पृथ्वी, पानी, आगो, हावा र आकाशजस्ता जीवनका मौलिक तत्वहरूको गहिरो सम्बन्धलाई प्रस्तुत गरेको वौद्धधर्म गुरु तथा फिल्म निर्देशक खिन्से नोर्वुले बताए।

‘यहाँको चित्रकलाले हामीलाई पञ्चतत्वको महत्वलाई अझैँ नजिकबाट बुझ्न मद्दत गरेको छ। मैले अवलोकन गरेपछि कलाकारहरूको काम उत्कृष्ट रहेको छ भन्न सक्छु। म उहाँहरूको कलालाई निरन्तरता दिन र आगामी दिनमा अझैँ उत्कृष्ट काम गर्न शुभकामना दिन्छु’, उनले भने।

प्रदर्शनीमा पाँच तत्वहरूको आपसी निर्भरता र तिनको एकताले मानव जीवन र पर्यावरणमा पार्ने प्रभावलाई कलामा समेटिएको क्युरेटर मिशेल लामाले बताइन्।

प्रदर्शनीमा नेपालका विविध भौगोलिक र सांस्कृतिक पृष्ठभूमिका कलाकार सुष्मा शाक्य, बिधाता केसी, वर्षा मुखिया, रश्मी कर्ण, वैशाली क्षेत्री, अञ्जिला मानन्धर, मीना कायस्थ, सुशीला सिंह र तेन्जिन साङ्मोले कोरेका चित्रहरू छन्।

कलाकार रश्मी कर्णले महिलालाई केन्द्रमा राखेर गरिएको प्रदर्शनीले समकालीन जलवायु चेतना र सांस्कृतिक दृष्टिकोणलाई जोड्दै दर्शकहरूलाई प्रकृतिप्रति साझा उत्तरदायित्व बारे सोच्न प्रेरित गर्ने विश्वास व्यक्त गरिन्।

‘कलाले परम्परागत ज्ञान र समकालीन विषयवस्तुको संयोजन प्रस्तुत गरेको छ। यो विशेषतः नयाँ पुस्ताका लागि उत्तिकै फलदायी र प्रभावकारी छ। हामीले मिथिला चित्रकलालाई दिएको विषयसँग जोडेर प्रस्तुत गरेका छौँ’, उनले भनिन्।

यही असार २८ सम्म चल्ने प्रदर्शनी बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म खुल्ला रहनेछ। लिच्छवि हाउसले आयाेजना गरेकाे प्रदर्शनीमा प्रवेश निः शुल्क छ।

प्रकाशित: १५ असार २०८२ ११:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast