आईएमई ग्रुपको लगानीमा नेपालमै पहिलो फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा

हिमाल प्रेस ११ असार २०८२ १७:१९
14
SHARES
आईएमई ग्रुपको लगानीमा नेपालमै पहिलो फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा

काठमाडौँ- आईएमई ग्रुपको डेढ अर्ब लगानीमा नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग बुधबारदेखि सञ्चालनमा आएको छ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योगको उद्घाटन गरेका हुन्।

उनले उद्योग उद्घाटन गर्दै उद्योगबाट उत्पादिन फाइबर सिमेन्ट बोर्ड तथा त्यसबाट निर्माण हुने विविध उत्पादनहरूलाई सार्वजनिक गरे।

मन्त्री भण्डारीले स्वदेशमै गुणस्तरीय, वातावरणमैत्री र अत्याधुनिक प्रविधिमा आधारित उद्योग स्थापना हुन नेपालको औद्योगिक विकासतर्फको महत्वपूर्ण पाइला रहेको बताए।

उनले यो उद्योगले केवल आयात प्रतिस्थापनमात्र नभई निर्माण क्षेत्रलाई दिगो विकासको बाटोमा डोर्‍याउने भएकाले सरकारले उत्पादनमुखी लगानीलाई सधैँ प्रोत्साहन दिने उल्लेख गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै आईएमई ग्रुपका अध्यक्षका समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वदेशी कच्चा पदार्थ र स्थानीय स्रोतको प्रयोग गरी निर्माण क्षेत्रमा योगदान पुर्‍याउने गरी नयाँ उद्योग स्थापना गरेको बताए।

यसले देशभित्र रोजागरी सिर्जना गर्ने र नेपालमै उत्पादन हुने भएकाले आयात प्रतिस्थापन भई ठूलो मात्रमा विदेशी मुद्रा बाहिरिनबाट जोगिँदा आत्मनिर्भर अर्थतन्त्रतर्फको मार्ग प्रशस्त गर्ने ढकालले बताए।

स्वदेशी सीप, स्थानीय स्रोत र सम्भावनातर्फ नेपालभित्रै अन्तर्राष्ट्रिय स्तरका निर्माण सामग्रीको उत्पादन सम्भव भएको सन्देश यो उद्योगले दिएको उनको भनाइ छ।

आईएमई ग्रुपअन्तर्गत करिब डेढ अर्ब रुपैयाँको लगानीमा स्थापना भएको यो उद्योग रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका–६ मा अवस्थित छ। यो उद्योगमा कच्चा पदार्थ मिसावटदेखि बोर्ड कटिङ, प्रेसिङ र ड्रइङसम्मका सम्पूर्ण प्रक्रिया पूर्ण रूपमा स्वचालित प्रविधिमा आधारित छन्।

उद्योगले दैनिक ७५ हजार स्क्वायर फिट सिमेन्ट फाइबर बोर्ड उत्पादन गर्ने क्षमता राखेको बताइएको छ। यहाँ उत्पादिन बोर्डहरू ४ फिटा लम्बाई, ८ फिर्ट चौडाई र ४ मीमीदेखि ३० मीमी मोटाईमा उपलब्ध हुनेछ। यी बोर्डहरू लचकदार, अग्नि प्रतिरोधी, घामपानीले असर नपर्ने, वातावरणमैत्री तथा टिकाउ रहेको उद्योगले जनाएको छ।

भूकम्प, बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोपका बेला आपतकालीन संरचना निर्माणमा समेत यस उद्योगका उत्पादित बोर्डहरू छिटो, सस्तो र दिगो विकल्प बन्ने विश्वास उद्योगले लिएको छ। प्लास्टर वा रङको झन्झट नहुने भएकाले समय र लागतमा उल्लेखनीय बचत हुने उद्योगले जनाएको छ।

प्रकाशित: ११ असार २०८२ १७:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast